Comments Add Comment

एउटै वडाका दुई सय युवा-युवती वैदेशिक रोजगारीका लागि इराकमा

नागरिकता बनाएकै दिन राहादानी

२७ असार, सिन्धुपाल्चोक । सरकारले वैदेशिक रोजगारीका लागि इराक जान नेपालीहरुलाई रोक लगाएको छ । तर, सिन्धुपाल्चोकको एउटै वडाबाट साढे दुई सय महिलाहरु अवैधरुपमा ईराक पुगेका छन् ।

भोटेकोशी गाउँपालिका-५ (साविकको मार्मिङ गाविस) बाट रोजगारीका लागि विदेशिएका ४ सय ४४ जना महिला तथा पुरुषमध्ये २ सय ४७ जना ईराकमा रहेको पाइएको हो । महिलाको क्षेत्रमा काम गर्दै आइरहेको माइती नेपालले केही दिनअघि गरेको घरधुरी सर्वेक्षणका क्रममा एउटै घरबाट श्रीमान र श्रीमती दुवैजना इराक गएको पनि थुप्रै भेटिएको छ । इराक गएका सबैले अवैधानिक बाटो प्रयोग गरेका छन् ।

केहीले त उमेरै नपुगी नागरिकतामा उमेर बढाएर गएको सर्वेक्षणबाट देखिएको माइती नेपालकी जिल्ला संयोजक पवित्रा घिमिरेले जानकारी दिइन् ।

‘हामी प्रत्येक घरमा पुगेर सर्वेक्षण गर्दा मार्मिङबाट ८५ प्रतिशत घरबाट विदेशिएको पाइयो,’ घिमीरेले भनिन्-‘विदेशमा हुनेले आवश्यक कागजपत्र पठाउने गरेपछि धेरै त्यसरी जाने गरेका रहेछन् ।’

यहाँबाट बैदेशिक रोजगारीमा जाने सबैको पहिलो रोजाई इराक नै भएको घिमिरेको भनाई छ । छोराछोरीलाई हजुरबुबा-हजुरआमाको जिम्मा लगाएर श्रीमान-श्रीमती दुवै विदेशिएको पनि पाइएको छ ।

इराकमा रहेकाहरुले सामाजिक सञ्जालमा आफुहरुलाई त्यहाँ कुनै समस्या नभएको, बरु मार्मिङबासीको ठुलो भिड नै इराकमा लागेको लेख्ने गरेका छन् । यद्यपि, त्यहाँ रहेकामध्ये एक महिला र दुई पुरुष समस्यामा रहेको उनीहरुको परिवारले जानकारी दिएका छन् ।

‘घरधुरी सर्वेक्षणमा पुग्दा सबैको परिवार खुसी नै थिए, तीन जनाको परिवारमा मात्रै समस्या देखियो,’ घिमिरेले भनिन् ।

इराकपछि मर्मिङका स्थानीयको दोस्रो रोजाई दुबई रहेको छ । सो वडाबाट दुबइमा रोजगारीका लागि ४८ जना गएका छन् । उनीहरुमध्ये २५ जना महिला छ्न् । कुबेतमा ३२ र मलेशियामा ३५ जना रोजगारीका लागि गएको तथ्यांकबाट देखिएको छ ।

तथ्यांक अनुुसार सिन्धुपाल्चोकबाट २ हजारभन्दा बढी रोजगारीका लागि विदेशिएका छन् । जिल्लाका लिस्ती, भोताङ, गोल्चे, गुम्बा, हेलम्बु लगायतका स्थानबाट इराकमा जानेको संख्या बढी छ । चरम आर्थिक समस्यापछि जोखिम मोलेरै भए पनि पैसा धेरै कमाउने देशमा युवाहरु गइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठ बताउँछन् ।

एक वर्षमा १२ हजारले राहदानी बनाए

जिल्ला प्रशासन कार्यालयमा राहादानी बनाउन आउनेमध्ये अत्यधिक संख्यामा बैदेशिक रोजगारीमा जानकै लागि हुने गरेको छ । चालु आर्थिक वर्षको असार २५ गतेसम्मको तथ्यांक हेर्दा सिन्धुपाल्चोकबाट यो वर्ष १२ हजारले राहादानी बनाएका छन् । जिल्लाबाट साढे आठ हजार र जिल्लाबाट सिफारिस लिएर काठमाडौंमा ४२ सयले राहादानी बनाएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन् ।

नागरिकता र राहादानी एकै दिन

जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आउनेहरुले त्यही दिन राहदानीको सिफारिस लैजाने गरेका छन् । नागरिकताको प्रमाण-पत्र पाउना साथ सोही दिन राहादानीको सिफारिससमेत लैजाने गरेको सहायक प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताइन् ।

‘हातमा नागरिकता नपर्दै राहदानीको र्फम भरिसकेका हु्न्छन्,’ बञ्जाडेले भनिन् । जिल्लाबाट बनाउँदा एक महिना लाग्ने भएपछि त्यही दिन नै सिफारिस लिएर काठमाडौ जाने गर्छन् ।

राहदानी बनाउनेमा महिलाहरु र त्यसमा पनि किशोरीहरु बढी रहेका छन् । भर्खरका किशोरीहरु अमेरीका-जापन लगायतका मुलकुहरुमा अध्ययनका लागि जाने भन्दै आफन्तको साथमा राहदानी बनाउन प्रशासन कार्यालयमा आउँछन् ।

विवाह गर्दै, श्रीमती विदेश पठाउँदै

सिन्धुपाल्चोकमा दुई-तीन वटा विवाह गर्दै श्रीमतीहरुलाई विदेश पठाउने र श्रीमान स्वदेशमा मोज गरेर बस्ने प्रवृत्ति पनि देखिएको छ । दुर्गम गाउँका दलित र जनजाति समु्दायमा यो प्रवृत्ति धेरै छ ।

‘श्रीमतीहरुलाई पालैपालो विदेश पठाउँछन् र उनीहरुले पठाएको पैसामा मस्ति गर्छन्,’ बञ्जाडेले भनिन् ।

पछिल्लो चरणमा नागरिकता बनाएकै दिन राहादानी सिफारिसलाई कडाई गरेको पनि बञ्जाडेले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment