Comments Add Comment

नेपालका जेल चाहार्दै भारतीय ‘डाकु’ पञ्चम सिंह !

कारगारभित्रै बीरप्पन र फुलनदेवीको माहात्म्य


२६ असार, काठमाडौं । सेन्ट्रल जेल वरपर शनिबार निकै कडा पहरा थियो । प्रहरीको आवत–जावत पनि बाक्लै थियो । भवनहरुले घेरिएको बीचमा रहेको खुला स्थानमा सेन्ट्रल जेलका कैदीहरु चुपचाप प्रवचन शैलीमा एकजना डाकुका कुरा सुनिरहेका थिए ।

जब वृद्ध उमेरका भारतीय डाकुले आफ्ना पुराना करतुतहरु वर्णन गर्न थाले, नेपाली कैदीहरुले विश्वासै गर्न सकेनन् । हेर्दा सामान्य देखिने भारतीय पूर्व डाकु पञ्चम सिंहले कुनैबेला भारतीय प्रधानमन्त्री र त्यहाँका सम्पूर्ण सुरक्षा सम्यन्त्रलाई कसरी चुनौति दिएका थिए भनेर नेपाली कैदीहरुलाई बताइरहेका थिए ।

तत्कालीन भारतीय प्रधानमन्त्री इन्दीरा गान्धीलाई उनको चुनौति थियो, पञ्चम सिंहको इसाराबिना उनको इलाकामा कसैले उमेद्वारी दिन सक्दैनन् । १४ वर्षसम्म भारतको मध्यप्रदेश, राजस्थान र उत्तर प्रदेशका १७ क्षेत्रमा पञ्चम सिंहको आदेशबिना कसैले उमेद्वारी दिन सकेनन् रे । कथंकदाचित सरकारी बाध्यतामा कसैले उमेद्वारी दियो भने यात उसको हत्या गरिन्थ्यो, या त आफ्नो इच्छा विपरीत उभ्याएको उम्मदेवारको वक्तव्य पत्रपत्रिकामा छापिनुपथ्र्याे ।

राजनीतिमा आफूले उठाएका सांसदहरुले जित्ने भएका कारण दिल्लीमा पञ्चमविरुद्ध हुने जुनसुकै कारवाहीको जानकारी उनलाई हुने गर्दथ्यो । आफूविरुद्ध सांसदहरुले कुनै गल्ती भए उनीहरुको हत्या हुन्थ्यो ।

पञ्चम सिंहले बताएअनुसार आफूले जिताएका सांसदहरुकै कारण उनकाविरुद्ध परिचालन हुने कुनै पनि सुरक्षा कारवाहीमा उनको हत्या हुन सकेन । केवल एकपल्ट भारतीय सेनामा कार्यरत गोर्खाली सेना परिचालन हुँदा उनको डाकु समुदायका दर्जनौं व्यक्ति मारिए । पञ्चमको हातमा गोली लाग्यो । संयोगले, गाउँलेहरुको सहयोगमा उनी बाँच्न सफल भए ।

अहिले पञ्चम सिंहको जीवनकथामा आधारित हिन्दी चलचित्र ‘पञ्चम सिंह एक आधुनिक विश्वामित्र’ बनिरहेको छ । चलचित्रमा ब्रह्मकुमारी राजयोग विश्वविद्यालयले लगानी गर्ने भएको छ

‘आज गोर्खाको देशमा आएको छु । म मारिएको भए गोर्खाकै हातबाट मारिने थिएँ । बाँचेका कारण त्यो भिडन्त आज म सम्झन सक्छु । त्यही कुरा मैले नेपालका जेलमा रहेका कैदी भाइ–बैनीहरुलाई बताएँ,’ बृद्ध भए पनि हट्टाकट्टा देखिने पञ्चम सिंहले अनलाइनखबरसँग भने, ‘मसहित मेरा ५७५ डाकु साथीहरुलाई हाम्रो अपराधको बदलतामा फाँसीको सजाय सुनाइएको थियो । तर हामीले आत्मसमर्पण गरेर भारत सरकारको मन जितेपछि राष्ट्रपतिका तर्फबाट आममाफी भयो ।’

डकैतीदेखि ब्रम्हकुमारी राजयोगसम्म !

रत्नाकर डाकु बाल्मिकी बनेजस्तै अचेल जेलहरुमा आध्यात्मिक प्रवचन दिँदै हिँडेका पञ्चम सिंहले भने–‘आज फर्केर हेर्दा हजारौं वारदात केवल एउटा सानो इगोले भएको रहेछ, जसप्रति म लज्जित छु । यही कुरा संसारका कैदीबन्दीहरुलाई सुनाउँदै हिँड्छु । ता कि मनमा भएको अपराध भाव पखालिएर जाओस् ।’

२५ वर्षयता पञ्चम सिंह ब्रम्हकुमारी राजकीय विश्वविद्यालयका शिक्षक नाताले भारतका जेल–जेल गएर आफूले गरेको गल्ती र त्यसबाट पाएको दुःखका बारेमा बताउँदै कैदी बन्दीलाई प्रशिक्षित गर्छन् ।

उनले भारतका हजारभन्दा बढी कारागारमा पुगेर लाखौं कैदीलाई आफ्नो दुर्दान्त कथा सुनाइसकेका छन् ।

गतसाता यही उद्देश्यले नेपाल आएका पञ्चम सिंहले नेपाली जेलमा रहेका करिब १३ हजार कैदी बन्दीहरुलाई आफूविरुद्ध भएको गोर्खा सैनिकको कारवाहीको कथा मात्रै सुनाएनन्, आफू कसरी अपराधको दुनियाँमा छिरे, त्यसको पनि बेलीबिस्तार लगाए ।

को हुन् पञ्चम सिंह ?

भारतको मध्यप्रदेशको सिंहापुरामा जन्मिएका पञ्चम सिंह सिधा तर मेहेनती व्यक्ति थिए । उनका घरमा दर्जनौं भैंसी थिए । कुस्तीका गुरु भएका कारण उनी निकै बलिया थिए । उनको खानामा दैनिक २५० ग्राम घिउ अनिवार्य हुने गर्दथ्यो ।

कुस्ती खेल्ने मानिस अनुशासनमा बस्ने भएकाले ३५ वर्षको उमेरसम्म उनको कसैसँग दुस्मनी भएन । बरु उनका सयौं चेलाहरु भएकाले समाजमा उनको इज्जत र सम्मान बढिरहेको थियो ।

तर, समय सधैं एकनासले बहँदैन । गाउँमा हुने ग्रामपञ्चायतमा कसलाई जिताउने भन्ने प्रश्नमा गाउँका सामन्तसँग उनको भनाभन भयो । सामन्त आफूले चाहेको उमेद्वारलाई जिताउन चाहन्थे । तर, ती उमेद्वारबाट आफ्नो शोषण भइरहेको देखेपछि पञ्चमले गाउँको सामान्य व्यक्तिलाई चुनावमा खडा गरे ।

फलस्वरुप उमेद्वारले आफ्नो खुट्टा नै गुमाउनुपर्‍याे । त्यति मात्र होइन, पञ्चममाथि पनि दर्जनौं व्यक्तिले कुटपिट गरे । उनी भन्छन्– ‘यतिसम्म म सहन गर्न तयार थिएँ, तर मेरो बुवाको पनि हात भाँचिदिए ।’

त्यो घटनापछि घाइतेलाई नजिकको अस्पताल पुर्‍याइयो । करिब २० दिनमा उनी ठीक त भए, तर निर्वाचनमा झैझगडा गरेको आरोपमा उनलाई जेल हालियो । महिनांैसम्म उनी बाहिर निस्कन पाएनन् । त्यसपछि उनी जेलबाट भागे । र, त्यस क्षेत्रका डाकु मोहर सिंहको ठेगाना खोज्दै राजस्थान पुगे ।

‘जब मैले मोहर सिंहलाई आफूमाथि भएको अन्याय सुनाएँ, उनले मलाई १२ जना डाकुको सरदार बनाएर हतियारसहित गाउँ पठाए,’ पञ्चमले आफ्नो विगत सम्झँदै भने– ‘जहाँ मैले म र मेरो परिवारमाथि हमला गर्ने १२ जनालाई एकै ठाउँ जम्मा पारेर गाउँलेकै सामुन्ने गोली हानेँ ।’

त्यो घटनापछि कुस्ती खेल्ने गाउँका बलिया बाङ्गा सबै पञ्चमको ग्याङमा भर्ना भए । विस्तारै उनको प्रभाव पढ्दै गएपछि डाकुका सरकार मोहर सिंहले उनलाई डाकु सत्ता सुम्पिए ।

त्यति मात्र होइन, भारतभरिका डाकुहरुबीच उनले एकता पनि गराए । जसले गर्दा भारतका भिन्न –भिन्न ठाउँमा डाकुराज कायम भयो र सरकारलाई चुनौति पनि दिइरह्यो । कतिसम्म भने उनीहरुले प्रहरी, सरकारी जागिरे र राजनीतिसम्म आफ्ना मानिस पुर्‍याउन थाले । सन् १९७० सम्म आइपुग्दा भारतका कुख्यात डाकुमा पञ्चम सिंहको नाम अग्रस्थानमा आउन थाल्यो ।

अहिले पञ्चम सिंहको जीवनकथामा आधारित हिन्दी चलचित्र ‘पञ्चम सिंह एक आधुनिक विश्वामित्र’ बनिरहेको छ । चलचित्रमा ब्रह्मकुमारी राजयोग विश्वविद्यालयले लगानी गर्ने भएको छ ।

इन्दिरा गान्धीसँग भनाभन !

नेपाल आएका पञ्चम सिंहले भने– ‘मेरो प्रत्यक्ष सम्वाद लोकनायक जयप्रकाश नारायणसँग भयो । उनकै आग्रहमा मैले प्रधानमन्त्री इन्दिरा गान्धीसँग एकपटक टेलिफोनमा कुरा गरेँ र भनेँ, ‘सक्छौ भने मेरो इलाकामा मेरा मानिसविरुद्ध कुनै उमेद्वार खडा गरेर देखाऊ । इन्दिरा गान्धी पनि के कम, मेरो सबै इलाकामा उनले मेरा मानिसविरुद्ध उमेद्वार खडा गरिदिइन् । मेरो राज्यमा यो पहिलो रेकर्ड थियो र पहिलोपटक एकजना शेरनीसँग एकजना शेरले प्रतिस्पर्धा गर्दै थियो । धेरै मज्जा आयो ।’

उनले अगाडि सुनाए– ‘तर दिल्लीमा बसेकी इन्दिरा गान्धीलाई मध्यप्रदेश र राजस्थानका गाउँहरुमा मेरो कति शक्ति छ, थाहा थिएन । उनले खडा गरेका मानिसले एक साताभित्र धमाधम उमेद्वारी फिर्ता लिन थाले, तब उनको इज्जत धुलोमा मिल्यो । विरोधीहरुले उनको कुरा काट्न थाले । त्यसपछि दोस्रो पल्ट उनले टेलिफोनमा मसँग कुरा गर्दै सोधिन्, तिम्रा सर्तहरु के के हुन् ? तिमी आफ्नो शक्तिलाई किन दुरुपयोग गर्छौ । तिमी असल मानिस हौ भने मिलेर देश बनाऔं ।’

आज म जेलमा बसेका सबै कैदीहरुलाई चुनौती दिन्छु र भन्छु, ‘मेरो कथा सुनेपछि पनि कोही अपराधको दुनियाँमा फर्कन्छ भने तिमी मान्छे होइनौं, केवल मानिसको नाममा कलंक मात्रै हौ

इन्दिरा गान्धीको बोलीमा पञ्चमको विश्वास थिएन । तर, तत्कालीन चर्चित नेता जयप्रकाश नारायणमाथि भने उनको भरोसा थियो । ‘यिनै जयप्रकाशको आग्रहमा म र मेरासाथीहरुलाई आममाफी हुने सर्तमा मैले आत्मसमर्पण गरेको हुँ ।’

पञ्चमले आत्मसमर्पण गरेपछि भारतीय सरकारले उनकै आग्रहमा खुला जेलमा परिवारसहित बस्ने अनुमति दियो । परिवारसहित खेती गर्दै खुला जेलमा बसेका पञ्चम सिंहकै सहयोगमा सरकारले त्यसबेलाका चर्चित डाकु फुलनदेवीलाई आत्मसमर्पण गरायो । र, पञ्चमकै सहयोगले फुलनदेवी सांसदमा चुनिइन् ।

फुलनदेवी मात्रै होइन, भारतका चन्दन तस्कर एवं डाकु वीरप्पनले दक्षिण भारतका चर्चित नायक तथा राजनीतिज्ञ राजकुमारलाई अपहरण गर्दा उनलाई सकुशल फर्काउन पञ्चमले महत्वपूर्ण योगदान गरे ।

वीरप्पनलाई पनि पञ्चमले आत्मसमर्पण गर्न पटक–पटक अनुरोध गरे । तर, नमानेपछि उनकै ग्रीन सिग्नलबाट बीरप्पन प्रहरीबाट मारिए ।

उसो त यसअघि पञ्चमले मलखन सिंह, सीमा परिहार र सुमेर जुर्गरलाई पनि आत्मसमर्पण गर्न लगाएका थिए । तीमध्ये सांसद बनेकी फुलनदेवीको हत्या भयो भने बाँकी तीनजना डाकुहरु अहिले पनि जेलमै छन् ।

कसरी परिवर्तन भए पञ्चम ?

डाकु हुञ्जेल पञ्चम सिंह देवीका भक्त थिए । ‘गलत गर्नेलाई छाड्नुहुन्न र कमजोरलाई सहयोग गर्नुपर्छ’ भन्ने उनको नीति थियो । तर, जब कसैको हत्या हुन्थ्यो वा कसैको घर लुटिन्थ्यो, उनको मन अशान्त हुन्थ्यो ।

‘मेरो क्षेत्रका धनीमानीले आम्दानीको १० प्रतिशत कर तिर्नुपर्दथ्यो । कहिलेकाहीँ कर नतिरेको अभियोगमा कतिको हत्या गर्नुपर्दथ्यो । त्योबेला म रातभर सुत्न सक्तिन थिएँ । म यी सबै काम छाड्न चाहन्थेँ । पाप पखाल्न चाहन्थें ।’

‘जब इन्दिरा गान्धीले जयप्रकाश नारायणलाई दूत बनाएर मसँग पठाइन्, मलाई यो सुनौलो मौका हात परेझैं लाग्यो । किनभने, म मेरा साथीहरुलाई अपराधको नाइके भएर म खुसी छैन भन्ने बताउन चाहन्थेँ । उनीहरुले मलाई कायर भनून्, तर गलत आखिर गलत नै हो भन्ने बुझाउन चाहन्थेँ । र, यो त्यही मौका थियो, जब सरकारले खुला जेलमा राखेर हामी सबैलाई खेतीपाती गरेर परिवारसँगै बस्ने अनुमति दियो ।’

त्यही खुला जेलमा ब्रम्हाकुमारी राजयोग विश्वविद्यालयको पहिलो शिक्षा उनले पाए । तीन वर्ष यसको कोर्ष गरेपछि उनलाई सरकारले खुला जेलबाट बाहिर विभिन्न जेलमा गएर यसको शिक्षा दिने अनुमति दियो ।

उनका प्रायः सबैजसो डाकु साथीहरुको खुला जेलमै मृत्यु भैसकेको छ । डाकुबाट आत्यात्मिक गुरु बनेका पञ्चम सिंह भने ९७ वर्षको उमेरमा पनि जेल सजायँ भोगिरहेका कैदीहरुलाई अझै अपराधको दुनियाँबाट निस्कने उपाय सिकाउँदै हिँडिरहेका छन् ।

‘मैले जम्मा ४ कक्षा मात्रै पास गरेको छु । अंग्रेजकै शासनकालमा जन्मिए पनि म अंग्रेजी जान्दिनँ । यही कारण विदेशका अंग्रेजी भाषा बोल्ने कैदीलाई मैले सिकेको ज्ञान बाँड्न सक्तिनँ’ नेपाल आएका पञ्चमले अनलाइनखबरसँग भने– ‘यही अपसोस छ । नत्र मेरो कुरा सुनेपछि कोही पनि बदलाको भावना मनमा लिएर बसिरहन सक्तैन । हिजो इन्दिरा गान्धीलाई मैले चुनौति दिएको थिएँ, आज म जेलमा बसेका सबै कैदीहरुलाई चुनौति दिन्छु र भन्छु– ‘मेरो कथा सुनेपछि पनि कोही अपराधको दुनियाँमा फर्कन्छ भने तिमी मान्छे होइनौं, केवल मानिसको नाममा कलंक मात्रै हौ ।’

उनी अगाडि भन्छन्– ‘मानिसले अञ्जानमा गल्ती गर्छ । तर, ज्ञान भएपछि गलत गर्नै सक्तैन । किनभने ईश्वरले मानिसलाई देवता बन्न पृथ्वीमा पठाएका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment