Comments Add Comment

पहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, कोटेश्वर-भक्तपुर चल्ने गाडीहरु ‘डाइभर्ट’

भक्तपुरको जलमग्न सडक । तस्वीर: विकास श्रेष्ठ/अनलाइनखबर

२८ असार, काठमाडौं । अविरल वर्षाको कारण बिभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । भक्तपुर, काभ्रे, चितवन, मकवानपुर, कास्की लगायतका जिल्लामा सडकहरुमा पहिरो र डुबानका कारण सवारी साधन सन्चालनमा समस्या भएको छ ।

वर्षाका कारण डुबान भएपछि भक्तपुर क्षेत्रमा सवारी चाप बढेको छ । हनुमन्ते खोलाको बाढी पसेका कारण भक्तपुरको सल्लाघारी, राधेराधे, सिर्जनानगर लगायतका क्षेत्र डुबानमा परेका छन् । सडक डुबेका कारण राधेराधेबाट जगातीतर्फ चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गरेर गन्तव्य तर्फ पठाइएको छ ।

कोटेश्वर-भक्तपुर सडकमा चल्ने गाडीहरुलाई पेप्सीकोलाबाट डाइभर्सन गरिएको छ । ति गाडीहरुलाई पेप्सिकोला, पुरानो ठिमी हुँदै सल्लाघारीतर्फ पठाइएको छ ।

साना सवारी साधनहरुलाई भने गठ्ठाघरबाट डाइभर्ट गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

काभ्रेको भञ्ज्याङ, कालढुंगा र माम्टीमा पनि लेदो माटोसहितको पहिरो झरेका कारण वीपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।

काभ्रेकै जिरो किलोमा सडकको ग्याबिन तारको बाँध भत्काएर पहिरो खस्दा काभ्रेबाट सिन्धुपाल्चोक जाने-आउने सवारी साधन आज बिहान पौने ९ बजेदेखि बन्द भएको छ ।

काभ्रेको बनेपास्थित पुण्यमती खोलामा आएको बाढीले राजमार्ग डुबेकाले पनि सवारी आवागमन प्रभावित भएको छ । रातिदेखि नै रोकिएका गाडीहरु आज विहानबाट एकतर्फी चलिरहेका छन् । पानीको बहाव कम भएसँगै गाडीहरुलाई एक लेनमा आलोपालो चलाइएको काभ्रे प्रहरीले जनाएको छ ।

काभ्रेको मंगलटारमा पहिरो पन्छाएपछि एकतर्फी गाडी चलाइएको छ ।

वीपी राजमार्गमा पहिरो पन्छाएपछि गाडीहरु चल्न थालेका छन् । तस्वीरः रामसुन्दर आचार्य/अनलाइनखबर

यस्तै मकवानपुरको फाखेल कुलेखानी हेटौंडा सडकखण्ड बिभिन्न स्थानमा झरेको पहिरोका कारण अवरुद्ध छ । सो सडक पूर्णरुपमा प्रभावित भएको मकवानपुर प्रहरीले जनाएको छ ।

सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्गको सिन्धुलीखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।

चितवनको भरतपुर महानगरपालिका २९ स्थित १७ किलोमा अन्दाजी २० मिटर सडक भासिएकाले एकतर्फी गाडी चलिरहेका छन् । पालैपालो सडक पार गराउनुपर्ने भएकाले सवारी साधनहरु केहीबेर रोकिनुपर्ने भएको छ ।

यसैगरी पहिरो झरेका कारण पोखरा-बाग्लुङ सडकखण्ड पनि प्रभावित भएको छ । भूपी शेरचन राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका ५ मा पहिरो खसेका कारण गएरातिबाट पोखरा-बाग्लुङ चल्ने सवारी साधनको आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गएराति ९ बजेबाट अन्नपूर्ण गाउँपालिका ५ को नयाँपुल र गिरिचोकमा पहिरो खसेको छ । उक्त सडकखण्ड अवरुद्ध छ । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो हटाउन समस्या भएको कास्की प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment