Comments Add Comment

नेपाल र रुसबीच फुटबल खेलाउनेबारे सोच्दैछौं : युलिया

नेपालीको फुटबल क्रेजलाई द्विपक्षीय सम्बन्धमा उपयोग गर्ने रुसको इच्छा


२७ असार, काठमाडौं । रसियाले विश्वकप फुटबलको एक्काइसौं संस्करण आयोजना गरिरहँदा विगत एक महिनादेखि सारा संसारको ध्यान त्यही देशमा केन्द्रित छ ।

रसिया क्षेत्रफलको हिसाबले संसारको सबभन्दा ठूलो देश त हुँदै हो, विश्व राजनीतिमा पनि मस्को सरकारको उपस्थिति दशकौँदेखि सशक्त छ ।

विश्वकपको सफल आयोजनासँगै यस देशले आफ्नो पहिचानमा थप एक इँटा थप्ने कुरा पनि निश्चित छ । विशेष गरी, रुस र अन्य देशहरूबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धमा यो विश्व कपको व्यवस्थापनले प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

नेपालमा पनि हजारौंको सङ्ख्यामा फुटबल फ्यानहरू छन् । उनीहरूले रुसमा जारी खेलहरूलाई उत्साहका साथ हेरिरहेका छन् । रुसले यो विश्वकपबाट सामाजिक र सांस्कृतिक रूपमा के लाभ लिन सक्छ र यसबाट नेपालजस्ता देशसँगको सम्बन्धमा के प्रभाव पर्छ भन्ने विषयमा अनलाइनखबरले काठमाडौँस्थित रुसी सांस्कृतिक केन्द्रकी निर्देशकसमेत रहेकी रसियन दूतावासकी प्रथम सचिव युलिया एन्द्रोसोभासँग विशेष कुराकानी गरेको छ ।

रसियाले हाल फिफा विश्वकप आयोजना गरिरहेको छ । रुस र रुसी जनताका लागि यो कार्यक्रमको सामाजिक तथा सांस्कृतिक महत्व के छ ?

विश्वकप अन्तिम हप्तामा पुगिसक्दा सम्पूर्ण विश्वले देखिसकेको छ कि हामीले यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेका छौं। यसमा संसारभरिका फुटबलप्रेमीहरू रमाएका छन् ।

करिब २५ लाख मानिस त यो कार्यक्रम रंगशालामै हेर्न रुस गएका छन् । नेपालबाट पनि करिब ३५० जना गएका छन् । अब संसारले हामीलाई कसरी हेर्छ भन्ने कुरा यी मानिसहरूले विश्व कपको व्यवस्थापनलाई हेर्ने दृष्टिकोणमै निर्भर हुन्छ । मलाई लाग्छ, यो विश्वकपबाट हामीले प्राप्त गर्ने सामाजिक तथा सांस्कृतिक उपलब्धि पनि यही हो ।

रुस र संसारका अन्य देशबीचको विद्यमान द्विपक्षीय सम्बन्ध र तिनका सामाजिक तथा सांस्कृतिक पाटामा चाँहि यस कार्यक्रमले कस्तो प्रभाव पार्छ ?

विश्वकप सुरु हुनुभन्दा अगाडि हल्ला फिँजाइएको थियो कि रुस खेलाडीहरूका लागि सुरक्षित छैन । तर, आज आइपुग्दा यो धारणामा परिवर्तन आइसकेको छ । रुसको पहिचान नकारात्मकबाट सकारात्मक भएको छ ।

संसारभरिका जनताले रुसलाई यो विश्व कपभरि जस्तो बुझे, त्यसै अनुसार हाम्रो सामाजिक तथा सांस्कृतिक सम्बन्ध तय हुन्छ । द्विपक्षीय सम्बन्धका यस्ता पाटाहरू राज्यका निकायभन्दा पनि रुस र अन्य देशका जनताको स्तरबाट तय हुने कुरा हुन् । आज संसारलाई थाहा भएको छ कि रुस एउटा मित्रवत् देश हो र यो अन्य कुनै पनि देशसँग काम गर्न तयार छ । जुनसुकै क्षेत्रमा पनि जुनसुकै देशसँग सहकार्यका लागि हामी तयार छौं।

रुस युरोप र एसियाको बीचमा रहेको छ । कहिलेकाहीँ यस्तो हल्ला सुनिन्थ्यो कि रुसी जनताले एसियालीहरूलाई राम्रो मान्दैनन्, त्यसैले यो देशले सबैलाई समान व्यवहार गर्न सक्दैन । अर्कातर्फ युरोपको एक छेउमा रहेको यो मुलुक समग्र युरोपेली समुदायबाट पनि एक्लिएकोजस्तो देखिन्छ । यस्ता आरोप र हल्लाबारे तपाईं के भन्न चाहानुहुन्छ ?

हो, हामी युरोप र एसियाका बीचमा छौं । तर, हामी दुबै महादेशलाई मैत्रीपूर्ण दृष्टिकोणबाट हेर्दछौं । दुबैतर्फ हाम्रो दृष्टिकोण समान छ । वास्तवमा हामी संसारका सबै देशलाई सम्मान गर्दछौं । हाम्रो देशका कुनै राजनेता वा अधिकारीले एसिया तथा युरोपका बारेमा केही नराम्रो बोलेको त तपाईंले सुन्नुभएको छैन । त्यसैले मलाई लाग्छ हामीले विश्वकप सुरु हुनुभन्दा अगाडि चलेका यस्ता हल्लाबारे थप कुरा गरिराख्नु आवश्यक छैन ।

म खुसी छु कि नेपाली जनताका बीच रुसको राम्रो छाप परेको छ । हामीले विश्व कप आयोजकका रूपमा जेजस्तो भूमिका निभाएका छौँ, त्यसलाई नेपाली जनताले प्रशंसा गरेका छन् । आयोजक मात्र नभएर एक सहभागी टोलीका रूपमा पनि उनीहरूले हामीप्रति माया देखाएका छन् । महत्वपूर्ण खेलहरू सकिए लगत्तै कतिपय नेपाली फ्यानहरूले मलाई प्रशंसा र बधाईको सन्देश पठाउने गरेका छन् । रुसले जितेका बखत पनि मैले धेरै सन्देशहरू पाएँ ।

कति फुटबलप्रेमीहरूले त नेपाली र रुसी खेलाडीबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्नुपर्ने सुझाव दिएका छन् । हामी यस्ता प्रस्तावमा थप छलफल गर्न तयार छौँ । सबै नेपालीका लागि रुसी दूतावास र रुसी सांस्कृतिक केन्द्रका ढोका खुला छन् ।

नेपालमा पनि फुटबलप्रेमीहरूको सङ्ख्या उल्लेख्य छ । उनीहरूले उत्साहका साथ विश्व कप हेरिरहेका छन् । दुई देशबीचको दौत्य सम्बन्धलाई अझ बलियो बनाउनका लागि यो लोकपि्रयतालाई प्रयोग गर्ने सम्बन्धमा रुसले केही सोचेको छ कि ?

यस्तो प्रयोगको सम्भावना छ र हामीले पनि यो कुरा बुझिसकेका छौँ । विश्वकप सुरु हुनुभन्दा पाँच दिन अगाडि हामीले भक्तपुरको एउटा स्कुलमा एउटा फुटबल प्रतियोगिता आयोजना गरेका थियौँ । हाम्रो उद्देश्य त्यहाँका बालबालिकालाई यस पालि रुसले विश्व कप आयोजना गर्दै छ भन्ने सन्देश प्रवाह गर्नु र उनीहरूमा खेल संस्कृतिको विकास गर्नु थियो ।

कार्यक्रमपछि खेलमा सहभागी बालबालिकालाई हामीले जर्सी र बल उपहार दियौं । म आफै पनि त्यहाँ गएकी थिएँ, कार्यक्रम एकदमै रमाइलो भएको थियो । मैले धेरै फोटो खिचेर राखेकी छु ।

यो त एउटा ‘साङ्केतिक’ कार्यक्रम मात्र भयो । दुई देशबीचको समग्र सम्बन्धमा योगदान गर्ने उद्देश्यले फुटबलको लोकपि्रयताको अलिक बृहत् स्तरमा सदुपयोग हुने गरी केही गर्ने ठोस योजना छ कि ?

हो, हामी नेपाल र रुसका व्यावसायिक फुटबल खेलाडीबीच एक प्रतियोगिता आयोजना गर्ने विषयमा सोच्दैछौं । यो कार्यक्रम नेपालमा नै हुनेछ, सम्भवतः काठमाडौँमा नै । यहाँका धेरै खेलाडी र फ्यानहरूसँग जोडिइसकेका कारण यो सम्भव छ भन्ने हामीलाई लाग्छ ।

हाम्रै साँस्कृतिक केन्द्रमा पनि ‘आइडियल फुटबल फ्यान क्लब’ नामको एउटा क्लब छ । यस क्लबले विश्व कप हेर्न रुस जाने नेपालीहरूलाई रुसी भाषा सिकाउन एउटा छोटो तालिम आयोजना गरेको थियो । रुस गएका ३५० नेपालीमध्ये कतिपय फर्किसकेको क्लबले मलाई बताएको छ । म आफैँले पनि तीमध्ये कतिलाई भेटेकी छु ।

हाम्रो देशका ठूला रङ्गशालामा जान पाउँदा उनीहरू मख्ख परेका छन् । त्यो खुसी र उत्साहलाई सदुपयोग गर्दै आगामी हामीले आयोजना गर्ने भनेको फुटबल कार्यक्रमको सफलताका लागि जुट्नुपर्छजस्तो मलाई लाग्छ ।

आगामी छ महिनाभित्रै यो कार्यक्रम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ । मिति तय हुने बित्तिकै हामी तपाईँहरूलाई खबर गर्छौं । निम्तो कुरेर बस्नुभए हुन्छ ।

यसबाहेक रुसी सांस्कृतिक केन्द्रले केके क्रियाकलाप गर्ने गरेको छ र दुई देशका जनताबीचको सम्बन्धमा यी क्रियाकलापले कस्तो प्रभाव पार्दछन् ?

हामी नेपालमा सन् १९७९देखि नै कार्यरत छौं । त्यसभन्दा अगाडि नै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भइसकेको थियो । त्यसैले त्यति बेला नै रुसमा अध्ययन गरेर नेपाल फर्किएका विद्यार्थीको सङ्ख्या उल्लेख्य थियो ।

तिनै विद्यार्थीहरूले हाल ‘मित्रकुञ्ज’ नामको एक समूह गठन गरेका छन् र यो समूह हाम्रा नियमित कार्यक्रमहरूका लागि एक मुख्य साझेदार हो । यस बाहेक हामीसँग विभिन्न विषयमा काम गर्ने विभिन्न समूहहरू छन् । यी समूहहरूले साहित्य, प्रविधि, व्यवसाय लगायतका मुद्दामा केन्दि्रत रहेर नियमित कार्यक्रम गर्ने गरेका छन् ।

यी सबै समूहले हरेक महिना कम्तिमा एक कार्यक्रम गर्छन् । ती सबैको उद्देश्य दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउनु हुन्छ । उदाहरणका लागि हामी यसै हप्ता भाषा र व्यवसाय सम्बन्धी दुई कार्यक्रम गर्दै छौँ । निकट भविष्यमा नै हामी एउटा कला प्रदर्शनी पनि आयोजना गर्दै छौं ।

मैले भन्न खोजेको के हो भने हामी नेपालमा विभिन्न क्षेत्रमा कार्यरत छौं र हाम्रो एक मात्र उद्देश्य नेपाल र रुसबीच दशकौंदेखि रहेको सम्बन्धलाई थप प्रगाढ बनाउनु हो । भविष्यमा यस्ता कार्यक्रमले अझ व्यापकता पाउनेछन् भन्ने हाम्रो आशा छ ।

दुई देशबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धका हालसम्मका मुख्य उपलब्धि केके हुन् ? यस क्रममा तपाईंहरूले केके समस्या झेल्नुपरेको छ ?

हाम्रो हालसम्मको यात्रा समग्रमा अत्यन्त सहज छ । धेरै विषयमा नेपाली र रुसी जनताबीच समान धारणा छन् । मलाई जानकारीमा भएसम्म नेपाल भ्रमण गर्ने रुसी जनताको सङ्ख्या विगतका वर्षहरूमा निरन्तर बढ्दो छ । दुई देशको नाता अझ कसिलो बनाउन हामीले विभिन्न कार्यक्रम गर्दै गर्दा यो सङ्ख्या अझ बढोस् भन्ने हाम्रो चाहना छ ।

दुई देशबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धमा कुनै ठुला समस्या छन्जस्तो मलाई लाग्दैन । तर मलाई थाहा छ कहिलेकाहीँ त्यस्तो परिस्थिति आउन सक्छ । त्यस्तो अवस्थामा हामी सबै पक्षसँग परामर्श गरेर ती समस्या समाधान गर्नका लागि तयार नै छौं । हामी सबैका सुझाव सुन्छौं । मैले अघि पनि भनेँ द्विपक्षीय सम्बन्धका कुनै पनि विषयमा छलफल गर्नका लागि हाम्रो ढोका सदैव खुला छ ।

अब कुराकानीको अन्त्यमा केही व्यक्तिगत कुरा गरौं। तपाई‌ंलाई काठमाडौं र नेपाल कस्तो लागिरहेको छ ? आगामी दिन कस्ता होऊन् भन्ने चाहानुहुन्छ ?

म काठमाडौं आएको तीन महिना भयो । म पनि हिलामी क्षेत्रमै जन्मिएकी हुँ र मेरो चाहना थियो कि सम्पूर्ण जीवन त्यहीँ बिताउन पाइयोस् । त्यसैले नेपालका लागि खटाइएको खबर सुन्दा म अत्यन्त उत्साही थिएँ ।

मलाई नेपाली जनता मन पर्छन् । मलाई नेपाली भाषा पनि रमाइलो लाग्छ । हाल म भाषा सिक्दै छु । यहाँको वास्तुकला, मूर्तिकला र अन्य कलाले पनि मलाई आकर्षित गरेका छन् । यहाँको हावापानी पनि बस्नका लागि एकदम उपयुक्त छ ।

यसभन्दा अगाडि म नेपाल आएकी त थिइँन, तर यो देशको नाम भने सानैमा स्कुल पढ्दा सुनेकी हुँ । हाम्रो देशका प्रायः सबै केटाकेटीलाई विश्वको सर्वोच्च शिखर सगरमाथा हो र यो नेपालमा पर्छ भन्ने कुरा थाहा छ ।

म अब कम्तीमा दुई वर्ष नेपालमै रहनेछु । तर, म्याद थपियोस् र मेरो कार्यकाल सकेसम्म लामो होस् भन्ने चाहना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment