Comments Add Comment

संरक्षणसँगै सिन्डिकेटः अशोक दर्जीमाथि एकाधिकार जमाउँदै टंक


मोरङ, उर्लाबारी घर भई हाल जापान बस्दै गरेका मञ्जुल मितेरीले भाइरल ब्वाई गायक अशोक दर्जीको आवाजमा केही समयअघि एउटा गीत रेकर्ड गराएका थिए । गीतको केही अंश यस्तो छः

डिलमा फूलु हिलोमा फूलु, उस्तै मेरो रंग
जहाँ फूले पनि कमलको फूल हो, म छर्न चाहन्छु सुगन्ध
बाढी आउन सक्छ यहाँ, भेल आउन सक्छ
फूल्न नपाई कोपिलामै बगाउन सक्छ, बगाउन सक्छ
म छर्न चाहन्छु सुगन्ध…म छर्न चाहन्छु सुगन्ध…

तर, मञ्जुलले यो गीत रिलिज गर्न पाएका छैनन् । कारण, यो गीत सार्वजनिक गर्नका लागि अशोकलाई सांगीतिक संरक्षण गरिरहेका संगीतकार टंक वुढाथोकीले रोके । टंकले ‘अशोक दर्जीको दोश्रो गीत’ भनेर रिलिज गर्न नपाउने मञ्जुललाई बताएका छन् ।
अनलाइनखबरलाई प्राप्त टंक र मञ्जुलविचको लामो अडियो संवादको केही अंश यस्तो छः

मञ्जुलः मैले उर्लाबारीमा अशोकका लागि ‘अशोक दर्जी प्रतिभा पहिचान’ कार्यक्रम आयोजना गर्दा नै एउटा गीत रेकर्ड गर्छु भनेर बाचा गरेको थिएा । पछि, अशोक पढ्दै गरेको स्कुलका पि्रन्सिपल तथा त्यहाँका पत्रकारसँग सल्लाह गरेर मैले गीत रेकर्ड गरेको छु । तर, तपाइले त्यो गीत सार्वजनिक गर्न मिल्दैन भन्नुभएको छ भन्ने सुने, किन टंक सर ?

टंकः अशोकलाई मैले कसरी अगाडि बढाइरहेको छु भन्ने सबैलाई थाहा छ । मैले अशोकका बाबासँग ५ बर्षका लागि ‘म्यूजिकल्ली’ सम्झौता गरेको छु । तपाईंले कसरी गीत रेकर्ड गराउनुभयो त्यो मलाई थाहा भएन । ‘नेपाल आइडल’को आयोजकले विजेतासँग गर्ने सम्झौता जस्तै सम्झौता मैले अशोकका बाबासँग गरेको छु ।

मञ्जुलः उसो भए हामीले अशोक भाइलाई कुनै अवसर दिन नै नपाइने हो ? हामीले के अशोकलाई चन्दा मात्र सहयोग गर्नुपर्ने ? मेरो लगानी त डुब्यो नी ।

टंकः तपाईंले गीत जसको अनुमतिमा रेकर्ड गर्नुभएको हो, उहाँहरुसँग नै लगानी फिर्ताको कुरा गर्नुहोस् । हामीले कसैलाई घरमै पत्र लेखेर चन्दा मागेका पनि छैनौ । मसँग अशोकको ५ बर्षको सम्झौता छ । तपाइले ‘अशोक दर्जीको दोश्रो गीत’ भनेर सार्वजनिक गर्न पाउनुहुन्न । हामी आफैले दोश्रो गीतको तयारी गरिरहेका छौ ।

मञ्जुलः उसो भए म ‘अशोक दर्जीको गीत’ मात्रै भनेर निकाल्छु नी त ? दोश्रो गीत नभनौला ।

टंकः तपाईंले नभनेर हुन्छ र सर । के न्यूज बनाउँ भनेर बसेका यूटुबरहरुले नै ‘अशोकको दोश्रो गीत सार्वजनिक’ भनेर हेडलाइन्स बनाउँछन् । यदि, गीत कमजोर भयो भने अशोकको क्रेज कम हुँदैन ? उसलाई बल्ल विदेशबाट अफर आउन थालेको छ । यूरोप, अमेरिकाको कुरा भैरहेको छ । उसको क्रेज माइनस भयो भने के हुन्छ ?

मञ्जुलः उसो भए, म के गरौ त टंक सर, आइडिया दिनुहोस् तपाई नै ?

टंकः तपाइको गीतको प्रोजेक्ट मलाई पठाउनुहोस् । हाम्रो टिमले सुन्छ, त्यसलाई राम्रो बनाउन सकिन्छ भने म बनाउँला । अनि पछि समय मिलाएर सार्वजनिक गरौला ।

०००
जब अशोक दर्जीलाई उर्लाबारीका एक युट्यूबरले इन्टरभ्यू लिएर भाइरल बनाए, त्यसपछि उनको प्रतिभालाई अगाडि ल्याउने सल्लाह भयो । उर्लाबारीमा ‘अशोक दर्जी प्रतिभा पहिचान कार्यक्रम’ आयोजना गरियो ।

अशोक दर्जीलाई उर्लाबारीकै एक बोडिङ स्कूलले १२ कक्षासम्म निशुल्क पढाइदिने सहमति गर्‍यो र अशोक स्कुल जान थाले । सोही समयमा नै मञ्जुलले गीत रेकर्ड गराइदिने बाचा गरेका थिए । तर, स्कुल जान थालेको २ दिनपछि अशोकलाई डीजे रुपकले काठमाडौं लिएर आए र टंक बुढाथोकीको जिम्मा लगाए । टंकले भाइरल भैसकेका अशोकलाई आफ्नै स्टूडियोमा लगेर गीत रेकर्ड गराए । अशोकको कम, टंकको आवाज धेरै भएको ‘मन विनाको धन ठूलो’ गीत एकाएक चर्चित बन्यो र अशोकको चर्चा झन् चुलियो ।

उनलाई भाइरल बनाउन यूटुबरहरुको पनि ठूलो हात छ । अशोक भाइरल भएसँगै टंकले आफ्नै युटुब च्यानलमा अशोकले खाएका, हिँडेका, प्लेन चढेका, नुहाएका, साथीसँग कुरा गरेका, कुनै कलाकार भेटेका, गाउँ गएका भिडियो लगातार अपलोड गर्दै आएका छन् ।

परिक्षा छुटाएर काठमाडौं ल्याइयो
अशोकको अहिले परिक्षा चलिरहेको छ । यूकेजीमा अध्ययनरत अशोकको परिक्षा चलिरहँदा टंकले उनलाई काठमाडौ ल्याएका छन् । व्याथल इजुकेशन बोडिङ स्कूलका पि्रन्सिपल दिपक न्यौपानेले अनलाइनखबरसँग भने-‘यूरोपका लागि प्रक्रिया अगाडि बढाउनुछ, उसको परिक्षा छुट्दैन भन्दै टंकजीले अशोकलाई लैजानुभयो । तर, २ वटा परिक्षा उसको छुटिसकेको छ । अशोक काठमाडौमा नै छन् ।’

अशोकको परिक्षा छुटाएर किन काठमाडौ ल्याउनुभएको भन्ने प्रश्नमा टंकले भने-‘यूरोप टुरका लागि स्पोन्सरले प्रक्रिया अगाडि बढाउन भनेपछि मैले काठमाडौं ल्याएको हुँ । उसले परिक्षा फेरि दिन्छ ।’

टंकले यूरोप र अमेरिकाका लागि टूरको कुरा भए पनि कुन मितिमा हुन्छ भन्ने पक्का नभएको बताए । अशोकपछि टंकले उनका बुवाआमालाई पनि काठमाडौं ल्याए । टंक र दिपकले अशोक काठमाण्डौ गएको कुरा मिडियामा नभन्ने सल्लाह गरेका थिए । तर, अशोक काठमाडौंमा पुग्ने बित्तिकै टंककै युटुब च्यानलबाट अशोकका बा-आमा प्लेन चढेको, उनको स्टूडियोमा पुगेर अशोकलाई भेटेको भिडियो अपलोड भएको छ ।

दिपक भन्छन्-‘मिडियामा खबर गर्दा हल्ला बढी हुन्छ भनेर हामीले परिक्षा सकेर काठमाडौं लैजाने र भोलिपल्ट अर्को परिक्षामा सहभागी हुने गरी बोडिङमा हाजिर गराउने कुरा गरेका थियौं । तर, टंकजीले त पुरै भिडियो नै अपलोड गरिदिनुभएछ । त्यसो नगरेको भए हुन्थ्यो ।’
यता, टंक वुढाथोकी भने अशोक दैनिक रुपमा के गर्दैछन्, उनका लागि के कस्ता काम भैरहेका छन् भन्ने जानकारी उनका फ्यानहरुले लिन चाहने भएकाले भिडियो अपलोड गरेको बताउँछन् ।

अशोकका पि्रन्सिपल दिपकले अशोकका दिदी र बहिनी, उनका साथी भूइकटर र उनकी बहिनीलाई पनि आफूले निशुल्क पढाउन लागेको बताए । तर, अशोकले पढाइमा बढी ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।

घर निर्माणमा पनि किचलो

उर्लाबारीबाट करिब ७ किलोमिटर भित्र ५ लाखमा जग्गा किनेर टंकले अशोकका लागि ४ कोठाको घर बनाउने काम गरिरहेका छन् । घर निर्माण समितिका संयोजकमा छन्, पूर्ण वाइवा । अहिले, बाहिर प्लास्टर भैरहेको, टिन लगाउने तयारी भैरहेको वाइवाले जानकारी दिए ।
तर, वाइवा टंकप्रति असन्तुष्ट देखिएका छन् । उनका अनुसार ५ लाखको जग्गा किनिसकिएको छ भने र १० लाख जतिमा घर बनिसक्छ । तर, टंकले घर बनाउने पैसा समयमा दिन आनाकानी गरेको उनले बताए ।

‘टंकबाट पैसा नपाएपछि आफैले ५ लाख जति हालेर घर निर्माण अघि बढाएँ । पछि, थोरै-थोरै गरेर मेरो पैसा फिर्ता भएको छ । अझै, १ लाख ३० हजार लिनु छ,’ वाइवाले भने ।

उनले आक्रोशित हुँदै भने-‘टंकसँग माग्यो भने दीपक सरलाई दिएको छु उतै माग्नुहोस् भन्छन् । दीपकलाई भन्यो भने अर्को मान्छेसँग माग्नुहोस् भन्छन् । मैले ५० हजार मात्र दिएको भनेर स्टाटस लेख्दा टंकले मलाई गाली गर्दै स्टाटस लेखे । पछि मसँग माफी पनि मागे ।’

वाइवाले भने-‘पैसा कसरी आएको छ, कति आएको छ केही थाहा छैन । यदि, म नभएको भए यो घर नबन्ने पक्का थियो ।’ वाइवाले अगाडि भने-‘मैले त टंकको व्यवहार देखेर, बाल श्रम शोषणको मुद्दा हालिदिन्छु समेत भनेको थिएँ ।’ उनले आफूहरुको मिसन नै अशोकको घर बनाउने रहेको भन्दै धेरै कुरा सहेर काम गरेको बताए ।

तर, संगीतकार वुढाथोकी भने आफूले नियमित रुपमा पैसा दिएको बताउँछन् । उनले भने, ‘वाइवाजीलाई फेरि सोध्नुहोस्, मैले वारम्बार पैसा पठाएको छु ।’

टंक भन्छन्ः अशोकको भविष्य सुरक्षित गर्छु
टंकले आफूले अशोकका बुबासँग ५ बर्षका लागि ‘म्यूजिकल्ली एग्रिमेन्ट’ गरेको भन्दै अरुले गीत नै रेकर्ड गराउन नपाउने भन्ने नभएको बताए । तर, आफूले त्यो गीतलाई राम्ररी सुनिसकेपछि मात्र दिने वा नदिने निर्णय गर्ने उनको भनाई छ ।

‘५ बर्षको लागि सम्झौता गरेको छु, मभन्दा राम्रो काम गराउन सक्ने व्यक्ति आएर अशोकको जिम्मा लिएको खण्डमा कुनै पनि समय सम्झौता तोड्न तयार छु,’ टंक भन्छन् ।

अशोकले विदेशमा गीत गाएर कमाएको पैसा के हुन्छ भन्ने प्रश्नमा टंकले भने-‘उसको एउटा रेट छ, मेरो एउटा रेट छ । हाम्रो रेट अनुसार काम भएमा अशोकको पारिश्रमिक पूर्णरुपमा उसको खातामा राखिदिनेछु । उसको खाताबाट ब्याज मात्र झिक्न मिल्ने व्यवस्था मिलाउँछु ।

अशोकको घर मात्र होइन, उसको परिवार लामो समयसम्म चल्ने आधार पनि बनाउनुपर्छ । अशोकले कमाएको पैसा अशोकको नै हुन्छ ।’
टंकले आफ्ना छोरा एआर र अशोकसँग आफ्नो आवाजमा दोश्रो गीत रेकर्ड गर्ने कुरा भए पनि अहिले त्यसको तयारी नभएको बताए ।

ट्रोलको शिकार बने टंक
यूट्यूवमा भाइरल भएपछि गायक तथा संगीतकार टंक वुढाथोकीले अशोकलाई काठमाडौमा ल्याएर गीत रेकर्ड गराए । साथै जिर्ण आर्थिक अवस्थाका अशोकको परिवारका लागि घर निर्माणको पहल पनि गरे । यसका लागि उनले धेरैको स्यावासी पाइरहेका छन् ।

अर्कोतर्फ अशोकको साथ लिएर टंकलाई पनि फाइदा पुगिरहेको छ । उनको लोकप्रियता बढेको छ र देश-विदेशमा स्टेज शोका अफरहरु पनि अत्यधिक आउन थालेका छन् । तर, टंकले आफ्नो यूट्यूव च्यानलमा अशोकका स-साना गतिविधिहरुको पनि भिडियो पोष्ट गर्दा भने ट्रोलको शिकार हुनु परेको छ । अत्यधिक ट्रोल भएपछि टंकले एक स्टाटस राख्दै ट्रोलरहरुलाई साइबर क्राइममा तान्ने चेतावनी पनि दिएका छन् । उनले आफ्नो कमजोरी महसुस भने गरेका छैनन् ।

अशोक कलिलो माटो हुन् । उनलाई जस्तो शैलीमा पनि ढाल्न सकिन्छ । उनलाई अहिले गायनसँगै पढाइको पनि खाँचो छ । अशोकको भविष्यको जिम्मेवारी लिएका टंकले उनको पढाईलाई प्राथमिकतामा राख्नुपर्छ । साथै संगीतमा अशोकले सिक्न बाँकी कुराहरु सिकाउँदै जानुपर्छ ।

उनको क्रेज छोटो समयमै सिमित राख्ने कि लामो समयसम्म भन्ने जिम्मा टंकको हो । अशोकको प्रतिभालाई लामो समयसम्म टिकाइराख्न जरुरी छ । जसका लागि टंकको एकाधिकारभन्दा पनि संरक्षणको आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment