Comments Add Comment

जोर्डन पिकफोर्ड कसरी इंल्याण्डको नम्बर १ बने ?

रसियामा चलिरहेको विश्वकपमा इंग्ल्याण्डका गोलरक्षक जोर्डन पिकफोर्डको प्रतिष्ठा र व्यक्तित्वको सबैतिर चर्चा भइरहेको छ ।

२४ वर्षका गोलरक्षक पिकफोर्ड अन्तिम १६ को कोलम्बियाविरुद्धको खेलमा पेनाल्टी सुटआउटका नायक बनेका थिए । क्वार्टरफाइनलमा स्वीडेनविरुद्धको खेलमा पनि उत्कृष्ट बचाउ गर्दै ग्यारेथ साउथगेटको टिमलाई २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा लैजाँदा उनको तारिफ भयो ।

एक वर्षको बीचमा उनको जीवनमा धेरै उतारचढाव आए । यसबीचमा उनी आफ्नो शहरको क्लब सन्डरल्याण्डसँगै पि्रमियर लिगबाट रेलिगेसनमा पर्दै इंग्ल्याण्डको नम्बर १ सम्म बनेका छन् ।

एभर्टनका यी गोलरक्षक इंग्ल्याण्डको ९० मिनेटको खेलको महत्वपूर्ण हिस्सा बनेका छन् ।

पिकफोर्डको कडा मेहनत

इंग्ल्याण्डको २१ वर्षमुनिको टिममा रहँदैमा प्रशिक्षक ग्यारथ साउथगेटको नजरमा परेका पिकफोर्ड विश्वकप पहिले नै प्रशिक्षकको पहिलो रोजाइको गोलरक्षक हुने पक्का जस्तै थियो तर, उनमा अनुभवको कमी रहेको धेरैले औँल्याएका थिए । उनले अहिलेसम्म आफ्नो करियरमा १५६ खेल मात्रै खेलेका छन् ।

जब एभर्टनले भविष्यको लागि सोच्दै सण्डरल्याण्डलाई उसले मागेको जति रकम खुसीसाथ दिँदै ठूलो लगानी गरे पछि मात्रै उनी चर्चामा आएका हुन् । उनको लागि एभर्टनले ३० मिलियन पाउण्ड तिरेको थियो ।

तर, पिकफोर्डले लिगमा धेरै कडा मेहनत गर्दै आफ्नो खेलमा निखारता प्रर्दशन गरिरहेका छन् । पि्रमियर लिगमा खेल्नुअघि उनले धेरै कुरा सिकेका थिए, त्यसले उनलाई रसियामा आत्मविश्वाससहित उत्कृष्ट खेल देखाउन सघाएको छ ।

उनले नन लिग फुटबल क्लब डार्लिङ्टन र अल्फेरटनबाट पनि खेलेका थिए । जहाँ उनलाई कुनै पनि प्रकारको पारिश्रमिक दिँइदैन थियो ।

उनी सम्झिन्छन्, ‘मैले धेरै पटक लडेर चोट लागेपछि धेरै कुरा सिकेको छु । उत्कृष्ट प्रहार रोक्ने आत्मविश्वासको लागि तपाईंलाई लडेर चोट लाग्नै पर्छ ।’

‘तपाईं अरुको मैदानमा जानुहुन्छ र अरुले कराएको सुन्नुहुन्छ । म साउथपोर्टमा जाँदा पानी पिउन लागेको बेला एक बुढाले भनेका थिए ‘ए केटा तिम्रो हजुरबुबा घाँसमुनि छन् । मैले पछाडि फर्केर हात उठाउँदै केही समस्या छैन भनेँ’ उनले भने ।

इंग्लिस फुटबल लिगमा बर्टन, कार्लिसे, ब्राडफोर्ड र प्रेस्टनसँग समेत लोनमा खेलेका पिकफोर्डकोे उचाइलाई धेरैले प्रश्न गर्ने गरेका छन् । ६ फिट १ इन्चका उनी आधुनिक गोलरक्षकको लागि तुलनात्मक रुपमा कम उचाइका छन् तर, कसैले पनि उनको साहसको बारेमा प्रश्न गर्न सक्दैनन् ।

उनको शारीरिक चुस्तता र लचकताले रसियामा इंग्ल्याण्डको टिमलाई जिताउनमा महत्वपूर्ण भूमिका खेलेको छ । त्यसले उनको उचाइको बारेमा प्रश्न गर्नु पनि मूखर्तापूर्ण हुने देखिन्छ ।

पिकफोर्डको उत्कृष्ट खेल प्रदर्शन

जब पिकफोर्ड घुमन्ते खेलजीवनबाट आफ्नो पि्रय क्लब सन्डरल्याण्डमा फर्किए त्यसै सिजन उनी क्लबसँगै पि्रमियर लिगबाट लिग वानमा तल झरे । त्यसपछि एभर्टनमा उनको ठूलो रकमको स्थानान्तरण पनि त्यति सजिलै भएको थिएन ।

उनले सण्डरल्याण्डमा उत्कृष्ट प्रर्दशन गरेका थिए । रेलिगेसनमा परेको सन् २०१६-१७ को सिजनमा उनले १८५ वटा सट अन टार्गेटमध्ये १३५ वटालाई बचाएर ७३ प्रतिशतको अनुपातमा गोल बचाएको कीर्तिमान राखे ।

प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा रहेको एभर्टनमा उनको स्थानान्तरण पक्कै पनि दवावपूर्ण जीवनको सुरुवात थियो । जहाँ उनले शीर्ष लिगमा अझै उत्कृष्ट बचाउ गर्नुपर्ने हुन्थ्यो ।

तर, राम्रो खेलिरहेको एभर्टन नसोचेको रुपमा एकैपटक खस्कियो र कोम्यानलाई पदस्थापन गर्दै साम अलार्डिस आइपुगे । दयनीय स्थितिमा रहेको एभर्टनलाई यिनै पिककफोर्डले काँध थापेर अरु खेलाडीको पनि भरोसा जिते ।

एभर्टनको प्राय खेलहरु हेरिरहेका साउथगेटलाई पिकफोर्डको यिनै उत्कृष्ट प्रर्दशनले भरोसा दिलायो र उनले जर्मनीसँगको मेत्रीपूर्ण खेलमा उनलाई २०१७ नोभेम्बरमा राष्ट्रिय टिमबाट डेब्यु गराए । पछि रसिया विश्वकपको लागि इंग्ल्याण्डको एक नम्बर गोलरक्षकमा छनौट गरे ।

सिजनको अन्त्यसम्म आइपुग्दा उनले ‘प्लेयर अफ द सिजन’, ‘योङ प्लेयर अफ द सिजन’ र ‘प्लेयर्स प्लेयर अफ द सिजन’ को अवार्ड हात पारे । उनलाई आबद्ध गर्नुलाई एभर्टनका बर्खास्तमा परेका फुटबल निर्देशक स्टिभ वाल्सको धेरै महत्वपूर्ण उपलब्धी मानिएको छ ।

एभर्टनलाई गोलरक्षक चाहिएको थियो र पिकफोर्ड वाल्सको पहिलो र एकमात्र रोजाई थिए त्यसैले उनले पिकफोर्डलाई आबद्ध गराउने धेरै बल गरे । उनलाई रियलले पनि चासो देखाएको थियो । त्यसैले टफीले तिर्न चाहेको भन्दा दोब्बर मूल्य नै तिरेर उनलाई भित्र्यायो । ३० मिलियन पाउण्ड धेरै ठूलो रकम पनि हो ।

विश्वकपमा झनै उत्कृष्ट प्रर्दशन

पहिले एभर्टनमै उनलाई प्रशिक्षण दिएका इंग्ल्याण्डका गोलकिपिङ कोच मार्टिन मार्गेटस्टनको प्रशिक्षकत्वमा जेलेनोग्रोस्क टे्रनिङ बेसमा उनले प्रशिक्षण लिइरहेका छन् ।

उनले उत्कृष्ट ढंगले प्रदर्शन गर्दै आएका छन् । अभ्यासमा सिकेका गोलकिपिङको कलालाई मैदानमा उत्कृष्ट ढंगले देखाएका उनको शारीरिक मुभमेन्ट र फेसियल एक्सप्रेसन पनि हेर्न लायक हुन्छ । जब उनी दुर्लभ गल्ती गर्छन् त्यसपछि उनको अनुहारमा त्यो भाव झल्किन्छ । उनको सबै गुणलाई छोटकरीमा भन्ने हो भनेे यी रक्षक गतिशील गोलरक्षक हुन् ।

जसले उनलाई राम्रोसँग चिनेका छन् उनीहरुका अनुसार पिकफोर्डको सबेभन्दा ठूलो गुण नै गल्तीबाट सिक्दै अगाडि बढ्ने हो । उनले कहिल्यै पनि कुनै गल्तीलाई सामान्य रुपमा लिँदैनन् ।

उनी कडा पात्र पनि हुन् । उनलाई आलोचनाले कुनै फरक पार्दैन । जब इंग्ल्याण्डले बेल्जियमसँग हार्यो त्यतिखेर उनको आलोचना पनि भएको थियो । उनले त्यस्ता आलोचनालाई चिर्दै नकआउट चरणमा धेरै राम्रो प्रदर्शन गरे ।

कोलम्बिया विरुद्धको खेलमा माटेस उरिबेको कडा प्रहारलाई उत्कृष्ट रुपले बचाउ गरेका उनले पेनाल्टीमा कार्लोस बाक्काको प्रहार विफल बनाइदिएका थिए । त्यस्तै उनले स्वीडेन विरुद्धको क्वार्टरफाइनल खेलमा पनि आफ्नो उत्कृष्ट प्रदर्शन कायमै राखेका थिए ।

इंग्ल्याण्डको एक नम्बर बन्नको लागि उनले अब आफूलाई प्रमाणित गरिराख्न पर्दैन । विपक्षी खेलाडीको प्रहारलाई बचाउने मात्रै होइन साउथगेटको योजनामा खुट्टाले बल खेलाएर पास मिलाउने कार्यलाई पनि उनले महत्वपूर्ण तरिकाले निर्वाह गर्ने छन् ।

पछिल्ला साताहरुमा देखिएको पिकफोर्डको प्रर्दशनले उनी फिफाको विश्वकप टिमको प्रमुख दाबेदार भएको र इंग्ल्याण्डले एक दशकको लागि उत्कृष्ट गोलरक्षक पाएको देखिन्छ ।

-बीबीसीमा प्रकाशित फिल म्याकनल्टीको लेखको भावानुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment