Comments Add Comment

‘मिसन इम्पोसिबल’ का नायक, जसले गुफामा फसेका बच्चाहरु निकाले


२७ असार, काठमाडौं । थाइल्याण्डको गुफा थाम लुवाङ गुफाभित्र फसेका सबै १२ बालक र उनीहरुको प्रशिक्षकलाई १७ दिनपछि सुरक्षित रुपमा बाहिर निकालिएको छ ।

यो उद्दार अभियान अहिलेसम्मकै सबैभन्दा ठूलो र लामो समयसम्म चलेको ‘केभ रेस्क्यु मिसन’ हो, जसमा विभिन्न देशका तालिमप्राप्त गोताखोरहरु सहभागी थिए ।

अत्यन्त साँघुरो, पानीमा डुबेको टेढोमेढो बाटो, अक्सिजनको कमी भएको र अँध्यारो गुफाबाट बच्चाहरुलाई सकुशल उद्दार गर्नु भनेको उनीहरुलाई मृत्युको मुखबाट फिर्ता ल्याउनुभन्दा कम थिएन । त्यसमाथि लगातार भइरहेको वर्षाले बेलाबेला बाधा पुर्‍याइरहेको थियो ।

गुफामा फसेका धेरैजसो बच्चाहरुले पौडी खेल्न जानेका थिएनन् । सुरुमा बच्चाहरुलाई बाहिर निकाल्न महिनौंसम्म लाग्न सक्ने अड्कल गरिएको थियो ।

बच्चाहरुलाई जिवितै भेटिएपछि अक्सिजन सिलिण्डर पुर्‍याउन गुफाभित्र गएका एक गोताखोरको फर्किंदा बाटोमै मृत्यु भएबाट नै त्यहाँको अवस्था कति भयानक थियो भनेर अनुमान गर्न सकिन्छ ।

तर, अनगिन्ती बाधा र चुनौतीहरुलाई पन्छाउँदै सबै बच्चाहरुलाई तीन दिन भित्रमा बाहिर ल्याउन उद्धार टोली सफल भयो । यो सफलताको पछाडि एक टिमले काम गरिरहेको थियो,जो बच्चाहरुलाई सकुशल बाहिर ल्याउनको लागि पुरै प्रतिबद्ध थियो ।

‘मिसन इम्पोसिबल’ अर्थात असम्भव मानिएको यो उद्धार कार्य सफल बनाउने पर्दा पछाडिका नायकहरुले सबै बाधा ब्यवधान पन्छाउँदै रातदिन खटेर बच्चाहरुलाई सकुशल बाहिर ल्याएरै छाडे ।

उद्धार कार्यका नायकहरु :

जोन भोलेन्थन, रिचार्ड स्टेनटोन र रोबर्ट चाल्र्स हार्पर

ब्रिटेनका जोन भोलेन्थन उनी हुन्, जसको आवाज गुफामा नौ दिनदेखि फसेका बच्चाहरु र प्रशिक्षकले सबैभन्दा पहिले सुनेका थिए ।

थाम लुआङ गुफामा फसेका बच्चाहरुलाई खोज्न थाइल्याण्ड सरकारले बि्रटेनका भोलेन्थन, रिचार्ड स्टेनटोन र रोबर्ट चाल्र्स हार्परलाई सहयोगको लागि बोलाएको थियो । यी तीनै जना ‘गुफा विज्ञ’ हुन् ।

स्टेनटोनले पहिले फायर बि्रगेडमा पनि काम गरिसकेका छन् । यी तीनले नर्वे, फ्रान्स र मेक्सिकोमा पनि यस्तो उद्धार अभियानलाई सफल बनाएका थिए ।

सुमन गुनन

३८ वर्षका सुमन गुनन बालकहरुलाई अक्सिजनको सिलिण्डर पुर्‍याएर फर्किंदा गुफाभित्रै बेहोस भए र पछि उनको मृत्यु भयो ।

सुमन गुनन थाई नौसेनाका पूर्व गोताखोर थिए । उनले केही समयअघि जागिर छोडेका थिए तर, बच्चाहरुको उद्धारकार्यमा सहभागी हुन उनी फर्केर आएका थिए । थाइल्याण्डका राजाको घोषणा अनुसार सुमन गुननको राजकीय सम्मानको साथ अन्तिम संस्कार गरियो ।

डा. रिचार्ड हृयारिस

अष्ट्रेलियाका डा. रिचार्ड हृयारिससँग दशकौंको अनुभव छ । उनले नै गुफामा बच्चाहरुको स्वास्थ्य परिक्षण गरेपछि उद्धारकार्य अगाडि बढाउन गि्रन सिग्नल दिएका थिए । त्यसपछि मात्रै उद्धार अभियान अगाडि बढेको थियो ।

बच्चाहरु नौ दिनसम्म केहि पनि नखाँदा धेरै कमजोर भएका थिए । त्यसैले उनीहरुलाई डाइभिङको माध्यमले बाहिर निकाल्न धेरै खतरनाक हुन सक्ने भएकाले हृयारिसले उनीहरुको स्वास्थ्यको ख्याल राखेका थिए ।

मिडिया रिपोर्टका अनुसार डाक्टर हृयारिसले यसअघि पनि अष्ट्रेलिया, चीन, क्रिसमस आइल्याण्ड र न्युजिल्याण्डमा उद्धारकार्यलाई सफल बनाइसकेका छन् ।

बेन रेमेनेन्ट्स

बेल्जियमका बेन रेमेनेन्ट्स फुकेटमा डाइभिङको व्यावसाय गर्छन् । उद्धार कार्यको पहिलो दिन उनले नै सबैभन्दा पहिले गुफाभित्र गएर बच्चाहरुलाई खोजेका थिए ।

क्लास रेसमिसेन

विद्यालयमा डाइभिङ सिकाउने रेसमिसेनले एक डाइभिङ कम्पनीमा प्रशिक्षकको रुपमा पनि काम गरेका छन् । उनले एसियाका कैयौं देशमा डाइभिङ गरेका छन् ।

मिको पासी

फिनल्याण्डका मिको पासीले टेक्निकल डाइभिङमा दक्षता हासिल गरेका छन् ।

उनकी पत्नीको फेसबुक पोस्ट अनुसार उनी बच्चाहरुको उद्धारको लागि अभियानमा सहभागी हुन थाइल्याण्ड आएको दिन उनीहरुको विवाहको आठौं वाषिर्कोत्सव थियो ।

इभान केर्दजी

इभान थाइल्याण्डमा एक डाइभिङ सेन्टर चलाउँछन् । उनले जब पहिलो बच्चालाई गुफामा देखे, त्यतिखेर उनलाई बच्चा जिउँदो छन् कि मृत्यु भइसकेको छ भन्ने एकिन नै भएन । पछि बच्चालाई जिउँदो र सुरक्षित पाएपछि इभानले राहतको सास फेरेका थिए ।

एरिक ब्राउन

क्यानडाका एरिक ब्राउन एक टेक्निकल डाइभर हुन् र उनले इजिप्टमा एक डाइभिङ स्कूल पनि खोलेका छन् । मंगलबार राती उनले फेसबुकमा गरेको पोस्ट अनुसार उनले अहिलेसम्म सात डाइभिङ मिसन पुरा गरिसकेका छन् ।

थाइ नौसेना र चिकित्सकहरु

थाइल्याण्डको विशेष सुरक्षाबल यस उद्धार अभियानको हिस्सा थियो । सुरक्षाबलभि सबैभन्दा विशेष डाक्टर पाक लोहार्सन र अन्य तीन गोताखोर हुन जो बच्चाका साथ गुफाभित्रै बसेका थिए ।

थाइल्याण्डको नौसेनाले आफ्नो फेसबुक एकाउन्टमा एक भिडियो सेयर गरेको छ जसमा डाक्टर लोहार्नसनले एक बच्चाको घाउमा औषधि लगाइरहेका देखिन्छन् ।

यस्तै थाइल्याण्डका नौसैनिक मंगलबार सबैलाई सुरक्षित रुपमा बाहिर निकालेपछि बेलुकी सबैभन्दा ढिलो गुफाबाट निस्किएका थिए ।

(बीसीसीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment