Comments Add Comment

क्रोएसियासँग हारे पनि हाम्रो शीर उचो छः हृयारी केन

काठमाडौं । इंग्ल्याण्ड फुटबल समर्थकले फ्रान्ससँगको विश्वकप फाइनल सोचिसकेका थिए । उपाधि घर आउने भयो भनेर उत्साहित भइरहेका बेला एक गोलको अग्रता जोगाउन नसकेर इंग्ल्याण्ड क्रोएसियासँग २-१ ले पराजित भयो ।

पराजय धेरैलाई विश्वास गर्न कठीन भइरहेको भए पनि उनीहरु यसपटक इंग्ल्याण्ड फुटबलले सफलता पाएको सम्झेर खुसी छन् । समूह चरणमा बेल्जियमसँगको अन्तिम खेल हारेर तुलनात्मक रुपमा सजिलो बाटोमा पुगे पनि इंग्ल्याण्डले फाइनलमा स्थान बनाउन सकेन ।

क्रोएसियाविरुद्ध खेलमा पाँचौ मिनेटमा नै टि्रपिएरले बनाएको अग्रता इंग्ल्याण्डले जोगाउन सकेन । क्रोएसियाका लागि ६८ औं मिनेटमा पेरेसिक र १ सय ९ औं मिनेटमा म्यान्जुकिजले गोल गरेर जिताए ।

‘यसपटक हामीले विश्वकपमा देखाएको प्रदर्शन राम्रै भएको छ’ २४ वर्षका कप्तान हृयारी केनले फिफासँग भनेका छन्, ‘यसपटक हामीले नकआउट खेल जित्न सक्छौँ भन्ने देखियो । हामी सेमिफाइनलमा पुग्न सक्छौँ भन्ने देखियो । हामीले टाइब्रेकरमा जित्न सक्छौँ भन्ने देखियो ।’

उनले गएको केही वर्षदेखि आफूहरुले गरेको मेहनत मैदानमा देखिएको पनि बताए । आफूहरुले जे उपलब्धी पाए त्यसमा गर्व रहेको पनि उनको भनाइ छ । ‘अब अगाडि पनि हामीले हाम्रो राम्रो खेललाई निरन्तरता दिनु पर्छ । हामीले जे पायौँ त्यसमा गर्व छ तर, अझै राम्रो गर्ने आश भने छ’ उनले भने ।

‘विश्वकप कठीन खेल हो । हामीले निकै राम्ररी मेहनत पनि गरेका थियौँ । अझै राम्रो गर्ने केही ठाउँ भने थियो । हारपछि केही समय निकै दुःख लाग्यो । तर, हामीले शीर उचो राख्ने काम पनि गरेका छौँ’ केनले भने ।

इंग्ल्याण्डले समूह चरणमा ट्युनिसियालाई २-१, पानामालाई ६-१ ले हराएको थियो भने बेल्जियमसँग १-० ले हारेको थियो । अन्तिम १६ मा कोलम्बियासँग १-१ को बराबरीपछि टाइबे्रकरमा ४-३ ले विजयी भएको इंग्ल्याण्डले क्वाटरफाइनलमा स्वीडेनलाई २-० ले हराएको थियो ।

सन् १९६६ मा विश्वकप जितेको इंग्ल्याण्ड १९९० मा इटालीमा भएको विश्वकपमा पनि सेमिफाइनलमै वेस्ट जर्मनीसँग पराजित भएको थियो । २८ वर्षपछि सेमिफाइनलमा पुगेको इंग्ल्याण्ड टोली रसियन भूमिमा क्रोएसियासँग स्तब्ध बन्यो ।

६ गोल हानेर गोल्डेन बुटको प्रमुख दाबेदार बनेका हृयारी केन पनि सेमिफाइनल खेलमा क्रोएसियासँग निरिह देखिए ।

यो सबैका बीच पनि प्रमुख प्रतियोगितामा इंग्ल्याण्ड टिमले देखाएको खेलको तारिफ भने भइरहेको छ । युवा खेलाडीको टोलीमा भविष्यलाई लिएर आश बढेको छ ।

समूह चरणमा पानामालाई ६-१ को अन्तरमा हराउँदा इंग्ल्याण्ड फुटबल इतिहासकै सबैभन्दा प्रभावशाली जितको कीर्तिमान पनि यसै पटक बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment