Comments Add Comment

प्रधानमन्त्रीज्यू ! पानीजहाज त पुलमुनि नछिर्ने भो !

सानो, छिर्नेखालको भए पनि छिटो ल्याउनुपर्‍यो- ओली

२८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सिंहदरबारमा सबै मन्त्रालयका सचिव र मन्त्रीहरुलाई एकसाथ बोलाएका थिए ।

हरेक मन्त्रालयले के-कस्ता काम गरिरहेका छन् र कस्ता योजना ल्याएका छन् भनेर बुझ्न प्रधानमन्त्रीले सबैलाई एक ठाउँमा भेला गरेका हुन् ।

मन्त्री र सचिवहरुलाई राम्रोसँग काम गर्ने निर्देशन दिन बोलाइएको बैठकमा प्रधानमन्त्री आफैंचाहिँ ‘राजा-महाराजाको शैली’ मा दुई घण्टा ढीलो उपस्थित भए । मन्त्री र सचिवहरुलाई दिउँसो एक बजे उपस्थित हुन भनिएको थियो । तर प्रधानमन्त्री तीन बजेमात्रै उपस्थित भए ।

एकजना मन्त्री र सचिवका लागि आधाघण्टा समय पनि निकै महत्वपूर्ण मानिन्छ । सबै मन्त्रालयका मन्त्री र सचिवहरुलाई एकसाथ दुई घण्टासम्म कुराउने प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति कतिपय मन्त्री र सचिवहरुले भित्रभित्रै खासखुस टीकाटिप्पणीसमेत गरे ।

नेकपाका एक नेताले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री ओलीले यसरी घण्टौंसम्म कुराउनु एउटा विकृति नै बनिसकेको छ । आफैं समयमा काम नगर्ने प्रधानमन्त्रीले अरुलाई कसरी नेतृत्व गर्ने ?’

यसअघि प्रधानमन्त्री ओलीले बालुवाटारमा प्रचण्डलाईसमेत दुई घण्टासम्म कुराएको एक नेताले बताए ।

मन्त्रालयको बि्रफिङ सुन्न दुई घण्टा ढिलो गरी बैठक कक्षमा छिरेका प्रधानमन्त्री ओलीले बुधबार बेलुका ३ बजेदेखि राति करिब सवा ९ बजेसम्म १४ वटा मन्त्रालयको ब्रिफिङ सुनेका थिए ।

अब बाँकी मन्त्रालयहरुको पनि ब्रिफिङ सुनिसकेपछि मात्रै प्रधानमन्त्रीले आफ्नो निर्देशनात्मक धारणा राख्ने भन्दै बुधबार खासै नबोलेको स्रोतले अनलाइनखबरलाई बतायो ।

स्रोतका अनुसार प्रधानमन्त्रीले बुधबार खासै बोलेनन् । सबै मन्त्रालयको कुरो सुनेपछि उनले बोल्ने बताएका छन् ।

बुधबार प्रस्तुति गर्न बाँकी रहेका मन्त्रालयका सचिवहरुले ती मन्त्रीहरुको उपस्थितिमा आगामी शनिबार दिउँसो ११ बजे सिंहरदरबारमा प्रस्तुत राख्ने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयले जानकारी दियो ।

पानीजहाज छिटो चलाउन निर्देशन

बुधबार प्रधानमन्त्रीले खासै मन्तव्य नराखे पनि विभिन्न मन्त्रालयका सचिवहरुले आफ्नो प्रस्तुती राखिरहँदा प्रश्नोत्तर भने राम्रैसित गरेका थिए ।

यहीक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट प्रस्तुति भइरहँदा पानीजहाज सञ्चालन सम्बन्धी अध्ययन र कार्ययोजना चाँडो ल्याउन प्रधानमन्त्रीले आग्रह गरे ।

अध्ययन गर्न समय लाग्नुका साथै पूर्व-पश्चिम राजमार्गमा बनेका पुलहरु होचा भएकाले त्यहाँबाट पानीजहाज नछिर्ने समस्या रहेको मन्त्री रघुवीर महासेठले बताएका थिए । तर, पुलबाट छिर्नेखालका, सानै आकारका भए पनि पानीजहाज छिटो चलाउनुपर्ने प्रधानमन्त्री बताएका थिए ।

सरकारको स्पिरिटअनुसार पानीजहाजको कार्ययोजना बनाउन ओलीले मन्त्री र सचिवलाई निर्देशन दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment