Comments Add Comment

प्रधानमन्त्रीको निर्देशनः सडकका खाल्डाखुल्डी तत्काल पुर्नू

यातायात क्षेत्रको सिन्डिकेटबारे चासो व्यक्त

२७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । साथै कलंकी-थानकोट र चाबहिल-बौद्ध-जोरपाटीको दुरावस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव लगायतलाई बोलाएर यसबारे चासो राखेका छन् । उनले कलंकी-थानकोट र चाबहिल-बौद्ध-जोरपाटी सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न पनि निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले यातायात क्षेत्रको सिन्डिकेटबारे पनि चासो देखाएका छन् । सार्वजनिक यातायालाई कम्पनीमा रुपान्तरण गर्ने लगायतका कार्यहरु तत्काल सम्पन्न गर्न उनले निर्देशन दिएका छन् ।

सार्वजनिक यातायात क्षेत्रमा सिन्डिकेट सदाका लागि अन्त्य गर्न दीर्घकालीन रुपमा सम्पन्न गर्नु पर्ने कार्यहरुको उपयुक्त कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिनु भएको छ, प्रधानमन्त्री कार्यालयले भनेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिन्डिकेट फर्कन नसक्ने बताए । सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन र दीर्घकालीन योजना बनाउन गठित कार्यदलले एक साताभित्र प्रतिवेदन दिने र त्यसअनुसार अघि बढ्ने उनले बताए ।

उनले सडक बत्ति, चाबहिल-बौद्ध-जोरपाटी सडक र कलंकी-थानकोट सडक र अन्य सडकको खाल्डाखुल्डी व्यवस्थापनमा ५० दिनभित्र महसुस हुने गरी सुधारका काम गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment