Comments Add Comment

उच्च शिक्षाको गुणस्तर अभिवृद्धिबारे टोरन्टो सम्मेलन सम्पन्न


क्यानडा । नेपालको उच्च शिक्षामा गुणात्मक योगदान गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने अन्तर्राष्ट्रिय विद्वत् सम्मेलन क्यानडाको टोरन्टोमा असार २३ र २४ गते सम्पन्न भएको छ ।

‘रोल अफ डायस्पोरा इन हाइअर एजुकेसन इन नेपाल’ (नेपालको उच्च शिक्षामा प्रवासी नेपालीको भूमिका) विषयक यस सम्मेलनलाई क्यानडा नेपाल इकोनोमिक काउन्सिल, क्यानडा फाउन्डेसन फर नेपाल, कन्सर्न नेपाल क्यानडा, ग्लोबल पोलिसी फोरम (युके), द एसोसिएसन अफ नेपालिज इन द अमेरिकाज् र गैरआवासीय नेपाली संघ क्यानडाले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

कार्यशालाको मूल उद्देश्य प्राज्ञिक क्षेत्रमा संलग्न प्रवासी नेपालीहरुले विदेशमा सिकेको ज्ञान र सिपलाई कसरी नेपालको उच्च शिक्षाको गुणस्तर वृद्धि गर्न सकिन्छ भनी छलफल एवम् रणनीति तर्जुमा गर्नु हो ।

सम्मेलनमा क्यानडाका लागि नेपालका राजदूत कालीप्रसाद पोखरेल, विषयविज्ञ, शिक्षाविद् एवम् पश्चिमी मुलुकका प्रतिष्ठित शैक्षिक संस्थाहरुमा उच्च तहमा संलग्न विज्ञहरुको सहभागिता थियो । नेपालको उच्च शिक्षाको गुणस्तर वृद्धिका लागि सहकार्य गर्ने उद्देश्यले प्रवासका नेपालीहरुद्वारा आयोजना गरिएको यस सम्मेलनलाई अहिलेसम्मकै ठूलो र महत्वपूर्ण दाबी गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललेसम्मेलनको सफलताको कामना गर्दै शुभकामना सन्देश पठाएका थिए, जसमा यस सम्मेलनबाट “सम्बद्ध मुलुकका उच्चस्तरका विश्वविद्यालय, प्राज्ञिक तथा अनुसन्धान केन्द्रहरुमा नेपाली विद्यार्थीहरुको सहज पहुँच, शैक्षिक संस्थाहरुबीच सहकार्य, शिक्षक–विद्यार्थी आदानप्रदान आदिजस्ता शैक्षिक गुणस्तर उन्नयनका कार्यहरुमा बढोत्तरी हुने विश्वास” व्यक्ति गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै क्यानडाका लागि नेपालका राजदूत कालीप्रसाद पोखरेलले स्वदेशी एवम् विश्वविद्यालयहरुबीच शैक्षिक आदानप्रदान गर्ने, शैक्षिक उपाधिको समान स्तरीकरणका लागि प्रयास गर्ने, नेपाललाई रिसर्चको केन्द्र बनाई विदेशी विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने लगायतका काममा सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे । उनले क्यानडाको नेपाली राजदूतावासकै पहलमा प्रिन्स एड्वार्ड युनिभर्सिटी र त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानबीच विद्यार्थी आदानप्रधान एवम् शैक्षिक जनशक्तिको गुणस्तर वृद्धिका लागि सहकार्य गर्ने प्रक्रिया अघि बढेको जानकारी दिए । राजदूत पोखरेलका अनुसार यी दुई विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भए अरु विश्वविद्यालयहरुले पनि यस्तो सहकार्यलाई नमुनाको रुपमा प्रयोग गर्न सक्नेछन् ।

क्यानडाको रेजाइना युनिभर्सिटीका प्राध्यापक द्रोण रसाइलीले संसारका विभिन्न विश्वविद्यालयमा संलग्न विज्ञ नेपालीहरुको सहयोग लिएर नेपालका शैक्षिक एवम् प्राज्ञिक संस्थाहरुले अन्तर्राष्ट्रिय स्तरकै शिक्षा प्रणालीको विकास गर्न सक्ने आशा व्यक्त गरे ।

युरोप, अमेरिका, क्यानडा लगायतका देशहरुबाट १२५ भन्दा बढी विज्ञहरु सहभागी भएको उक्त कार्यशालामा एकल र संयुक्त गरी २५ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत भएका थिए । सम्मेलनमा प्रस्तुत भएका कार्यपत्रहरुलाई ‘कन्फरेनस प्रोसिडिङ’का रुपमा चाँडै प्रकाशन गरिने डा. गोविन्द दाहालले जानकारी दिए ।सम्मेलनले नेपालको उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि १२ बुँदे टोरोन्टो घोषणापत्र २०१८ जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment