Comments Add Comment

प्रदेश ३ को राजधानीका लागि ५ जिल्ला उपयुक्त !

२६ असार, काठमाडौं । प्रदेश ३ को राजधानीको विषयमा अध्ययन गर्न बनेको विशेष समितिले राजधानीका लागि प्रदेशका ५ जिल्ला उपयुक्त रहेको निश्कर्षसहित मंगलबार प्रदेशसभालाई प्रतिवेदन बुझाएको छ ।

समितिले मंगलबार साँझ ५ बजे सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो । २ महिनाको अवधिमा गरेको स्थलगत अध्ययन तथा प्रश्नावलीका आधारमा समितिले राजधानीको लागि ५ जिल्ला उपयुक्त रहेको निश्कर्षसहित वर्णनुक्रम अनुसार जिल्लाको सिफारिस गरिएको समितिका सभापति दीपक निरौलाले बताए ।

समितिले राजधानीको लागि सिफारिस गरेको जिल्लाहरुमा वर्णानुक्रमअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर रहेको छ ।

समितिले जिल्लाको भौगोलिक अवस्था, पूर्वाधार, बाटोको पहुँच, केन्द्रबिन्दुलगायतका मापदण्डका आधारमा अंक दिएर प्राथमिकता क्रम प्रतिवेदनमा उल्लेख गरिएको समितिका सभापति निरौलाको भनाइ छ ।

‘औचित्यताका आधारमा’ सभालाई प्रतिवेदन पेस गर्न बढीमा ४५ दिनको म्याद तोकेर वैशाख १४ गते गठित गठन भएको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले वैशाख ३० गतेबाट काम थालेको थियो । समयमा प्रतिवेदन दिन नसकेपछि समितिको म्याद १५ दिन थपिएको थियो ।

काभ्रे, मकवानपुर, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, ललितपुर र रामेछापले जिल्लाको वस्तुगतस्थिति झल्कने गरी भरेर पठाएको १ सय २३ प्रश्नसहितको प्रश्नावली पनि समितिले अध्ययन गरेको थियो ।

सांसद दीपक निरौलाको संयोजकत्वमा रहेको १३ सदस्यीय समितिमा तत्कालिन एमालेका तर्फबाट रामकुमार अधिकारी, विजय सुवेदी, वसन्त मानन्धर, सरस्वती बस्नेत, माओवादी केन्द्रका विशाल खड्का र जगत सिम्खडा, नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा र प्रभात तामाङ, विवेकशील साझा पार्टीका विराजभक्त श्रेष्ठ, नेमकिपाका सुरेन्द्रराज गोसाईं, राप्रपाका रिता माझी र राप्रपा (प्रजातान्त्रिक) का रिना गुरुङ सदस्य रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment