निर्देशक सुरज सुब्बा ‘नाल्बो’ ले चलचित्र ‘माई प्रमिस’ निर्देशन गरे । लाहुरेको कथा भएकाले चलचित्रको छायांकन सिंगापुरमा लगेर पनि गरियो । जम्बो टोलीका लागि निर्माताले राम्रै खर्च गरे ।
तर, चलचित्र रिलिज हुन धेरै बर्ष लाग्यो । बल्लतल्ल चलचित्र हलमा त लाग्यो, तर दर्शक हेर्न आएनन् । रिलिजको समयमा निर्माताले टाउकोमा हात राखेर बस्नु बाहेक अरु विकल्प भएन । विचरा ती निर्माता त्यसपछि चलचित्र क्षेत्रमा फर्कन सकेका छैनन् ।
०००
केही समयअघि निर्देशक राजु गिरीले ‘देश परदेश’ चलचित्रको घोषणा गरेर छायांकन पनि सुरु गरे । प्रेम सोनी यो चलचित्रका निर्माता तथा हिरो थिए । प्रेमलाई हिरो भन्ने भूत सवार थियो, राजु गिरीलाई चलचित्र निर्देशन गर्ने लहड । दुबैको कुरा मिल्यो र काम सुरु गरे ।
गतिलो छवि नभएका राजु गिरी निर्देशक भएकै कारणले थुप्रै नायिकाले चलचित्र खेल्न मानेनन् । बल्लबल्ल सारिका केसी चलचित्र खेल्न राजी भइन् । अहिले यो चलचित्रको अत्तोपत्तो छैन । प्रेमको हिरो बन्ने चाहना त पुरा भएन नै, उनको ठूलै रकम डुब्यो ।
०००
चलचित्र ‘रानी महल’ को ३० प्रतिशत छायांकनपश्चात लफडा उत्पन्न भएपछि अहिले यसको काम रोकिएको छ । चलचित्रलाई वेदप्रसाद भुषालले निर्माण गरिरहेका थिए ।
अर्कै व्यवसायमा सक्रिय भुषाललाई उनका पुराना साथी हिमाल न्यौपानेले चलचित्र निर्माणका लागि आग्रह गरे । न्यौपानेले बेदप्रसालाई भने- ‘फिल्ममा करिअर सुरुवात गर्दैछु, तिमीले लगानी गरेर सहयोग गरिदेउ ।’
बेदप्रसादलाई चलचित्र क्षेत्र खासै रुचीकर थिएन । तर, साथी हिमालले बलिउड स्तरको चलचित्र बनाउने भन्दै उनलाई फकाए । बेदप्रसाद भन्छन्-‘साथी हिमालले आफ्नो काम देखाउन पनि सुरुमा कसैले पत्याउनै पर्ने भन्दै मलाई अफर गरे । उनले चलचित्रले लगानी सुरक्षित गर्ने आश्वासन दिएर डेढ करोडसम्म लगानी गर्न आग्रह गरे । मैले साथीको करिअरमा पनि सहयोग पुग्ने र आफ्नो लगानी पनि सुरक्षित हुने ठानेर पैसा हालेँ ।’
तर, ३० प्रतिशत छायांकन नसकिदै चलचित्रको बजेट २ करोड पुगेको छ । छायांकनस्थल पाल्पामा पुग्दा वेदप्रसादले चलचित्र क्षेत्रमा छाडातन्त्र फैलिएको र दुषित भएको बल्ल बुझे । उनले प्राविधिकहरुलाई भनेर दिएको पैसा प्रोडक्शन डिजाइनर गणेश सापकोटाले आफ्नै खल्तिमा राखे । पैसा नपाएको भन्दै प्राविधिहरुले विद्रोह गरेपछि बल्ल सपनाबाट व्यूझिएझैं भए वेदप्रसाद ।
अनलाइनखबरसँग उनले भने-‘यो बिषयमा यति धेरै हल्ला नभएको भए म चलचित्रबाट ब्याक पनि हुन सक्थेँ । तर, अब चलचित्र पुरा गर्छु ।’
८५ लाखमा सक्ने लक्ष्यका साथ सुरु भएको कुरा प्रोजेक्ट अब साढे ३ करोडमाथि लाग्ने पक्का छ । यत्रो लगानी कसरी सुरक्षित गर्ने भन्नेमा अञ्जान छन् बेदप्रसाद ।
‘बलिउड स्तरको चलचित्र बनाउँछु र लगानी सुरक्षित हुन्छ भनेर निर्देशक ज्यूले भन्नुभएको थियो । अरु मलाई खासै थाहा छैन,’ उनी भन्छन् ।
०००
भदौ १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जय शम्भु’का निर्माता दिनेश शाहीको व्यथा पनि उस्तै छ । दिनेशलाई चलचित्र क्षेत्रमा आउने सोच त थियो । तर, कस्तो चलचित्र बनाएको खण्डमा कसरी, कतिसम्म लगानी उठाउन सकिन्छ भन्ने उनलाई अझै पनि थाहा छैन ।
उनले अनलाइनखबरसँग भने-‘आफूलाई पनि रहर थियो र साथीभाइले पनि चलचित्र बनाउँदा फाइदा हुन्छ भनेपछि लगानी गरेँ ।’
तर, सहकारी व्यवसाय गर्दै आएका दिनेशलाई चलचित्र निर्माणको केही ज्ञान थिएन । उनले आफूलाई ज्ञान नभएकाले नै निर्देशकले दिएको बजेटभन्दा अत्यधिक खर्च भइरहेको बताए ।
उनले भने-‘मलाई डेढ करोडमा उत्कृष्ट चलचित्र बनेर हलमा लाग्छ भनिएको थियो । तर, अहिले बनाउँदा बनाउँदै सवा २ करोड खर्च भइसक्यो ।’
दिनेशलाई यो रकम कसरी सुरक्षित हुन्छ भन्ने अत्तोपत्तो छैन । उनले भने-‘मलाई त्यसको आइडिया भएन । राम्रो चलचित्र बन्यो भने, इनिसियल व्यापार गर्यो भने लगानी उठ्छ भन्ने लागेको छ । अरु, केही पनि थाहा भएन ।’
उनी थप्छन्-‘चलचित्र क्षेत्रको बारेमा ज्ञान दिने साथी नै कोही भएनन् । मैले पनि खासै चलचित्र क्षेत्रमा मानिसहरु चिनेको छैन । गोपिकृण्ण हलमा गएर अरुको चलचित्र हेर्दा यस्तो बनिदियो हुन्थ्यो भन्ने लाग्थ्यो । तर, यहाँ त ‘ए, बी, सी’ ग्रेडका चलचित्र हुँदा रहेछन् ।’
तर, उनलाई अझै पनि चलचित्रको भोक मरेको छैन । उनले, अब आफूले चलचित्रको बारेमा सबै कुरा वुझेकाले अर्को चलचित्र मिहिनेत गरेर बनाउने बताए ।
००
चलचित्र ‘हिरोज्’ मा हिरोइन बन्न आएकी पूर्णिमा लामा परिवन्दले निर्माता भइन् र ८० लाख रुपैयाँ सकिन् । चलचित्र हलमा त लाग्यो, तर देशभरबाट २ लाख पनि उठेन होला । चलचित्रको कार्यक्रममा पूणिर्माले रुदै आफूलाई फसाइएको बताएकी थिइन् । तर, ५० हजार पारिश्रमिकमा चलचित्र खेल्न आएकी पूणिर्मा अन्त्यमा ८० लाख लगानी गर्ने निर्माता नै बनिन् ।
०००
नेपाली चलचित्र क्षेत्रमा नेपाली चलचित्रमा अहिले नयाँ निर्माताको बाढी नै छ । म्यानपावर व्यवसायी, जग्गा व्यवसायी, एनआरएनहरुले चलचित्रमा सर्वाधिक लगानी गरेका छन् ।
हरेक नयाँ चलचित्रमा ३ देखि ४ जना नयाँ निर्माताको नाम सुनिन्छ । तर, अधिकांश निर्माताको अवस्था, हामीले माथि उल्लेख गरेजस्तै छ । उनीहरुले न त चलचित्र क्षेत्र नै बुझेका छन्, न त चलचित्रमा लगानी गरेर कसरी सुरक्षित हुन सकिन्छ भन्ने नै वुझेका छन् । आँखा चिम्लिएर लगानी गर्ने यिनै निर्माता ‘मुर्गा’ नामले सम्बोधित छन् ।
चलचित्रमा लगानी गर्न आउने यी निर्माता केही त जानीजानी ‘मुर्गा’ बनेका छन् भने धेरैलाई ‘मुर्गा’ बनाइएको छ । सुरुमा कम बजेट भनेर चलचित्रको काम सुरु गर्ने र विस्तारै पुगेन भन्दा भन्दै निर्मातालाई घर न घाटको बनाइदिने प्रचलन बढेको छ ।
तिहारमा खेलाइने ‘लंगुरबुर्जा’ र निर्माताको लगानी उस्तै भएको छ । लंगुर बुर्जामा सय रुपैयाँ हार्दा फर्किन्छ कि भन्ने आशमा हजारौं डुबाउने धेरै हुन्छन् । चलचित्रमा पनि ५० लाख त लगानी भैहाल्यो, अब थोरै थपौ न भन्दा भन्दै करोडौ झ्वाम बनाउनेहरु धेरै छन् ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी नयाँ निर्मातालाई चलचित्रको पुरा जानकारी लिएर मात्र लगानी गर्न आग्रह गर्छन् । उनले भने-‘कसैले फकायो, आश्वासन दियो भनेर आँखा चिम्लिएर लगानी नगर्नुहोस् । पहिले कति लगानी गर्दा कसरी पैसा फिर्ता हुन्छ, बजारमा कलाकारको रेट कति छ वुझ्नुहोस् ।’
उनले, चलचित्रको बारेमा केही महिना अनुसन्धान नगरी चलचित्र नबनाउन नयाँ निर्मातालाई सुझाए । ‘छक्का पन्जा’, ‘सत्रु गते, कोहिनुर, लुट २’ जस्ता केही चलचित्रले ग्रसमा कमाएको रकम सुनेर पनि कतिपय निर्माताले लगानी गरेका छन् । निर्देशक दीपाश्री निरौला भन्छिन्-‘हाम्रो चलचित्रमा लगानी गर्छु भनेर धेरै एनआरएन साथीहरु आउनु भएको छ । तर, हामीले मिहिनेत गरेर ब्रान्ड बनाएको चलचित्रलाई हामी आफै लगानी गर्छौ भनेर बसेका छौ ।’
उनका अनुसार, निर्माताले पैसा कमाउँछ भन्ने त सुनेका छन् तर कसरी कमाउँछ भन्ने वुझेका छैनन् । जसले गर्दा, चलचित्रमा आँखा चिम्लिएर लगानी गर्ने र पछि यही क्षेत्रलाई गाली गर्दै हिड्ने निर्माताहरु धेरै छन् ।
अहिले चलचित्रको लगानी कुनै समयको नेटवर्क व्यवसाय जस्तो भएको छ । सुरुमा एक जनाले चलचित्र बनायो, डुबेपछि अर्को चलचित्रमा ४ जना खोज्यो । ४ जना फेरि बाँडिएर प्रत्येकले ४ जना खोज्यो र चलचित्र बनायो ।
चलचित्र क्षेत्रमा आउने धेरै निर्मातालाई साथीभाई, फेसबुकमा चिनेका अन्य निर्माता, निर्देशकले ‘मुर्गा’ बनाएका छन् । कतिपय भने जानी जानी हाम्फालेका छन् ।
सय निर्मातामा २ जनाले कमाए भन्दैमा सबैले कमाउँछन् भन्ने हुँदैन । ठूलो प्रतिफलको लोभ देखाएर सोझा निर्मातालाई चुर्लुम्ब डुबाइदिनु भनेको अपराध हो । हुँदै नहुने आश्वासन दिएर कसैको धन सम्पत्ती र भावनासँग खेल्ने काम बन्द हुनुपर्छ । अनि मात्र, चलचित्र क्षेत्र स्वच्छ र इज्जत गर्न लायकको बन्नेछ ।