Comments Add Comment

सेमिफाइनलका चार टिम, चार विशेषता : कसको खुबी के ?


काठमाडौं । विश्वकप उपाधि यात्रामा रहेका फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएसिया यहाँसम्म आइपुग्दा निकै उतारचढाव देखिएको छ ।

बेल्जियमले सबै खेल जित्यो । डेनमार्कसँग गोलरहित बराबरी खेलेको फ्रान्स औसत रुपमा उस्तै नै रहृयो । क्रोएसिया दुई पटक ट्राइब्रेकरमा भाग्यमानी बन्यो ।

इंग्ल्याण्ड समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग हारेर सजिलो बाटोको हर्षमा रहँदा कोलम्बियासँग ट्राइब्रेकरकै भर भयो ।

कहिले डिफेन्स, गोलकिपिङ, कहिले मिडफिल्ड त कहिले अट्याकिङ राम्रा लागे । यस्तोमा सबै टिमका केही विशेषता मिल्छन् नै । तर, निकै भिन्न त्यस्ता विशेषता छन् जसले सेमिफाइनलसम्म यी टिम आइपुगे ।

फ्रान्सको बहुमुखी क्षमता

फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले टिममा उस्तै खाले खेलाडी राखेको र फरकपना नदेखिएको भनेर आलोचना खेपेको धेरै भएको छैन । धेरैले त फ्रान्समा फुटबलका हजारौं प्रतिभा छन् तर परख भएको छैन भनिरहेका हुन्थे ।

त्यो आलोचना यसपटक रसिया विश्वकपमा तोडिएको छ । अर्जेन्टिनासँगको खेल हेरौं या उरुग्वेसँगको फ्रान्स टिम उत्कृष्ट थियो । के त्यसो भए यसपटक खेलाडी फरक भएर हो त ? होइन, सबै उस्तै नै हुन् । तर, खेल्ने तरिका भने फरक पारिएको छ ।

विपक्षी टिम बुझेर कोविरुद्ध कसरी खेल्ने भन्ने फ्रान्स टिमले राम्ररी बुझेको छ । त्यही नै उत्कृष्ट विशेषता हो । विपक्षी अनुसार खेल खेलेर चाहेको जस्तो काम दिन सक्ने खुबी फ्रान्सको टिममा देखिएको छ ।

फ्रान्सले एउटा खेल ४-३-३ को शैलीमा र अर्को खेल ४-२-३-१ को शैलीमा पनि उस्तै राम्ररी खेल्न सक्छ । त्यसमा ओलिभर जिरउडको जिउडाल प्रयोग गर्ने कि केलियन एमबाप्पेको तीब्रता प्रयोग गर्ने भन्ने निर्णय भने डेसच्याम्प्सकै सोचमा निर्भर छ ।

यो विश्वकपका खेल्दा हेर्दा हामीले बुझ्नुपर्ने कुरा के हो भने, विश्वकपमा कुनै पनि टिम कमजोर थिएनन् र छैनन् पनि । जर्मनी र स्पेन जस्तो टिमले जितका लागि संघर्ष गरेर पराजित भएको हेर्दा नै त्यो कुरा बुझिन्छ ।

बल धेरैबेर पास खेलेर वा छलाएर पनि जित मिल्दैन । अनुभवि र चलेका खेलाडी भएर पनि जित मिल्दैन । कसरी मिल्छ त ? त्यसका लागि हरेक कुरा चाहिन्छ । खेलअनुसार ती कुरा प्रयोग गर्नुपर्छ ।

बेल्जियमको सामूहिक भावना

विश्वकपमा सहभागी हुने खेलाडीको नाम हेर्दा नै बेल्जियम टिम निकै बलियो देखिएको थियो । त्यसैले त रसिया विश्वकपमा बेल्जियमको जितमा सामूहिक बल धेरै देखिन्छ । खेलमा एकअर्कालाई गरेको सहयोग नै बेल्जियम जितको आधार बनेको छ ।

यो पटक बेल्जियम टिममा जे देखिएको छ यसभन्दा पहिले देखिएको थिएन । साथै बेल्जियम टिममा अहिले देखिएको लचकता पनि पहिले देखिएको थिएन । जापान र ब्राजिलविरुद्धको खेल हेर्दा नै बेल्जियम टिमको विशेषता थाहा लाग्छ ।

इडन हाजार्ड, केभिन डि ब्रुयन र रोमेलु लुकाकु चाहिएको बेला लयमा देखिएका छन् । उनीहरु तीनले एकअर्कालाई गरेको सहयोग पनि प्रशंसनीय छ । रसिया विश्वकपमा बेल्जियमका नौ खेलाडीले गोल गरेका छन् । यसबाट पनि उनीहरुको बलियो टिमबारे बुझ्न सकिन्छ ।

प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि सही समयमा सही निर्णय लिइरहेका छन् । उनले रसिया ल्याएका २३ खेलाडीमा कोबाट के निकाल्ने भन्ने उनले राम्ररी नै बुझेका छन् । बेल्जियम टिममा अहिले हरेक खेलाडी फिट छन् । उनीहरु टिमका लागि मैदान उत्रन व्यग्र छन् ।

इंग्ल्याण्डको विविधता

इंग्ल्याण्ड टिमको एउटा मात्रै कुरा बताउन अप्ठ्यारो हुन्छ । जितको तरिका हेर्दा पनि ग्यारेथ साउथगेटको टिममा फरकपना पाइएको छ ।

युवा खेलाडीको टिम इंग्ल्याण्ड कहाँसम्म पुग्ला भन्ने अनुमानमा सेमिफाइनल नै पनि कठिन देखिएको थियो । तर, जब खेल हुँदै गयो खेलाडीहरुले आफूलाई प्रमाणित गर्दै गए ।

उनीहरुले आत्मविश्वास, मोर्डन फुटबल र एकजुटतालाई एकै ठाउँमा मिसाएका छन् । उनीहरु खेलमा आइपर्ने हरेक परिस्थितिका लागि तयार छन् । उनीहरुको खेल व्यवस्थापन राम्रो देखिँदै छ । विपक्षी जो हुँदा पनि उस्तै नै लाग्छन् ।

इंग्ल्याण्डले विश्वकपमै पहिलो पटक ट्राइब्रेकर पनि रसियामा नै जित्यो । त्यसैले कुनै एक खेलाडीलाई मात्रै हेरेर जित पूर्ण नहुने पनि इंग्ल्याण्ड टिमले बुझाएको छ ।

यस्तोमा पनि उत्कृष्ट बचाउ गरिरहेका गोलकिपर जोर्डन पिकफोर्ड र ६ गोल हानेर प्रतियोगिताकै उच्च गोलकर्ता रहेका हृयारी केनलाई धेरैले जितको श्रेय दिएका छन् । दुवैले २४ वर्षको उमेरमा देखाएको खेलले इंग्ल्याण्ड टिमको भविष्य पनि राम्रो लाग्छ ।

सन् १९९० पछि इंग्ल्याण्ड टिममा देखिएको सन्तुलित खेल क्षमता पनि यसैपटक नै हो । इंग्ल्याण्ड टिम त्यसपछि नै अहिले आएर विश्वकप सेमिफाइनलमा पुगेको हो । यसपटक उनीहरुले आˆनै कीर्तिमान बनाउँछन् भनेर विश्वास गर्ने ठाउँ देखिएको छ ।

क्रोएसियाको गजबको मिडफिल्ड

विश्वकपअघि क्रोएसियन टिमलाई सेमिफाइनसम्म कति जनाले आश गरेका थिए ? धेरै कमले । कठीन समूहमा परेर पनि क्रोएसियाले जस्तो खेल देखायो त्यसको तारिफ धेरैले गरिरहेकै छन् ।

अहिलेसम्म सेमिफाइनल आइपुग्ने र पहिले नै बाहिरिने सबै टिमको जित हार छाडेर खेललाई मात्र हेर्ने हो भने पनि क्रोएसियन टिम अगाडि छ ।
प्रशिक्षक जाल्ट्को डेलिकले जस्तो काम गरिरहेका छन् त्यसले क्रोएसियन फुटबलमा नयाँपन देखिएको छ । यसमा पनि प्रमुख जितको आधार त मिडफिल्डबाट नै बनेको देख्न सकिन्छ ।

अहिले विश्व फुटबलमै उत्कृष्ट रहेका इभान र्‍याकिटिक र लुका मोडरिकले मिडफिल्डबाट क्रोएसियन टिमको अग्रता बनाइरहेका छन् । मिडफिल्डसँगै अट्याकिङ लाइन पनि रचनात्मक, संगठित र संरचित लाग्छ ।

रियल मड्रिडका मोडरिक र बार्सिलोनाका र्‍याकिटिक नै क्रोएसियन टिमको भरपर्दौ आधार भए पनि यसअघि यी दुईको यस्तो बेजोडको साझेदारी देख्न मिलेको थिएन । अहिले मोडरिक र र्‍याकिटिक मिलेर जे गरिरहेका छन्, त्यसले पूरा टिमलाई मजबुत पारेको छ ।

अब उनीहरु टिममा एक्लै एक्लै छैनन् । उनीहरुको खेलमा अरु खेलाडीले पनि तालमेल मिलाइसकेका छन् । उनीहरुसँगै मिडफिल्डमै इन्टर मिलानका मार्सेलो ब्रोजोभिकले पनि गजवको काम गरिरहेका छन् । रियल मडि्रडकै माटेओ कोवासिक, फिरोन्टेनियाका मिलान बडेल्ज सबै नै क्रोएसियन फुटबल इतिहासकै उत्कृष्ट पुस्ता हुन् ।

फिफाका आधिकारिक टिम रिपोर्टरको लेखमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment