Comments Add Comment

जारको पानीमा कोलिफर्म, प्रशासनले गर्‍यो सिलबन्दी

२८ असार, पोखरा । फोहोर पानी बजारमा पठाएको सीएम अक्वा वेभरेज कम्पनीको टुडेज पानीको उत्पादनस्थलमा जिल्ला प्रशासनको टोलीले सिलबन्दी गरेको छ ।

टुडेज ब्रान्डको जारको पानीमा कोलिर्फमको मात्रा देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा सिलबन्दी गरिएको सहायक सीडीओ गंगाबहादुर क्षेत्रीले बताए ।

पाँच वटा कम्पनीको पानीको नमूना संकलन गरी प्रशासनको टोलीले अनुगमन तथा सुपरिवेक्षण कार्यालयमा पठाएको थियो ।

कोलिर्फम बाहिरी वातावरणमा रहेको पानी, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइन्छ । यो १ दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो । यदि कुनै पानीमा कोलिर्फम भेटिए, त्यसमा ढलको पानी मिसिएको भनेर बुझ्न सकिन्छ । प्राविधिकका अनुसार कोलिर्फमको मात्रा जति बढी हुन्छ स्वास्थका लागि उति जोखिम रहन्छ ।

उक्त कार्यालय मातहतको प्रयोगशालामा असार २२ मा परीक्षण गर्दा टुडेज ब्रान्डको पानीको १९ लिटरको जारमा कोलिर्फमको मात्रा २७ भेटिएको थियो । उक्त ब्रान्डको १ लिटर बोटलको पानी कोलिर्फमको मात्रा नभेटिएको प्रयोगशालाले जनाएको छ ।

सहायक सीडीओद्वय गंगाबहादुर क्षेत्री, राजेश पन्थी, डीएसपी रवीन्द्रमान गुरुङ, उपभोक्ता मञ्च प्रदेश अध्यक्ष कपिलनाथ कोइरालासहितको टोलीले कम्पनीको जारतर्फको प्लान्टमा सिलबन्दी गरेर सञ्चालकसँग बयानसमेत लिएको छ ।

सीएम अक्वाका प्रबन्ध निर्देशक कपिलकिरण श्रेष्ठ बुधबारै प्रहरीमा हाजिर भएर बयान दिएका छन् ।

यो विषयमा प्रहरीले अनुसन्धान थालिसकेको र आवश्यक प्रमाण जुटाएर मुद्दा प्रक्रिया अघि बढाइने डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

गुणस्तर पूरा गरेेको प्रमाण पेस नगरेसम्मका लागि जारको पानी उत्पादनमा रोक लगाइएको उनले बताए ।

दशकौंअघि बनाइएको पुरानो घरमा पानी उत्पादन उद्योग सञ्चलित छ । उत्पादनस्थलको आसपासमा गाईभैंसीको गोठ छ ।

हिलैहिलो भएको खेतको बीचको थोत्रो घरमा दैनिक ७/८ कामदार पानी प्रशोधन, प्याकेजिङ र बजारीकरणको काममा व्यस्त हुन्छन् । त्यहीं कार्यरत १ कामदारका अनुसार कम्पनी सञ्चालक पानीको अवस्थाबारे जानकारी राख्नै चाहँदैनन् । तेर्सापट्टकिो अफिसमा बसेर हिसाबकिताब राख्छन् ।

तालबन्दी गर्न पुगेको टोलीसँग कामदारले आफूहरुको रोजगारीका लागि पनि कम्पनी बन्द नगरिदिन आग्रह गरेका थिए ।

पोखरा- २५, याम्दीमा ०५४ सालमा सञ्चालनमा आएको उक्त उद्योग २०७४ मात्र दर्ता भएको स्थानीयले बताएका छन् । यसअघि जेठ ९ गते पनि प्रशासनको टोलीले उक्त कम्पनीमा सिलबन्दी गरेको थियो ।

उद्योगमा अत्यधिक फोहोर देखिएको, जार र बोतलसमेत राम्रोसँग सफा नगरेको पाइएपछि अनुगमन टोलीले त्यतिबेला पनि सिलबन्दी गरेको थियो ।

कम्पनीका सिलबन्दी गर्न गएको टोलीसँगै रहेका पत्रकारमाथि प्रबन्ध निर्देशक श्रेष्ठले दूव्र्यवहार गरेका छन् ।

फेवा टेलिभिजनका स्टेसन मेनेजर हेमराज अधिकारीले भिडियो खिच्ने क्रममा नखिच्न भन्दै क्यामेरा नियन्त्रणमा लिने प्रयास गरेका थिए । सहायक सिडिओ राजेश पन्थीले संयमित हुन निर्देशन दिएपछि श्रेष्ठ पछि हटेका थिए ।

पोखरा र आसपासमा खानेपानी प्रशोधन गरी मिनरल वाटरका नाममा बजार पठाउने कम्पनी २ दर्जनको हाराहारीमा छन् ।

तीमध्ये एकादुईले मापदण्ड पूरा गरेका छन् । बाँकी सबैले छलछामै गरेर बजारमा पानी बेचेर मनग्गे आर्जन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment