Comments Add Comment

बुद्धमायाको आत्महत्या प्रयास : अदालतले न्याय दियो, सामाजले दिएन

पीडितकी छोरी भन्छिन् : मुद्धा हालेको भन्दै समाजले दबाव दियो

२८ असार, महोत्तरी । पानी छोएको निहुँमा कुटिएकी बर्दिवासकी बुद्धमाया बिश्वकर्माले अदालतबाट न्याय पाइन् ।

जिल्ला अदालतले कुटपिटमा संलग्नेलार्इ कैद सजाय सुनाएको छ भने पीडित बुद्धमाया र उनकी छोरीलार्इ ५० हजार क्षतिपूर्ति दिन आदेश दिएको छ । तर, अदालतले फैसला सुनाएको केही दिन ३५ वर्षे बुद्धमायाले आत्महत्या प्रयास गरेकी छन् ।

मुद्धामामिला गरेको भन्दै समाजले लगातार दबाव दिन चालेपछि उनले आत्महत्या प्रयास गरेकी हुन् ।

वैशाख १६ गते वर्दिवास नगरपालिका-४ स्थित सार्वजनिक धारामा पानी थाप्न जाँदा बुद्धमाया र उनकी १६ वर्षीया छोरी मनिषा बिश्वकर्मामाथि कुटपिट भएको थियो । कुटपिटमा संलग्नलार्इ ६ महिना जेल र १० हजार जरिवानाको फैसला भएको छ ।

तर, त्यसको दुई दिनपछि आत्महत्या प्रयास गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिवासले भने बुद्धमायाले घरायसी कारण बिष सेवन गरेको जनाएको छ ।

तर, छोरी मनिषाले भने घटनामा अदालतबाट न्याय पाइसक्दासमेत समाजमा अपहेलित हुनुपरेको आमाले बिष सेवन गरी आत्महत्याको प्रयास गरेको बताएकी छन् ।

उनका अनुसार प्रहरीमा जाहेरी दिएदेखि किन मुद्धा मामिला गरेको भन्दै मिल्न दबाव दिइएको थियो । अदालतले फैसला गर्दासम्म गाउँमा मान्छेहरु बोल्नै छाडेको भन्दै मनिषाले अदालतबाट न्याय पाए पनि गाउँ समाजबाट न्याय नपाएको मनिषाले बताइन् ।

गम्भीर भएकी बुद्धमायाको बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचारमा भइरहेको छ । उनको अवस्था अहिले सुधारोन्मुख रहेको हस्पिटलले जनाएको छ ।

जातीय छुवाछुतको घटनामा समाजिक न्याय नपाउँदा महिलाले बिष सेवन गरी आत्महत्याको असफल प्रयास भएको दलित अधिकारकर्मी मिन रहपालले बताए । अदालतले फैसला गरे पनि घटनाको प्रकृति हेर्दा बुद्धमायाले सामाजिक न्याय नपाएको कारण र समाजिक दबाव थेग्न नसकेर बिष सेवन गरेको देखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment