शुक्रबार, ४ साउन, २०७५
OnlineKhabar.com
Suzuki

बुद्धिसागरको आँखाबाट मनसुनी विम्व

Suzuki
अनलाइनखबर

नृत्य र संगीत, जसले शरीरका अवयवलाई स्वतस्फूर्त जागृत गराउँछ । प्रकृतिले यी दुईको समायोजन गरेजस्तै लाग्छ, झरीमा ।

तप्प-तप्प तर अविरल वर्षने पानीको हरेक बुँदमा एउटा झंकार हुन्छ । लय हुन्छ । धून हुन्छ । हावाको वेगसँग हुत्तिदै त्यो नाचिरहेको हुन्छ । र, रुख, पात, जस्तापाता वा फुको माटोमा तप्किदा त्यसबाट संगीतमय ध्वनी पैदा हुन्छ ।

अविछिन्न वषिर्रहेका सेता धर्सा जस्तै पानीको बुँद जब पानीकै सतहमा ठोक्किन्छ, वृत्ताकार लहरहरु तरंगित हुन पुग्छ । तप्किएको बिन्दुमा बेलुन जस्तै फोका उठ्छ । लहराउँछ । प्याट्ट फुट्छ । र, पानीमै बिलाउँछ ।

त्यही पानीको बुँद, जो कर्कलाको पातमा अडिएर मोती झै टलक्क टल्किन्छ । कोमल फूलको पत्रलाई स्पर्श गरेर चुहिन लागेको त्यो अनमोल थोपा कुनै नवयौवनाको सुकुमार गलामा सजिएको आभूषण जस्तै देखिन्छ ।

हावाको झोंकासँगै लहराइरहेका रुख-बुट्यानहरु, खण्ड-खण्डमा छरिएका सेता बादलका टुक्राहरु, पखालिएर सफाचट धर्तीबाट उठेर धर्तीमै लत्रिएको सप्तरंगी इन्द्रेणी ।

प्रकृतिको यो मोहक मनसुनी-विम्वसँग लेखक बुद्धिसागर कति लुकामारी खेल्दा हुन् ? कौतुहलता बोकेर हामी ठमेलको एक क्याफेमा पुगेका थियौं, जहाँ उनी तात्तातो कफी सुर्काउँदै हुँदै थिए । जब ‘झरी’ (उनलाई बर्खा शब्द मनपर्छ रे) को प्रसंग उप्काइयो, उनी ‘नोस्टाल्जिक’ बन्न पुगे ।

कैलालीको झरी

तराईको झरीसँग मेरो बालवयको स्मृतिहरु यसरी भण्डारण भएको छ, जसले आज पनि मलाई घरीघरी नोस्टाल्जिक बनाउँछ । जब म काठमाडौंको कुनै साँघुरो छिँडीबाट झरीको दृश्यहरुमा एकोहोरिन थाल्छु, त्यही बालापनमा अनायास डुबुल्की मार्न पुग्छु ।

कैलालीको मटेरा । मध्य असार ।

घामले रापिएको धर्ती । बुङ्बुङ्ती धूलो उडाउँदै बहकिने तातो हावा । टाढा-टाढा जमिनको सतहमा देखिने आगोको लप्का जस्तै रापको लहर । गर्मी खप्न कति गाह्रो Û त्यसमाथि मेरो शरीरले गर्मी नसहने । यस्तो बेला परेको दर्के झरीमा रुझ्दा आँत कम्ता रसाउँछ ?

केटाकेटीको बेला थियो त्यो । बेपर्वाह पानीमा भिज्न पाउँदा अर्कै फूर्ति । रापिएको फुको माटोमा पानीको बुँद जति तीव्रतासाथ बज्रन्थ्यो, उत्तिनै त्यसको फोका उठ्थ्यो । भुइँको एक तहसम्म तातो वाफ उड्न थालेको हुन्थ्यो । त्यस्तो झरीमा गमबुट लगाएर घरी उफ्रिदै, घरी लडिबुडी गर्दै खुब खेलिन्थ्यो ।

कैलो-मैलो आकाशबाट स-सना धारा बनेर वर्षने झरी अनन्तसम्म देखिने । त्यो पानीको धर्साहरु हावाको लहरसँगै यता र उता नाचेको हेर्दै घर वरिपरिको बार्दलीमा दगुर्थ्यौं । तराईमा आटी हुन्छ, सिकुवा । त्यहाँ खटिया राख्यो । बारीमा घोंगा लाग्दै गरेको मकै हुने । पानी र हावाले मकैका पातहरु हर्रर हल्लाइदिने । हामी खटियामा लम्पसार परेका हुन्थ्यौं, कुइनोको टेकोमा हत्केलाले अनुहार थमाएर । रामदेवले सिकाउने कुनै योगासनमा बसे जसरी । त्यसबेला बत्तिदै आएको शीतल बाछिटाले अनुहारमा स्पर्श गर्दा असीम आनन्द हुन्थ्यो । कोमल हातहरुले स्नेहपूर्वक सुम्सुम्याए जस्तै !

पानीमा रुझ्दै स्कुल जान्थ्यौं । त्यतिबेला हाम्रो खल्तीमा स-सानो साबुनको टुक्रा हुने । प्लाष्टिकमा लुगा पोको पारिन्थ्यो । पानीमा एकसरो भिजेको ज्यानमा साबुन दलिन्थ्यो । टाउकोदेखि खुट्टासम्म फिँजै फिँज बनाएर घरसम्म आइपुग्दा दर्के झरीले जिउ सबै पखालिन्थ्यो ।

झरी थामिएपछि रुख-बुट्यान पखालिएर कञ्चन सफा देखिने, मानौं कुनै नवयौवना भर्खरै नुहाएर कलिलो घामको न्यानो ताप्न बसेकी छे  । सुस्त-सुस्त चलिरहेको बतासले जमुनाको पातहरुमा अल्झिएको पानीको थोपा हुत्याइरहेको हुने । टम्म पानी भरिएको खेतको अनन्त आलीहरुमा निलो आकाशको प्रतिविम्व झल्कने । बादल फाटेर छरिएको घामको किरणमा त्यो टलक्कै टल्कने । यस्तो पृष्ठभूमीमा आकास नै छोएर धर्तीतर्फ नुहिएको अर्ध गोलाकार सप्तरंगी इन्द्रेणी कति मोहक !

पानीको रिमझिम, बर्खाको बेला

किशोरवय यस्तो चरण हो, जतिबेला हामी हरेक कुराबाट उन्मुक्त मजा लिन सक्छौं । त्यसबेला हामी साँघुरिएका हुँदैनौं । हाम्रा इच्छा, आंकाक्षाहरु खुम्चिएको हुँदैन । जे देख्छौं, खुला र फराकिलो आँखाले देख्छौं । मैलें यही चरणमा झरीको भरपुर आनन्द लिएँ । त्यही अनुभूतिलाई मैले आफ्नो उपन्यासहरुमा पनि समेटें । तपाईं चाहे ‘कर्णाली ब्लुज’ पढ्नुहोस् वा ‘फिरफिरे’, झरीको सौन्दर्य छ । ‘फिरफिरे’मा पहिलो पटक वर्षेको पहिलो झरीको पहिलो बुँद नाकको डाँडीमा तप्किएको जस्ता प्रसंग छ ।

झरीका दृश्यहरुले मनलाई एकतमासले डोहोर्‍याउँछ । उराठ लाग्छ । यस्तोबेला के-के कुरा फुरिहाल्छ । अक्सर सिमसिम पानी वा दर्के झरी परेको क्षणमा म लेख्न बस्ने गर्छु ।

काठमाडौंको सुरुवाती बसाइ घट्टेकुलोमा थियो । त्यहाँ बस्दा म असारे झरीको औधी आनन्द लिन्थें । जब बादल मडारिएर पानीका छिटाहरु खस्न सुरु गर्थे, मान्छेहरु हतार-हतार घरतर्फ लम्कन्थे । म भने सरासर पुतलीसडक पुग्थें । त्यहाँ पुग्दासम्म झरी उत्कर्षमा पुगिसकेको हुन्थ्यो । दर्के झरीमा आफूलाई भिजाउँदै घट्टेकुलो र्फकन्थें । डेरामा पुगेपछि लुगा फेरेर सुकिलो भएपछि ओछ्यानमा पल्टिन साह्रै स्वाद आउने । यस्तो बेला एक कप तात्तातो कफी भए ?

खासमा म झरीसँग एकदम इन्जोए गरिरहेको हुन्छु । मलाई सिनेमाको दृश्यमा पनि पानी परेको औधी मनपर्छ । बाहिर टन्टलापुर घाम लागेको होस् । कोठामा फ्यान चलाएर सिनेमामा र्झरर दर्के झरी परेको दृश्य हेरिरहँदा मेरो सर्वाङ्ग रुझेजस्तै शीतल अनुभव हुन्छ । हलिउड फिल्मका यी दृश्यहरुले मलाई रोमाञ्चित बनाइदिन्छ ।

झरीको सौन्दर्य

मलाई झरी भन्दा पनि बर्खा भन्नु घतलाग्छ । तर, बर्खाले समग्र समयावधीलाई बाँध्छ । झरी फरक हो ।

झरीको स्वरुप र सौन्दर्यको बयान गरेर साध्य छैन । अझ लेखक खासगरी सर्जकहरुले त झरीलाई अनेक विम्वको रुपमा प्रयोग गर्छन् । कहिले झरीलाई दुःखको, कहिले झरीलाई रोमान्सको, कहिले झरीलाई जीवन-धूनको, कहिले वैराग्यको विम्व बनाइन्छ ।

झरीको दृश्य सम्झदा म त्यसै उद्वेलित हुनपुग्छु । यसले कहिले मलाई अतितमा डुबाइदिन्छ, कहिले रोमान्टिक बनाइदिन्छ । बार्दली वा झ्यालमा बसेर दर्के झरी हेरिरहँदा जब हावामा बत्तिएर आउने पानीका बाछिटाले स्पर्श गर्छ, यो दुर्लभ सुखानुभूतले बिछट्टै उमंग फैलाउँछ ।

तराईको बाक्लो, मोटो झरीलाई अनन्तसम्म नियाल्न सकिन्छ, जो अविरल झर्ने सेता-सेता धर्सा जस्तै देखिन्छन् । त्यसको लेयरमा बादललाई चिरेर घामको किरण पर्दा देखिने अलौकिक दृश्यले मलाई हुरुक्कै बनाउँछ ।

झरीको धून

तराईको झरीसँग म बढी रुझेको छु । तर, मलाई पहाडको झरी र त्यसले निर्माण गर्ने सौन्दर्य र धून गजब लाग्छ ।

तराईको जस्तो हुँदैन पहाडको झरी । पहाडको अलि अग्लो थुम्कामा बसेर झरीको दृश्य हेर्नुको बेग्लै आनन्द छ । आफू उभिएकोभन्दा तलको सतहमा क्षणमै भुइँ कुहिराले ढाक्छ, क्षणमै हावाले त्यसलाई अर्कोतिर थुप्रो लगाइदिन्छ । चिसो हावा बत्तिएर आएको बेला टाढा-टाढाका पहाडका शृंखला देखिन्छ् । खोंच-खोंचमा हतारिदै झरेका पानीका झरना देखिन्छ । फेंदीमा उर्लिएको स-सना खोल्सी र खोलाहरु देखिन्छ । तर, भुइँ कुहिरो उड्दै उड्दै फेरि सबै ढाकिदिन्छ र आफू उभिएको भन्दा आसपासमा केही देखिँदैन । त्यहीबेला चिसो सिरेटोले स्पर्श गरेर जान्छ । अहो ! यो आनन्द अरु कहाँ पाउने ?

ठूल-ठूला सल्लाका पात-पातमा ठोक्किदै झर्ने पानीको ध्वनी, अनेक खाले किरा फट्याङ्ग्रा कराउँछन् । अनि छुटै किसिमको साउन्ड निर्माण हुन्छ । मलाई झरीको धून बडो मधुर लाग्छ । राति निद्रा लागेन भने म युट्युबमा झरीको साउन्ड लगाएर निदाउँछु ।

तप्प-तप्प तर अविरल वर्षने पानीको हरेक बुँदमा एउटा झंकार हुन्छ । लय हुन्छ । धून हुन्छ । हावाको वेगसँग हुत्तिदै त्यो नाचिरहेको हुन्छ

बडीमालिकाको झरीसँग पौठेजोरी 

एसएलसी परीक्षा दिएपछि बडीमालिका जाँदा दुई दिन निरन्तर झरी पर्‍यो । बडीमालिकाको दर्शन गरेपछि मनोकामना पुग्छ भन्ने लागेर हिँडिएको थियो । म ‘एसएलसी पास गराइदेऊ’ भनेर बडीमालिकाको भाकल गर्न गएको । छिमेकमा एक सुनार थिए, उनको छोरी नै छोरी जन्मिएका । ‘छोरो पाउँ’ भनी उनले पनि मलाई सुनको सानो कुन्डल चढाउन पठाएका थिए । यी दुवै जिम्मेवारीले पनि मलाई बडीमालिका पुग्नैपर्ने दबाव थियो ।

भिरालो उकाली-ओराली हिँड्दा जुत्ताले बुढी औंलाको नङ उप्काइदियो । पानीमा भिजेको गोल्डस्टार जुत्ता, नङको घाउ, त्यसमाथि हिँडेको-हिँडेकै गर्नुपर्ने । रातभर हिँडेको छ, दिनभर हिँडेको छ । अरुबेला त म झरीमा इन्जोए गर्थें । तर, त्यसबेलाको झरीले दिनसम्म दुःख दियो । संयोग के पनि भयो भने, म एसएलसी पास भएँ, गणितमा ३२ अंक लिएर । ति छिमेकी सुनारको पनि सोही वर्ष छोरो भयो ।

त्यस्तै मटेरा गाउँमा, सानै छँदाको एउटा सम्झना छ । त्यसबेला आमा-बुवा घरमा नभएको । म एक्लै रहेछु । पानी परेको थियो । खरको छानो । छानोबाट पानी चुहिन थाल्यो । बार्दलीमा बसेर त्यही पानीसँग खेल्न थालें । खरबाट चुहिने पानी अलि धमिलो हुन्छ । त्यसमा माछा मारे जस्तै गर्दा गर्दै बार्दलीबाट खसेछु र बेहोस भएछु ।

अहिले आएर सम्झदा ति दिनहरु रमाइलो लाग्छ । विगतका दुःखहरु भविष्यका सुखद संस्मरण बन्ने रहेछ ।

अहिले काठमाडौंमा बसिएको छ । तर, काठमाडौंको झरीमा मैले बाल्यकालको धून अनुभूत गर्न सकेको छैन । काठमाडौंमा घरैघर छ । बिजुली र टेलिफोनको तारको गुजुल्टा छ । त्यस्तोमा अविछिन्न वर्षने झरीको दृश्य देखिँदैन । सायद काठमाडौंमा हुर्कने अहिलेका बच्चाहरुले झरीको सौन्दर्य देख्न पाएका छैनन् ।

२०७५ असार २७ गते ११:४७ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this