Comments Add Comment

अनेसासको चुनाव र ‘एण्टी नेपाल मुभमेण्ट’

विश्वकपले संसारको ध्यान तानिरहेका बेला नेपाल र विश्वका अन्य देशहरूमा छरिएर रहेका नेपाली साहित्यकारहरूको ध्यान भने यतिबेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को चुनावले तानिरहेको छ ।

प्रत्येक दुई वर्षमा हुने केन्द्रीय कार्यसमितिको चुनावले कार्यसमितिका १२ सदस्यहरू छान्ने भए पनि विशेष बहसमा भने केन्द्रीय अध्यक्षको पद मात्रै आउने गरेको छ । यस वर्ष पनि केही साहित्यकारहरूको केन्द्रीय अध्यक्षका लागि उम्मेद्वारी घोषणासँगै विभिन्न किसिमका टीकाटिप्पणी र बहस चल्न थालेको निकै समय भैसकेको छ ।

अनेसासको एउटा आजीवन सदस्य र मतदाता भएको कारणले चुनावी चर्चा परिचर्चामा सामान्य चासो हुनु स्वाभाविक नै हो । तर, यसपल्ट मेरो ध्यान निकै खिचिएको विषय भनेको अनेसासभित्र देखिएको ‘एण्टी नेपाल मुभमेण्ट’ हो ।

विशेष गरी अनेसासको केन्द्रीय अध्यक्ष पदमा नेपालबाट उम्मेद्वारी घोषणा हुने वित्तिकै त्यसको विरूद्धमा धमाधम चर्चा शुरू भयो । नेपाललाई अध्यक्ष पद दिनुहँदैन, नेपालबाट अन्तर्राष्ट्रिय प्रतिनिधित्व हुन सक्दैन, नेपाललाई भिषा दिँदैन, नेपालबाट अध्यक्ष हुनुभनेको नेपालमै राजदूत राख्नु जस्तै हो, अन्तर्राष्ट्रिय भनेको नेपाल होइन, नेपालमा अनेसासको शाखा हुनु गैरकानुनी हो, नेपालको शाखा खारेज गरिनेछ या गरिनुपर्छ जस्ता विषयले निकै स्थान लियो र लिइरहेको छ ।

यतिले मात्रै नपुगेर उम्मेद्वारी दिने व्यक्तिहरूको विरूद्धमा चरित्र हत्याका हत्कण्डा अपनाएर वदनाम गराई मतदाताहरूको मन भाँड्नेसम्मका कार्यहरू भए । भइरहेका छन् ।

यस विषयमा पछि कुरा राख्ने नै छु, तर पहिले कुरा गरौँ अनेसासको केन्द्रीय हैसियत प्राप्त गर्ने अधिकारबाट रोक्ने तथा यसको सदस्यताबाट नै नेपाललाई खारेज गर्ने भन्ने विषयमा ।

साहित्यमा एण्टी नेपाल मुभमेण्टको वकालत गर्ने मेरा आदरणीय, पुजनीय अग्रज मुर्धन्य साहित्यकारज्यूहरूलाई मेरो पहिलो प्रश्न-यदि नेपालमा अनेसासको शाखा हुनु गैरकानुनी हो, या त विधानसम्मत होइन भने यहाँ शाखा स्थापना भएको दुई दशकभन्दा बढी समयसम्म तपाईँहरूका मुखमा केको पटि्ट बाँधिएको थियो ?

दोस्रो प्रश्नः अमेरिकाको वासिङ्टन डीसीमा दर्ता भएर सञ्चालनमा आएको यो संस्थाको कुन परिभाषाले नेपाल अन्तर्राष्ट्रिय एरेनाभित्र पर्दैन ?
“……. नेपाली भाषा, साहित्य र संस्कृतिले गर्दा हामी यौटै डुङ्गामा जन्मेका हौँ र यौटै द्वीपको यात्रामा छौँ । त्यसैले अनेसास नेपाली डायस्पोरा भनेर समुद्रपारलाई मात्र खोलिएनबरू यो नेपाल, सिक्किम, म्यानमार र भारतका नेपालीसहित अमेरिका, जापान, लण्डन, सिड्नी र केन्या तथा ब्राजिलका नेपालीलाई साझा साधन हुने गरी यो अनेसासको स्थापना गरिएको हो । त्यसैले यसको नाम अन्तर्राष्ट्रिय राखिएको हो” भनेर अनेसासको इतिहासमा उल्लेख छ ।

तर, अनेसासको २७ वर्षको इतिहासमा सन् २००८ देखि १० सम्मको एक कार्यकालमा जापानका कुमार बस्नेत बाहेक सबै समय अमेरिकाबाट मात्रै नेतृत्व भएको देखिन्छ । यसरी यसको नेतृत्व अमेरिकामा मात्रै सीमित राख्नुले यो संस्थालाई अन्तर्राष्ट्रिय भनेर कसरी भन्ने प्रश्न उठ्दै गइरहेको छ । यदि संस्थाको प्रकृति अन्तर्राष्ट्रिय होइन भने यसको प्रस्तावनामा ‘विश्वभर छरिएर रहेका नेपाली जाति, नेपाली भाषा, संस्कृतिको सम्वर्धन, विकास गर्ने…….यो अन्तर्राष्ट्रिय प्रकृतिको संस्था हो’ भन्ने आशयकिन उल्लेख गरिएको ?

तेस्रो प्रश्नः नेपालले अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्न सक्दैन भने नेपाल बाहिर बस्नुहुने तपाइँहरू चाहीँ कहाँबाट आउनुभएको ?

चौथो प्रश्नः अनेसासको केन्द्रीय कार्यसमितिको मुख्य व्यक्तिलाई अरू देशमा हुने कार्यक्रमहरूमा प्रतिनिधित्व गर्न भिषा दिँदैन भने तपाईँ कस्तो संस्थाको प्रतिनिधित्व गर्दै हुनुहन्छ ? २७ वर्षे इतिहास बोकेको अनेसासको हैसियत के ? विश्वले संस्थाको हैसियतलाई हेरेर भिषा दिने हो कि, व्यक्ति हेरेर ?

पाँचौँ प्रश्नः नेपाललाई अध्यक्ष पद दिनुहुँदैन या त यसको केन्द्रीय समितिमा नेपालबाट प्रतिनिधित्व हुनुहुँदैन भने तीन-तीन पटकसम्म वरिष्ठ केन्द्रीय उपाध्यक्ष, केन्द्रीय सदस्य जस्ता पदमा नेपालमा रहेका साहित्यकारहरूलाई किन स्थान दिइयो ? उतिनै बेला यो कुरा बहसमा किन ल्याइएन ?

र, मेरो अन्तिम प्रश्न- नेपालमा रहेका मतदाताहरूको वैधानिकतामाथि उठेको प्रश्नसँग सम्बन्धित छ । यदि नेपालबाट अनेसासको सदस्यता लिनु गैरकानुनी हो भने नेपालमा रहेका नेपालीलाई किन सदस्यता बाँडियो ? ती अवैधानिक सदस्यहरूसँग भोट किन माग्नुहुन्छ ? तपाईँ युरोप र अमेरिकावाहेकका मुलुकमा -युरोप अमेरिकामा हुनुहुनेहरू त कोही नेपाल र्फकनुहुन्न होला सायद ? थोरै समयका लागि विभिन्न कारणले -केही अपवादवाहेक) रहनुहुने महानुभावहरू नेपाल फर्किएपछि अनेसासमा तपाईहरूको हैसियत के ? अनि म र मस्तै नेपालबाट अनेसासको सदस्यता लिएका व्यक्तिहरूको सम्मानजनक विदाईका लागि के गर्दै हुनुहुन्छ ?

स्मरण रहोस्- सन् २०१६ को तथ्याङ्क अनुसार सामान्य नेपालीको औषत वाषिर्क प्रतिव्यक्ति आय ३९२ डलर हो । र, उसले नेपाली साहित्यलाई केही टेवा दिन सक्छु कि भनेर यही आम्दानीबाट आफ्नो गाँस कटाएर शुल्क तिरेर सदस्यता लिएको हो ।

नेपालबाट सदस्यता लिएकाहरूको सदस्यतालाई केन्दि्रकृत गर्ने तर मतदानको अधिकार नदिने भन्ने पनि चर्चा परिचर्चा सुनिएको छ । यदि त्यसो हो भने के तपाईंहरूलाई चाहिएको बेलामा भोट दिनमात्र हामी सदस्य बनेको ? हामीले उम्मेद्वार बन्न नपाउने ? अनेसासको विधानमा यस्तो विभेद कहाँ उल्लेख छ ? एउटै संस्थामा एउटै प्रकृतिको सदस्यता लिएका व्यक्तिहरूमाथि यति ठूलो विभेद गर्न सकिन्छ र उनीहरू चुप लागेर बस्छन् भन्ने कसरी सोच्नुभयो ?

यदि कुनै कुरा विधानसँग बाझिएको भए, गैरकानुनी भए, त्यसको समाधानका पनि न्यायिक प्रक्रियाहरू होलान् । विधानसम्मत निर्णय गरेर सच्याउन सकिएला । चुनावपछि बन्ने कार्यसमितिले जनमतको कदर गर्दै यस्ता कुराहरूको सर्वसम्मत निर्णय लिन सक्छ । नभए त्यही एजेण्डा लिएर पुनः जनमत लिन सक्छ । दुई वर्षसम्म सुतेर बस्ने अनि चुनावको मुखमा आएर यस्ता कुराहरू उठ्नुको कारण के हो ? भनिन्छः जब जब राजनीति धरापमा पर्छÙ साहित्यले त्यसलाई सम्हाल्छ । साहित्यकार भनेका राष्ट्र र राष्ट्रियतालाई शीरमा राखेर दुनियाँलाई खबरदारी गर्ने समुदाय हो । अनि साहित्यकारहरू नै भाँडिने हो भने राजनीतिलाई कसले सम्हाल्छ ?

हुनत राजनीतिक क्रियाकलापबाट कोहीपनि अछुतो रहन सक्दैन । अझ हामी त प्रजातान्त्रिक लोकतन्त्रको अभ्यास गरिरहेको मुलुकका मानिसहरू हौँ । चुनावी प्रतिस्पर्धामा प्रजातान्त्रिक तवरले भाग लिन पाउनु सबैको अधिकार हो । यसको स्वस्थ अभ्यास हुनु अति राम्रो हो । कुन देशको भन्दा पनि कुन व्यक्तिलाई आफ्नो प्रतिनिधि बनाउँदा संस्थाको वृहत्तर हित हुन्छ भन्ने कुरा यसका मतदाताहरूलाई पक्कै थाहा छ । देशकै बुज्रुक, विद्वत समुदाय भनेर चिनिने जगतसँग भोट माग्न तुच्छ र फोहोरी कुराहरूको जालो बिछ्याइरहनु पर्दैन जस्तो लाग्छ । कम्तिमा हामी साहित्यकारहरूले त्यस्ता कुराहरू नगर्दा नै राम्रो हुन्छ होला ।

अब कुरा गरौँ केन्द्रीय कार्यसमितिका पदाधिकारी विशेष गरेर अध्यक्ष पदका दाबेदारहरूका व्यक्तिगत चरित्रका विषयमा । र यो एक महिनाबीचमा लगभग सबैका विषयमा धेरै कुरा सुनिएको छ । सुन्नुभएको छ । ती कुराहरू यहाँ उल्लेख नगर्नु नै ठीक होला ।

तर, यदि यसबीचमा तपाईं उम्मेद्वारहरूका विषयमा भेटमा, छलफलमा, फोनमा, र सामाजिक सञ्जालहरूमा उठेका विषयहरू साँचा हुन् भने आत्मानुभूत गर्नुहोस्, आत्मसमीक्षा गर्नुहोस्, माफी माग्नुहोस् र त्यस्तो गल्ति नगर्ने प्रतिवद्धता जाहेर गर्नुहोस् । यदि ती कुराहरू चिया गफमात्र हुन् भने त्यसको खण्डन गर्ने साहस राख्नुहोस् । संस्थाको प्रतिनिधित्व गर्दैगर्दा व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नु जरूरी हुन्छ ।

कसैलाई विभिन्न प्रकारको प्रलोभन दिएर एक पटक आफ्नो पक्षमा पार्न सक्नुहोला तर सबैको हित हुने राम्रो काम गर्न सक्नुभयो भने सबै सँधै तपाईंहरूकै पक्षमा हुन्छन् । त्यसका लागि आफूलाई अब्बल सावित गर्नुहोस् । सार्वजनिक पद धारण गर्ने व्यक्ति भनेको समाजको नमुना हो, उसले उदाहरणीय काम गर्नुपर्दछ । कति आफ्ना व्यक्तिगत इच्छा आकांक्षालाई तिलाञ्जली दिन सक्नुभएन भने तपाईं सार्वजजिक हितका काम गर्न सक्नुहुन्न । यस्ता कुराहरूलाई मनन गर्नुहोस् र आफूलाई सच्याउनुहोस् ।

हुन त कुनै पनि मानिस दूधले धोएर निस्किएको हुँदैन । सबै मानिसका कमजोरी हुन्छन्, गल्ति गर्छन् । जो आफ्नो गल्तिबाट पाठ सिक्दै अघि बढ्छÙ त्यो अवश्य गन्तव्यमा पुग्छ । तर जो बारबार गल्ति गरिरहन्छ त्यसलाई उसकै गल्तिले ठेगान पनि लगाउँछ । मात्र समय कुर्नुपर्छ । यसो भनेर गल्ति गर्न छुट छ भन्न खोजिएको होइन । सामान्य मानिसका लागि मात्र यस्ता कुराहरू लागू हुन्छन् ।

जब मानिस व्यक्तिबाट उठेर समाज र समुदायका लागि उभिन्छÙ तब उसलाई कुनै पनि प्रकारको गल्ती गर्ने छुट कदापि हुन्न । उसले आफ्नो गल्तिको सजाय भोग्नै पर्छ । छुट दिनु हुँदैन पनि । तर छुट दिनुहुँदैन भन्दैमा सो व्यक्तिको चरित्रमाथि नै प्रश्न उठाउनु, औंला ठड्याउनु भन्दा पनि विधिसम्मत तरिकाले उसलाई हटाउँदा सर्प पनि मर्छ, लठ्ठी पनि भाँचिन्न । त्यो भनेको यस्तै निर्वाचन, या त अनुशासनको कारवाही र जगन्य अपराध नै गरेको भए सोही अनुसारको कानुनी कारवाही गर्न सकिन्छ ।

यसका पनि आ-आफ्नै प्रक्रियाहरू छन् । सोही प्रक्रियामार्फत् काम हुन्छ । अवसर पर्खेर तातेको फलाम चुटे झैँ गर्नुभएन । सार्वजनिक प्रतिनिधि बन्दै गर्दा सबैले व्यक्तिबाट माथि उठ्न सिक्नुपर्दछ ।

अन्तमा, हिजो नेपालमा मात्र केन्द्रित नेपाली जाति आज मानव बसोबास रहेका विश्वका छ वटै महादेशमा फैलिएर रहेका छन् । उनीहरू त्यहाँ बसेर त्यहाँको नागरिकता लिएपनि उनीहरूको पहिचान भनेको नेपाल हो र नेपाली भाषा र संस्कृति हो । नेपाली जाति हुनुको परिचयलाई, आफ्नो पहिचानलाई दीगो राख्ने माध्यम भनेकै नेपाली भाषा, साहित्य, कला र संस्कृति हो, यसलाई समृद्ध बनाए मात्र आफ्नो पहिचान मजबुत र जीवन्त बन्न सक्छ ।

विश्वमा रहेका नेपालीहरूलाई बाँध्ने एउटै मात्र डोरी पनि हाम्रो भाषा, साहित्य कला र संस्कृति हो । यसमा कसैको दुई मत नहोला । यसको विकास, विस्तार र सम्वर्धनमा लाग्नु विश्वमा छरिएर बसेका सबै नेपालीर नेपाली भाषीको दायित्व हो । र, उहाँहरूले प्रवासमा रहेर नेपाली भाषा, कला, संस्कृति र साहित्यको विकास र विस्तारमा पुर्याउनुभएको योगदानलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन । तर जन्मदिने आमालाई नै बिर्सिएर अरूको काखमा मात्र आमाको वात्सल्य खोज्नु त भएन नी Û मुठ्ठी कसेर अञ्जुली कहिल्यै भरिँदैन ।

त्यसैले, नेपाली भएर नेपाललाई नै असक्षम घोषित गर्नेतर्फ लाग्नुभन्दा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने कुरामा एकमत भएर अगाडि बढौँ र सोही अनुरूपको व्यवहार देखाऔँ । अनिमात्र नेपाली साहित्य आकाश फराकिलो बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment