Comments Add Comment

छुवाछूतमा कुटपिट गर्नेलाई जेल, चिकित्सा विधेयक फेरि संसदमा


२८ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा मौद्रिक नीति सार्वजनिक परेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिलाई पत्रपत्रिकाहरुले विभिन्न जोड–कोणहरुबाट आज व्याख्या–विश्लेषण गरेका छन् ।

जुम्लामा १२ दिनदेखि अनशनरत डा. गोविन्द केसी काठमाडौं आउन नमानेपछि जुम्ला जान लागेको हेलिकोप्टर रोकिएकोलाई पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् । काठमाडौं नफर्किने जवाफ केसीले दिएपछि त्यसतर्फ उड्न लागेको हेलिकोप्टर रोकिएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरमा दिउँसोको समयमा टिपर र हेभी गाडी सञ्चालनमा आंशिक रोक लगाउने निर्णय गरिएको छ । यो खबरलाई पनि आजका पत्रपत्रिकाहरुले छापेका छन् ।

यसका अलावा सिन्डिेकट अन्त्य गर्न प्रधानमन्त्रीले मन्त्रीलाई निर्देशन दिएको, चिकित्सा विधेयक फेरि संसदमा पेश हुने भएको, छुवाछुतमा कुटपिट गर्नेलाई जेल सजाय सुनाइएकोलगायत खबरले पनि आजका पत्रिकामा उत्तिकै महत्त्व र स्थान पाएका छन् ।

आयोजना ५० करोडको, अनियमितता २५ करोड

दुई खानेपानी आयोजनाका लागि ५० करोड पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका पाइप खरिदमा अनियमितता भएको हो । अनियमितताको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो ।

सरकारले ल्याएन सिन्डिकेटपछिको कार्यविधि

कारोबार दैनिकका अनुसार सरकारले सिन्डिकेट अन्त्यका लागि चालेको कदम निष्कर्षमा नपुगने निश्चितजस्तै भएको छ । साउन १ देखि हाल दैनिक सवारी व्यवस्थापन गर्दै आएका यातायात समितिहरु स्वतः खारेज हुँदैछन् । यो अवस्थामा अब सार्वजनिक सवारी कसले र कसरी सञ्चालन हुन्छ र गर्छ भन्नेमै अन्योल उत्पन्न भएको छ ।

सार्वजनिक यातायात व्यवस्थापनका लागि ठोस विधि ल्याउनुपर्ने जिम्मेवारी बोकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कानमा तेल हालेर बसेको छ । यति मात्रै होयन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागलाई नेतृत्वविहीन बनाएर सबै काममा आफैं हस्तक्षेप गरिरहेका छन् ।

पानी छोएको निहुँमा कुटपिट गर्नेलाई जेल सजाय


सार्वजनिक धारामा पानी थाप्न गएका बेला पानी छोएको निहुँमा कुटपिट गर्ने दुई जनालाई जिल्ला अदालत महोत्तरीले कैद सजाय सुनाएको छ ।

गत वैशाख २५ मा बर्दिबास नगरपालिका–४ स्थित भप्सी टोलको सार्वजनिक धारामा पानी छोएको भन्दै स्थानीय ३६ वर्षीया बुद्धमाया विश्वकर्मा र उनकी १६ वर्षीया मनिषमाथि कुटपिट भएको थियो ।

कारोबार दैनिकका अनुसार महोत्तरी जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले कुटपिटमा संलग्न दुई जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।

चिकित्सा विधेयक फेरि संसदमा

सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रोपटक बिहीबार संसदमा पेश गर्ने भएको छ ।

शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गराएको विधेयक फेरि पेश गर्न लागिएको कान्तिपुरमा खबर छ ।

राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले विधेयक संसदमा पठाएको हो । यसअघि २०७३ भदौ २९ मा तत्कालीन शिक्षामन्त्री धनीराम पौडेलले विधेयक पेश गरेका थिए । अघिल्लो संसदको अन्तिम बैठक ०७४ असोज २७ गतेसम्म पारित गर्ने प्रयास असफल भएपछि यो निष्क्रिय भएको थियो ।

शेरबहादुर देउवा नेतृत्व सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ०७४ कात्तिक २४ मा अध्यादेश जारी गरेकी थिइन् । संघीय संसदको पहिलो अधिवेशनमा प्रतिस्थापन विधेयक पेश गर्न नसकेपछि केपी ओली नेतृत्वको सरकारको सिफारिसमा पुनः राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन् ।

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

भारतीय राज्यसभामा सदस्यहरुले नेपाली र मैथिलीमा पनि बोल्न पाउने भएका छन् ।

अन्नपूर्णका अनुसार राज्यसभाका सभापति एम बेंकैया नायडूले मंगलबार उक्त जानकारी दिएका हुन् ।

संसदको आगामी मनसुन सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौ सूचीमा समावेश सबै भाषामा बोल्न पाइने नायडूले बताएका छन् ।

आठौं सूचीमा समावेश २२ भाषामध्ये कुनै पनि भाषामा बोल्न पाइने उनले स्पष्ट पारेको अन्नपूर्णमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment