Comments Add Comment

रजिस्ट्रारलाई कुटेको आरोपमा उपकुलपतिमाथि छानविन शुरु

चोरबाटो प्रयोग गरेर विदेश जाने खोजेको सरकारी आरोप

२८ असार, काठमाडौं । सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाटै पक्रेर बालुवाटारमा अपमानजनरुपमा थुनेको प्रकरण यतिबेला चर्चामा छ । यो प्रकरणले सरकारको चर्को आलोचना वौद्धिक समुदायले गरिरहेको छ ।

तर, उपकुलपति कोइरालासहित संस्कृत भाषासँग असम्बन्धित व्यक्तिहरु सरकारलाई झुक्याएर ‘चोरबाटो’ हुँदै क्यानडा जान खोजेको सरकारी पक्षको दाबी छ ।

सरकारले संस्कृत विश्वविद्यालय प्रशासनसँग क्यानडा जाने टोलीको कागजात, कार्यक्रमको उद्देश्य, निमन्त्रणा, र भ्रमण स्वीकृतिसम्बन्धी प्रक्रियाका सबै कागजात मागेपछि ‘चोरबाटो’ प्रयोग गरिएको बालुवाटार स्रोतले बतायो ।

उपकुलपति कोइरालालाई विमानस्थलबाट फिर्ता गराएर बालुबाटार पुर्‍याइएको घटनाले सरकार विवादमा परेपछि विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले भ्रमण कार्यक्रमको विवरण मागेको स्रोतले जनाएको छ ।

विश्वविद्यालयको आर्थिक प्रशासन नियमअनुसार उपकुलपतिले विदेश भ्रमण गर्दा अनिवार्य रुपमा कुलपतिको स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, कोइरालाको भ्रमणबारे कुलपतिलाई मात्र होइन, भ्रमण व्यवस्था मिलाउने अन्यसरकारी निकायलाई पनि छलिएको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।

उपकुलपति कोइरालालाई सरकारले विमानस्थलबाटै पक्राउ गरे पनि उनीबाहेक अन्य ६ जना प्राध्यापक तथा उप–प्राध्यापकहरु भने यसअघि नै क्यानडा पुगिसकेका छन् ।

३५ लाख रुपैयाँ अर्थबाट स्वीकृत भएको होइन

उपकुलपति कोइराला रोकिए पनि क्यानडामा हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भन्दै काशीराज न्यौपाने, प्रेमराज न्यौपाने, नवराज, कट्टेल, लेखप्रसाद निरौला, गणेश घिमिरे र केशव कोइराला टोरन्टो पुगिसकेका छन् ।

उपकुलपतिसहित कसैको पनि भ्रमण स्वीकृत विश्वविद्यालय कार्यकारी परिषदबाट नभएको शिक्षाध्यक्ष रमेशप्रसाद ढकालले बताए । उनले अर्थ मन्त्रालयबाट ३५ लाख रुपैयाँ निकासा स्वीकृत पनि नभएपछि सरकारलाई छलेर बाह्य बाटोबाट क्यानडा जान खोजेको प्रतिक्रिया दिए ।

विश्वविद्यालयका रेक्टर, रजिस्टारलाई समेत थाहा नदिई शिक्षा मन्त्रालयमा बोधार्थका रुपमा भ्रमण स्वीकृतिको पत्र दर्ता गराएर उपकुलपति कोइराला कुलपति र सहकुलपतिसँग सम्पर्कविहीन भएको ढकालले बताए ।

शनिबार क्यानडा उड्न लागेको थाहा पाएपछि प्रधानमन्त्री कार्यालयले कोइरालासँग सम्पर्क गराउन आफूलाई भनेको र उनले सम्पर्क नगर्न जवाफ दिएको रेक्टर ढकालले बताए ।

उनले भने, ‘उपकुलपतिज्यूले विश्वविद्यालयका धेरै अनियमितता गरेकाले आफैं डराएर कुलपतिसँग भेट्न चाहनु भएन । अवैधानिक बाटो प्रयोग गर्न खोज्दा त्यस्तो घटना भयो ।’

भिसामा चोरबाटो

उपकुलपतिसहित संस्कृत विश्वविद्यालयका प्राध्यापकहरुको विदेश भ्रमणसम्बन्धी सहजीकरण गर्न कुनै पत्र नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारी भ्रमण दलको रातो पासपोर्ट तथा भिसा प्रक्रियाका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित नियोग र निकायका सहजीकरण गर्नुपर्छ । तर, कोइरालासहित सबै व्यक्तिले सीधै डिल्लीस्थित क्यानडा दूतावासबाट भिसा प्रक्रिया चलाएको खुलेको छ ।

स्रोतका अनुसार विश्वविद्यालयको लेटरप्याडमा शुरुमा उपकुलपति कोइरालासहित १८ जनाको भिसा आवेदन दिइएको थियो । त्यसमा केही प्राध्यापकका श्रीमतीको पनि नाम थियो । तर, ६ जनाको मात्र भिसा आएपछि उपकुलपतिले दोस्रोपटक आवेदन दिएर भिसा पाएको स्रोतले जनाएको छ ।

यदि रेक्टरमार्फत् सरकारी प्रक्रियाबाट गएको भए परराष्ट्र मन्त्रालयले रातो पासपोर्ट बनाएर क्यानडा नियोगलाई भिसा नोट लेख्नुपथ्र्यो । सरकार र विश्विद्यालय प्रशासनलाई छलेर विदेश भ्रमणमा जान खोज्दा उपकुलपति कोइराला बुमर्‍याङ परेको टिप्पणी विश्वविद्यालयका शिक्षाध्यक्ष ढकालले बताए ।

भ्रमणमा संस्कृतसँग साइनो नभएका पनि

अन्तर्राष्ट्रिय संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नु थियो भने नेपालकै प्रकाण्ड संस्कृतविज्ञ भनेर चिनिएका प्राध्यापक डा. वेणिमाधव ढकाल, प्रा. श्रीधर मजगैया, प्रा. तथा रजिस्टार कार्तिकेय झा विश्वविद्यालयमै थिए । तर, उनीहरुलाई थाहै नदिई संस्कृत भाषासँग साइनो नभएका व्यक्तिलाई उपकुलपतिले लैजान खोज्दा विश्वविद्यालयभित्रै विवाद भएको थियो ।

हाल सम्मेलनमा गएका ६ जनामध्ये काशीराज न्यौपाने र प्रेमराज न्यौपाने बौद्ध दर्शनका शिक्षक हुन् । त्यस्तै नवराज कट्टेल, लेखप्रसाद निरौला र गणेश घिमिरे नेपालीका शिक्षक हुन् भने केशव कोइराला तन्त्रशास्त्र विज्ञ मानिन्छन् । उपकुलपति कोइराला स्वयं पनि संस्कृतका नभई नेपाली भाषाका प्राध्यापक हुन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा उपकुलपति नियुक्त भएका कोइरालाको कार्यकाल अझै १३ महिना बाँकी छ । उनी त्यसअघि आरआर क्याम्पसमा नेपाली पढाउँथे ।

उपकुलपति कोइरालाले भने प्रधानमन्त्री र शिक्षामन्त्री कम्युनिस्ट भएका कारण आफूप्रति पूर्वाग्रही रहेकाले नियतवश दुःख दिएको बताएका छन् । आफूलाई अनेक आरोप लगाएर छानबिन गर्न खोजिएकाले कुलपतिलाई भेट्नुको औचित्य नदेखेको कोइरालाको भनाइ थियो ।

रजिस्ट्रारलाई कुटपिट गरेको आरोप

यसैबीच, उपकुलपति कोइरालामाथि लागेको अनियमितताको आरोपमा सरकारले छानविन शुरु गरेको जनाएको छ । उनीमाथि रजिस्ट्रारलाई कुटपिट गरेको १३ आंगिक क्याम्पसमा प्राचार्य नियुक्ति ऐनविपरीत गरेकोदेखि लिएर काठमाडौंमा बसेर घरमै विश्वविद्यालय चलाएको लगायतका अभियोग लगाइएको छ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमा भए पनि कोइराला काठमाडौंमै बस्छन् । उनी कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्वअध्यक्ष भएकाले पार्टी काममा बढी सक्रिय हुँदा विश्वविद्यालय लथालिंग अवस्थामा पुगेको रेक्टर र रजिस्ट्रारले कुलपति केपी ओलीलाई जानकारी गराएका छन् । उपकुलपतिमाथिको छानबिन अघि बढेको र अहिलेको विवादले यो नरोकिने प्रधानमन्त्री ओलीले बताइरहेका छन् ।

उपकुलपति कोइरालाले कांग्रेसनिकट कर्मचारी संगठनका अध्यक्ष लगाएर आफूलाई कुटपिट गरेको भन्दै विश्वविद्यालय रजिस्टार कार्तिकेय झाले धेरै पहिले उजुरी गरेको थिए । प्रगतिशील प्राध्यापक संघको ज्ञापनपत्र बुझेर झालाई सो ज्ञापनपत्र हस्तान्तरण गर्न कोइरालाको घरमा गएका बेला ढोका थुनेर कुटपिट गरिएको संगठनका उपाध्यक्ष कृष्ण न्यौपानेले बताए । यद्यपि, यो घटना केही महिना अघिको हो ।

उपकुलपति कोइरालाले भने कम्युनिस्ट सरकारविरुद्ध कांग्रेसले साथ दिएमा आफू ओलीसँग लड्न तयार रहेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

‘ज्ञानेन्द्र शाहसँग लडें, अब ओलीसँग लड्छु’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment