Comments Add Comment

लुका मोडरिक : जो शान्त रहेर उत्कृष्ट बने

२८ असार, काठमाडौं । ‘सबै कुरा ठिकै हो तर हामीले उनीहरुसँग लुका मोडरिक छन् भन्ने बिर्सिएछौं’ इंग्लिस क्लब लिभरपुलका पूर्वखेलाडी साथै अहिलेका फुटबल पण्डित डेभिड थोमसनले इंग्ल्याण्डको पराजयपछि दिएको अभिव्यक्तिले पनि यतिबेला विश्व फुटबलमा मोडरिकलाई कसरी हेरिँदै छ भन्ने प्रस्ट हुन्छ ।

विश्वकप सेमिफाइनलको खेलमा लुका मोडरिककै गल्तीका कारण इंग्ल्याण्डले क्रोएसियाविरुद्ध खेलको पाचौं मिनेटमा नै अग्रता बनायो । तर, त्यसपछि खेलभर मोडरिकले जे गरे त्यसपछि क्रोएसियालाई कमजोर साबित गर्न लागिपरेका बेलायती मिडिया नै उनको तारिफमा उत्रिए ।

सेमिफाइनलमा मात्रै होइन, समूह चरणका खेलदेखि नै क्रोएसियन मिडफिल्ड र विशेष गरी लुका मोडरिकको शैली धेरैले नियालेका थिए ।

अहिले क्रोएसियन फुटबल नयाँ उचाइमा पुगेको छ । आइतबार राति हुने फाइनल खेलमा फ्रान्सलाई पराजित गर्न सके विश्वकप इतिहासमा नयाँ राष्ट्रले विजेतामा नाम लेखाउने छ । यो सबैका पछाडि क्रोएसियन टिमको नेतृत्व गरिरहेका लुका मोडरिकको चर्चा चुलिएको छ ।

रसियाको चम्किला बत्तीमुनि हरियो मैदानमा विश्व प्रतिस्पर्धामा उत्रिरहेका ३२ वर्षे मोडरिकले कुनै समय यो सबै सपनामा पनि देखेका थिएनन् ।

मोडरिक युगोस्लाभियाको जादरमा ९ सेप्टेम्बर १९८५ मा जन्मिएका हुन् । जुन क्षेत्र सन् १९९१ मा स्वतन्त्र भएपछि क्रोएसियामा परेको छ । स्वतन्त्र भएपछि युगोस्लाभिया सर्बिया, क्रोएसिया, स्लोभानिया, मासेडोनिया र बोस्निया एण्ड हर्जगोभिनामा विभाजित भएको हो ।

मोडरिक ६ वर्षको हुँदा सर्बियाका विद्रोहीहरुले उनको घर जलाइदिएर हजुरबुबासहित परिवारका ६ जनालाई मारिदिएका थिए । त्यसैले उनी शरणार्थी रुपमा परिवारसहित बसाइँ जान बाध्य भएका थिए । गाउँबाट नजिकैको बजारमा गएर उनीहरु होटलको कोठा भाडामा लिएर बस्न थाले ।

मोडरिक त्यो समय होटलकै कर्मचारीहरुसँग त्यहाँको पार्कमा फुटबल खेल्ने गर्थे । मोडरिक खेलेको होटलमा रहेका कर्मचारी खुसी मानेर हेर्ने गर्थे ।

मोडरिकको परिवार त्यो समय बसेको कोलोभारे होटलका एक कर्मचारीले एक सयम भनेका थिए, ‘त्यो समय बम पड्किएर होटलमा जति क्षति भएको थियो, त्योभन्दा धेरै मोडरिकले बलले हानेर झ्यालको सीसा फुटाएका थिए । उनी होटलको हलभित्रै पनि हरेक समय फुटबल हानिरहेका हुन्थे ।’

यही फुटबलले उनले क्रोएसियाकै डाइनामो जाग्रेबबाट सन् २००२ मा क्लब फुटबल सुरु गर्ने मौका पाए । त्यहाँबाट लोनमा बोस्निया एण्ड हर्जगोभिनाको जिरेन्स्की क्लबमा २००३ बाट एक वर्ष बिताए । त्यसपछि लोनमा नै उनी २००४ देखि ०५ सम्म क्रोएसियाकै इन्टर जाप्रेसिक क्लबबाट खेले ।

डाइनामो जाग्रेबबाट उनी २००८ मा इंग्लिस क्लब टोटनहृयाम गए । २०१२ मा उनी टोटनहृयामबाट स्पेनिस क्लब रियल मडि्रडमा गए ।
फुटबलमा आˆनो परिचय बनाउँदै गइरहेका बेला उनले २०१० मा भान्जा बोसनिकसँग विवाह गरे । अहिले आठ वर्षका इभानो, पाँच वर्षकी इमा र एक वर्षकी सोफिया गरी उनको तीन सन्तान भएका छन् ।

सन् १९९८ मा पहिलोपटक स्वतन्त्र राष्ट्रका रुपमा विश्वकपमा सहभागी हुँदा नै तेस्रो भएको क्रोएसिया अहिले रसिया विश्वकपमा उपाधि नजिक छ ।

त्यसबीच २००२, २००६ र २०१४ मा पनि विश्वकप खेलेको क्रोएसिया समूह चरणबाटै बाहिरिएको थियो । ‘हामीले क्रोएसियन नागरिकका बारेमा केही बुझ्नु आवश्यक छ । हाम्रो जीवनमा जे-जे कुराहरु भए, जस्तो परिस्थितिबाट हामी गुजि्रयौं त्यसले हामीलाई झनै बलियो पारिदियो । युद्धले हामीलाई जस्तोसुकै परिस्थितिमा पनि आटिलो हुने शक्ति मिल्यो’ मोडरिकले भनेका छन् ।

‘हामीले जे कुरा सोचेका छौं, त्यो सहज छैन । तर, हामीलाई हराउन पनि जति सजिलो सोचिएको छ, त्यति सजिलो भने छैन । यसपटक हामी सक्छौं र सक्षम छौं भन्ने देखाउन आवश्यक छ’ खेलअघि यस्तो भनेका मोडरिक टोलीले साच्चै गरेरै देखाए ।

‘खेलअघि इंग्लिस मिडिया र फुटबल पण्डितले हामीलाई निकै नराम्रो गरी प्रस्तुत गरिरहेका थिए । उनीहरुको नराम्रो विश्लेषणले नै हामीमा झनै उर्जा थपियो । गरेर देखाउनुपर्छ भन्ने लाग्यो’ मोडरिकले बीइन स्पोर्टससँगको अन्तर्वार्तामा भनेका छन् ।

सानोबेलादेखि नै जीवनको महत्व बुझेर हुर्किएका उनी आफूहरु पनि सम्मानको लायक भएको र समान व्यवहार खोजिरहेको बताउँछन् ।

‘मैले फुटबल खेलोस् भन्नका लागि मेरो बुबाले धेरै नै संघर्ष गर्नुभएको छ । मलाई फुटबल एकेडेमीमा पठाउनका लागि धेरै नै पैसा लागेको थियो । आर्मीमा काम गर्नुभएका उहाँले आफ्नो सबै मेहनत मेरै लागि खर्चनुभयो’ मोडरिकले भने ।

‘मानिसहरु मेरो पातलो शरीर हेरेर जति आलोचना गर्थे अहिले उति नै तारिफ गर्दै छन् । सबैले यसले सक्ने रहेछ भनेर बुझेका छन् । त्यो बेला उनीहरु मलाई पि्रमियर लिगसम्म पनि पुग्दैन भन्थे । अहिले हामी विश्वकपसम्म छौं’ मोडरिकले भनेका छन् ।

तपाईंले क्रोएसियाले केही समय अघि पर्यटन प्रबर्द्धनको लागि बनाएको एउटा भिडियो सामग्री हेर्नुभयो भने त्यसमा ख्याउटे अनुहार परेका उनै लुका मोडरिकलाई देख्न सक्नुहुन्छ । अहिले मोडरिक क्रोएसियनका लागि कस्ता स्टार हुन् भन्ने बुझाउन पनि त्यसले मद्धत गर्दछ ।

क्लब फुटबलमा नै रियल मड्रिडबाट ला लिगादेखि चार पटकसम्म च्याम्पियन्स लिग, क्लब विश्वकप, स्पेनिस सुपर कप जस्ता उपाधि जितिसकेका मोडरिकको विश्व फुटबलमा जस्तो स्थान हुनुपर्ने हो त्यस्तो भएको पाइँदैन । फुटबल पण्डितकै रुपमा विश्लेषणमा लागेकालाई नै सोध्ने हो भने पनि उनीहरुसँग मोडरिकको खेलबारे बोल्न धेरै कुरा हुँदैनन् ।

हरेक उपाधि र जितका पछि स्ट्राइकर, कसिलो शरीर भएको स्टार फुटबलरकै विशेष चर्चा भइरहेको हुन्छ । मोडरिकको चर्चाका लागि यहाँ कुनै फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता सञ्जाल पनि बनेको देखिँदैन । उनलाई पछ्याउनेहरुले नै पनि मोडरिक लेखेको १० नम्बर जर्सी खोजे भने भेटाउन सक्दैनन् ।

तर, यसपटक क्रोएसियन टिमका कप्तानले जे जस्तो गरिरहेका छन् त्यसले अवस्था फेरिएको छ । रियल मडि्रडले गएको सिजन च्याम्पियन्स लिग जित्दा महत्वपूर्ण भूमिका निभाएका उनलाई यस वर्ष बालोन डि’ओरको दौडमा पनि हेर्न थालिएको छ ।

उनी भिडभाडमा पनि पास लिन सक्छन्, गोलका लागि उत्कृष्ट पास मिलाइदिन सक्छन्, कठीन अवस्थामा पनि शान्त भएर खेल्न सक्छन्, डिफेन्स लाइनमा झरेर बल बचाउन सक्छन्, अट्याकमा गएर गोल गर्न सक्छन् मोडरिकले खेलमा गर्न नसक्ने के होला त ?

मैदानमा मोडरिकले जति स्पेस पाउँछन् त्यसले विपक्षी टिमलाई हम्मे पारिदिन्छ । सेमिफाइनलमा इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउटगेटले गरेको गल्ती पनि त्यही हो, उनले मोडरिकलाई ठाउँ दिए ।

पेरेसिक र म्यान्जुकिजको गोलमा विजयी बनेको क्रोएसियामा किन मोडरिकको चर्चा भइरहेको छ, त्यसबाट पनि बुझ्न सकिन्छ क्रोएसियन टिममा लुका मोडरिक छन् भन्ने बिर्सिएको भारले नै इंग्ल्याण्ड थिचिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment