Comments Add Comment

प्रधानमन्त्री ओलीलाई मार्सी चामल उपहार !

विवेकशील साझा र कांग्रेसका नेता एउटै मञ्चमा

 २८ असार, काठमाडौं । डा. गोविन्द केसी प्रकरणमा विवेकशील साझा पार्टी र नेपाली कांग्रेसका नेताहरु एउटै मञ्चमा उभिन थालेका छन् । यसै क्रममा आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन आयोजना गरेर प्रधानमन्त्री ओलीलाई मार्सी धानको एक किलो चामल उपहार दिने कार्यक्रम आयोजना गरिएको विवेकशील साझाका नेताले जनाएका छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेस र विवेकशील साझा पार्टीका नेतासमेतको उपस्थितिमा बुधबार साँझ सम्पन्न एक भेलाले सरकारविरुद्ध पेशाकर्मीहरुलाई समेत सडकमा उतार्ने निर्णय गरेको छ ।

बुधबार साँझ नयाँ वानेश्वरको इन्द्रेणी प्लाजामा पेशागत र अधिकारकर्मी संगठनका अगुवाहरुको बैठकले ३ बुँदे सहमतिसहित सडकमा उत्रिने निर्णय गरेको हो । ‘एलायन्स फर गोविन्द केसी’ ले आयोजना गरेको सो भेलाले विहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरी एक किलो मार्सी चामल प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरेको छ ।

‘विवेकशील साझाका नेता प्रकाशचन्द्र परियारले अनलाइनखबरसँग भने- ‘बालुवाटारमा प्रधानमन्त्रीलाई मार्सी धानको चाहमल उपहार दिनुका साथै सडक नाटकसमेत देखाउने कार्यक्रम छ ।’

भेलाले सरकारको ‘अधिनायकवादी’ क्रियाकलाप, डा. गोविन्द केसीको मागप्रतिको उदासीनता र गंगामाया अधिकारीको सत्याग्रहप्रतिको असंवेदनशील चरित्रविरुद्ध नागरिक आन्दोलन गर्नुपर्ने ठहर भेलाले गरेको प्राध्यापक संघका रामेश्वर उपाध्यायले बताए ।

भेलापछि जारी गरिएको विज्ञप्तिमा पेशागत संस्थाहरुको तर्फबाट डा. अभिषेक रन्जन सिंह र विवेकशील साझा पार्टीका ओमप्रकाश अर्यालले हस्ताक्षर गरेका छन् ।

भेलामा नेपाल बार एशोसिएसन, नेपाल प्राध्यापक संघ, चिकित्सक संघ, इन्जिनियर्स एशोसिएसन, नर्सिङ युनियनलगायतका पेशाकर्मी संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । भेलामा कांग्रेसनिकट विभिन्न पेशाकर्मी र मानवअधिकारकमीहरुको समेत सहभागिता थियो ।

यसअघि पेशाकर्मीहरुको साझा सञ्जाल (पापड) मा रहेको नेपाल पत्रकार महासंघ भने यो आन्दोलनमा छैन । महासंघ अरुका एजेण्डामा पक्ष विपक्षमा लागेर नहिँड्ने अध्यक्ष गोविन्द आचार्यले बताए ।

भेलामा कांग्रेस नेता गगन थापा र विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापासहितका नेताको पनि उपस्थिति थियो । नागरिक र पेशाकर्मीको आन्दोलन उठान आफूहरुले सहजीकरण गरेको विवेकशीलका नेता थापाले बताए ।

बुधबार साँझ इन्द्रेणी फुडल्याण्डको कार्यक्रम ‘एलायन्स फर गोविन्द केसी’ले आयोजना गरेको र आफू त्यसमा निम्तो मान्न गएको कांग्रेस नेता एवं सांसद गगन गापाले अनलाइनखबरलाई बताए ।

सांसद थापाले भने- ‘त्यो कार्यक्रम एलायन्स फर गोविन्द केसी’ ले आयोजना गरेको हो र हामी -कांग्रेस र विवेकशील) लाई सहभागिताका लागि निम्तो गरेको हो । खासगरी शनिबार माइतीघरमा हुने विरोध प्रदर्शनमा ऐक्यवद्धता जनाइदिन उहाँहरुले हामीलाई बुधबारको कार्यक्रममा निम्तो गर्नुभएको हो ।’

आगामी शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर्ने एलायन्स फर गोविन्द केसी’ को तयारी छ । यही एलायन्सले विवेकशील साझा र नेपाली कांग्रेसका नेताहरुलाई एउटै मञ्चमा उभ्याउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment