Comments Add Comment

प्रधानमन्त्रीलाई प्रदीप गिरीको सुझाव- उपकुलपतिसँग ‘तुजुक’ नदेखाउनोस्

लोकतन्त्रमा सरकार डराउँछ, तानाशाहीमा जनता

२८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई दुर्व्यवहार गरेर सरकारले जनतालाई तर्साउन खोजेको बताएका छन् ।

शक्तिशाली प्रधानमन्त्री सामान्य उपकुलपतिसँग तुजुक देखाउन उपयुक्त नहुने गिरीले सुझाव दिएका छन् ।

संसदमा विशेष समय लिएर बोल्दै गिरीले अहिले प्रधानमन्त्रीले तागत नभई गरिमा देखाउने बेला भएको बताए । केपी शर्मा ओली दक्षिण एसियाकै शक्तिशाली प्रधानमन्त्री भएको भन्दै गिरीले संसदमा भने, यो प्रधानमन्त्रीले गरिमा देखाउने बेला हो, कुलप्रसाद कोइरालाजस्तो साधारण नागरिकलाई ताकत-तुजुक देखाउने बेला होइन ।’

क्यानडाको एक सम्मेलन जान लागेका उपकुलपति कुलप्रसाद कोइरालालाई ‘प्रधानमन्त्रीले बोलाउनुभएको छ’ भन्दै प्रहरीले विमानस्थलबाट बालुवाटार पुर्‍याएको थियो । तर, विमान उड्ने समय सकिएपछि उनलाई प्रधानमन्त्री व्यस्त भएको भन्दै फर्काइएको थियो ।

आफूलाई दुर्व्यवहार भएको भन्दै कोइरालाले मानवअधिकार आयोगमा उजुरीसमेत दिउका छन् ।

सांसद गिरीले यदि प्रधानमन्त्रीलाई थाहा नदिई उपकुलपतिलाई दुर्व्यवहार गरिएको भए माफी माग्नुपर्ने बताए ।

‘उहाँको अञ्जानमा यो घटना घट्न गएको छ भने कमसेकम सम्वन्धित व्यक्तिलाई फोन गरेर मलाई दुःख लागेको छ, अफसोच छ भन्नुपर्छ’ गिरीले संसदमा भने, ‘होइन भने हामीले बुझ्नुपर्छ, बुढी मरी भन्ने पीर होइन, बाघ पल्कियो भन्ने पीर हो ।’

लोकतन्त्र एउटा त्यस्तो व्यवस्था हो, जुन व्यवस्थामा जनतासँग सरकार डराउँछ । तनाशाही एउटा यस्तो व्यवस्था हो, जहाँ सरकारसँग जनता डराउँछ ।

संसदमा गिरीले गरेको सम्वोधन

केही दिनअघि समाचारमा आयो, संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन एयरपोर्टबाट फर्काएर ल्याइयो ।

आफू फर्काएर ल्याएको अपमान बोधमा उनले मानवअधिकार आयोगमा एउटा निवेदन दिएका छन् । त्यस निवेदनमा अरु केही लेखेका छैन, मेरो अपमान भयो मात्र लेखेका छन् ।

न कुनै मुद्दा छ, न कुनै कुनै आरोप छ । तिमीलाई प्रधानमन्त्रीले खोज्नुभयो भनेको छ, एउटा डीएसपीले लिएर आएको छ, उनी प्रधानमन्त्रीकहाँ प्रतिक्षारत छन् । एकदम साधारण कुरा हो । यो समाचारका लायक कुरा पनि छैन । आयोगले पनि यसमा धेरै गर्ला भन्ने छैन । तर, साधारण कुराका पछाडि गमेर हेर्नुभयो भने लोकतन्त्रको परिभाषा अन्तरनिहित छ ।

लोकतन्त्र एउटा त्यस्तो व्यवस्था हो, जुन व्यवस्थामा जनतासँग सरकार डराउँछ । तनाशाही एउटा यस्तो व्यवस्था हो, जहाँ सरकारसँग जनता डराउँछ । म दोहोर्‍याएर भन्न चाहन्छु, त्यस गिरफ्तारीले केही गरेन । कतै उड्न आँटेको एउटा साधारण नागरिक, जो उपकुलपति पनि थिए, उनलाई प्रधानमन्त्रीले बोलाएको भनेर ल्याइयो । अरु केही गरिएन । एकछिन राखियो, अनि छाडियो । यो के हो ?

आजभन्दा २ दिनअघि यहाँ गोविन्द केसीबारे छलफल भइरहेको थियो । म बाहिर निस्कँदै थिएँ, एकजना वर्तमान सरकारका वरिष्ठ मन्त्री, हिजोको नेकपा माओवादीका मित्रले भन्नुभयो, ओहो आज संसदमा कस्तो राम्रो दृश्य देखियो । साँच्चै दुईतिरको दृष्टिकोण देखियो ।

म गोविन्द केसीबारे धेरै भन्न चाहन्नँ । गोविन्द केसीले उठाएका सारा सवाल जायज हुँदाहुँदै पनि मैले भन्ने मौका पाउँदा भन्ने एउटा कुरा छ । तर, त्यसदिन संसद विभाजित देखियो । कुनै सदस्य बोल्न उठ्ने वित्तिकै थाहा हुन्थ्यो, के बोल्छ । यो संसद पार्टीको हृवीपअनुसार गोविन्द केसीको पक्षमा र विपक्षमा बाँडिएको देखियो ।

यो प्रधानमन्त्रीले गरिमा देखाउने बेला हो । कुलप्रसाद कोइराला जस्तो साधारण नागरिकलाई ताकत-तुजुक देखाउने बेला होइन ।

म दुईवटा कुरा भन्न चाहन्छु ।

एउटा, संसदका सदस्यहरु पार्टीको सदस्य मात्र होइनौं, सिंगो जनताको विश्वास जितेर आएका छौं । हामी त्यो क्षेत्रको मात्र होइनौं, सिंगो देशको सांसद हौं । विचार गर्नुपर्ने कुरा के छ भने कुलप्रसाद कोइरालाको समस्या, एउटा नागरिकको अपमानको समस्या, अकारण उपकुलपतिलाई बेइजत गरेको समस्या मैले माथि उठाएको प्रश्नको जवाफ हो सरकार जनतासँग डराउँछ वा जनता सरकारसँग डराउँछ ? कुनै उद्देश्य थिएन त्यसको ।

कुनै जमानामा अध्यक्ष प्रचण्डले पशुपतिलाई स्पर्श गर्दा उद्देश्य थियो होला, पुजारी बदल्दा उद्देश्य थियो होला । यो मात्र जनतालाई तर्साउने कुरामा सीमित छ । तर, जनता तर्सिँदैनन् । अहिले तर्साइहाल्ने बेला पनि सम्माननीय, आदरणीय प्रधानमन्त्रीजीको छैन ।

लामो समयसम्म जेल बस्नुभएको, संघर्ष गर्नुभएको, उहाँसँग मेरो पहिलो भेट ०२६/२७ भद्रगोल जेलमा भएको उहाँले बिर्सनुभएको होला तर, मैले बिर्सिएको छैन । उहाँले के बुझ्नुपर्छ भने उहाँ आज दक्षिण एसियाकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ ।

दुनियाँले उहाँलाई हेर्दैछ, कांग्रेस पराजित छ, कांग्रेसले दृष्टता गरे हुन्छ । पराजयमा दृष्टता गर्नु भनेर हामीलाई संसदीय परम्पराले सिकाएको छ । ‘इन्डिफिट डिफाइन’ भनेर संसदीय व्यवस्थाका मर्मज्ञले भनेका छन् ।

तर, विजयमा गरिमा हुनुपर्छ ।

म छातीमा हात राखेर भन्छु, प्रधानमन्त्री ओलीको निस्वार्थ निश्पक्ष मजस्तै शुभाकांक्षी यहाँ छैन । यो प्रधानमन्त्री ओलीलाई पनि याद होला । तर, यो प्रधानमन्त्रीले गरिमा देखाउने बेला हो । कुलप्रसाद कोइराला जस्तो साधारण नागरिकलाई ताकत-तुजुक देखाउने बेला होइन ।

अब यदि प्रधानमन्त्रीले कुनै कारणबस उहाँको स्वास्थ्य ठीक नभएका कारणले कार्य व्यस्तताका कारणले अन्य कारणले उहाँको अन्जानमा यो घटना घट्न गएको छ भने कमसेकम सम्वन्धित व्यक्तिलाई फोन गरेर मलाई दुःख लागेको छ, अफसोच छ भन्नुपर्छ । होइन भने यो सदन र सदनका प्रत्येक सदस्यले यो कुरा बुझ्नुपर्छ बुढी मरी भन्ने पीर होइन, बाघ पल्कियो भन्ने पीर हो ।

अकारण एउटा मानिसलाई फर्काएर ल्याएर ए प्रधानमन्त्री व्यस्त हुनुहुन्छ, तपाई जानुस् भन्न पाइन्न । उनलाई कुनै आरोप दिइएको छैन । प्रशासनिक काममा बाधा गरेको छैन ।

गुटबन्दी छ, हिजो हामीले विश्वविद्यालय चलाउँदा कसरी बाँडेका थियौं थाहा छ । हामीले कलेज बाँडेनौं कि विश्वविद्यालय बाँडेनौं कि तपाईहरु सबै मन्त्री हुनुहुन्छ । त्यहाँ गुटबन्दी पनि होला । माले पनि होलान्, एमाले पनि होलान्, कांग्रेस पनि होलान् र नेकपाका मान्छे पनि होलान् । यदि तिनको बहकाबमा लाग्नु भएको हो भने यो उचित छैन ।

म यहाँ भन्दैछु, व्यक्तिगत इज्जत, स्वतन्त्रता र गरिमाको कुरा गर्दैछु । कानुनले अन्यथा नभनेसम्म एउटा व्यक्तिको अधिकार प्रजातन्त्रमा प्रधानमन्त्रीको सरह हुन्छ । एक व्यक्तिको भोटले सांसद विजयी हुन्छ र संसदमा एक भोटले प्रधानमन्त्रीको विजय हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment