Comments Add Comment

दिलबहादुर घर्ती बचाउन साउदीबाट ८ लाख सहयोग

४० लाख संकलन, अझै २५ लाख आवश्यक

२६ असार, काठमाडौं । ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन साउदी अरबबाट ८ लाख रकम सहयोग भएको छ ।

आदिवासी जनजाति महासंघ, साउदीका पूर्व अध्यक्ष तथा समाजसेवी हुम सुनारीमगरको नेतृत्वमा साउदीमा क्रियाशील संस्थाहरु पारिवारिक समाज नेपाल, नेपाली प्रवासी समाज, एनए मिडिया लगायत साउदीमा रहेका नेपालीहरुले दिलबहादुर घर्तीको जीवन रक्षाका लागि ८ लाख २७ हजार ११८ रुपैयाँ संकलन गरेका हुन् ।

साउदी अरबमा संकलित रकम नेपाल मगर संघले मंगलबार पत्रकार सम्मेलन गरेर ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान-२०७५’ मूल समितिलाई हस्तान्तरण गरेको छ ।

संकलित रकम मगर संघका अध्यक्ष नवीन रोकामगर र नेपाली प्रवासी समाजका पूर्व अध्यक्ष रामप्रसाद सापकोटाले ‘दिलबहादुर घर्ती बचाउनका लागि ब्लडमनी संकलन अभियान’ मूल आयोजक समितिका सदस्य तथा दिलबहादुरकी पत्नी मनिका बुढालाई हस्तान्तरण गरेका हुन् ।

रोल्पा नगरपालिका–१०, रोल्पा घर भएका दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा छन् । उनले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई २ लाख २५ हजार रियाल (करिब ६५ लाख रुपैयाँ) क्षतिपूर्ति दिन फैसला गरेको छ ।

साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।

पत्रकार सम्मेलनमा मगर संघका अध्यक्ष नवीन रोकामगरले दिलबहादुरको जीवन रक्षाका लागि सहयोग गर्ने बसैलाई धन्यवाद दिए । ‘यो अभियानमा सहयोग गर्ने सबैलाई मगर संघ धन्यवाद दिन चाहन्छ,’ उनले भने, ‘उनको जीवन रक्षाका लागि हामीले अझै सहयोग संकलन गर्नुपर्नेछ । म सहयोगका लागि सबैलाई आग्रह गर्दछु ।’

पत्रकार सम्मेलनमा नेपाली प्रवासी समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार रामप्रसाद सापकोटाले दिलबहादुरको जीवन रक्षाका लाथि आर्थिक संकलन गरी हस्तान्तरण गर्न पाउँदा आफू खुशी रहेको बताए । उनले सहयोग गर्नेहरु सबैलाई धन्यवाद समेत दिए ।

उनले साउदीमा नेपालीहरुले विभिन्न कठिनाईहरु भोगीरहेको उल्लेख गर्नुहुँदै नेपाल सरकार गम्भीर हुनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा दिलबहादुर घर्तीकी पत्नी मनिका बुढाले आफ्नो श्रीमान जेलबाट सकुशल मुक्त हुनेमा आफू ढुक्क रहेको बताईन् । ‘मलाई मेरो श्रीमान फर्केर आउनु हुन्छ की हुन्न भन्ने द्विविधा थियो । जब स्वदेश तथा विदेशमा रहनुभएका दिदी बहनी तथा दाजुभाईहरुबाट मैले सहयोग पाएँ, अब म ढुक्क छु,’ उनले भनिन् ।

४० लाख जम्मा भयो

दिलबहादुरको जीवन रक्षाका लागि मूल समितिको नाममा खोलिएको खातामा ४० लाख रकम जम्मा भएको छ ।

सोमबार साउदी अरबबाट प्राप्त रकमसहित बैंक खातामा ४० लाख पुगेको मनिका बुढाले जानकारी दिइन् । ‘४० लाख पुग्यो, अझै २५ लाख बाँकी छ,’ उनले भनिन्, ‘सहयोग अझै उठ्नेमा आशावादी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment