Comments Add Comment

आजका पत्रपत्रिकाः मान्छेले खोला मिचे, खोलोले मान्छे

हनुमन्ते खोला अनियन्त्रित हुँदा भक्तपुरमा मानवीय संकट


२९ असार, काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा अविरल वर्षापछि आएको बाढी र त्यसले पुर्याएको क्षति परेको छ । पत्रपत्रिकाहरुले विविध शीर्षक दिएर भक्तपुरलगायत देशका विभिन्न स्थानमा भएका क्षतिबारे लेखेका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले ‘अव्यवस्थित सहरीकरणले विपद्’ शीर्षकमा ब्यानर समाचार लेखेको छ । अव्यवस्थित सहरीकरणले कुलो, नहर एवं ढल निकास नहुँदा भक्तपुर जलमग्न भएको अन्नपूर्णको समाचारको सार छ ।

भक्तपुर डुवानलाई ब्यानर समाचार बनाएको कान्तिपुरले पनि अन्नपूर्णले जस्तै नदी अतिक्रमणले भक्तपुर डुबेको लेखेको छ ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ । यसलाई पनि आजका पत्रपत्रिकाहरुले नछुटाइकन लेखेका छन् ।

यसका अतिरिक्त आजदेखि देशभरका चिकित्सक हडतालमा उत्रिएको, मन्त्रालयमै डाकेर गृहमन्त्रीले डाक्टरलाई केरकार गरेको, नेकपाले २ हजार बढीको जम्बो केन्द्रीय परिषद् बनाउन लागेको लगायत समाचारले पनि उत्तिकै प्राथमिकता पाएका छन् ।

मान्छेले खोलो मिचे, खोलोले मान्छे

भक्तपुरमा अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो धन–जनको क्षति पुर्याएको छ । एकै परिवारका ३ जनाको मृत्यु भएको छ । वस्तीहरु जलमग्न हुँदा खाद्यान्न र लत्ताकपडा भिजेर बिजोग भएको छ ।
नयाँ पत्रिका दैनिकका अनुसार, यो २५ वर्षयताकै ठूलो बाढी हो । ०५० मा हनुमन्ते खोलामा बिहीबार बिहानको जत्तिकै बाढी आएको मध्यपुर ठिमी नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीलाई कोट गर्दै नयाँ पत्रिकाले खबर लेखेको छ ।

पछिल्लो समय राज्यको नीति अभावले खोलामा समेत बस्ती विकास भएको छ । यही कारण हनुमन्ते खोला अनियन्त्रित हुँदा भक्तपुरमा विनाश भएको छ ।

खोलाको बहाव परिवर्तन गर्नु, खोला नै मिचेर भौतिक संरचना ठड्याइनुजस्ता मानवीय त्रुटि भक्तपुरको हनुमन्ते खोलामा भएको जानकारहरु बताउँछन् ।

खोलाको घर साँघुर्याएपछि पानीको बहाव थेग्न नसकेको र नाघेर बस्तीतिर छिरेको प्रशासकीय अधिकृत ज्ञवाली बताउँछन् । हनुमन्ते खोला नगरकोटदेखि बग्ने र बिहीबार डुबेको खोला करिडोलाई लो–ल्यान्डका रुपमा वर्गीकरण गरेर नगरपालिकाले घर बनाउन नक्सा नै पास नगर्ने गरेको उनको दाबी छ ।

अब लेखापरीक्षण नगर्नेको नाम तोकेरै कारबाही

महालेखा परीक्षकको कार्यालयले अबदेखि लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि तोकेरै काबराहीको सिफारिस र्गे भएको छ ।

कारोबार दैनिकका अनुसार प्रतिनिधिसभामा पेश गरिएको महालेखा परीक्षण विधेयकमा लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि तोकेरै कारबाहीको सिफारिस गर्न प्रस्ताव गरेको हो । जसअनुसार अबदेखि लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि व्यक्ति नै किटेर कारबाहीको लागि सिफारिस हुनेछ ।

सम्बन्धित कामको जिम्मेवारी तोकिएका पदाधिकारी वा व्यक्तिलाई महालेखापरीक्षकले विभागीयलगायत प्रचलित कानूनबमोजिमको कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने बुँदा प्रस्ताव गरिएको छ ।

प्रचण्डको निर्वाचन क्षेत्रमा डेढ अर्बको आयोजना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ मा डेढ अर्ब रुपैयाँबराबरको दुई आयोजना निर्माणका लागि सम्झौता भएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य आयोजनाका लागि सम्झौता भएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ढल निर्माण कार्यअन्तर्गत भरतपुृर महानगरपालिकामा रिङरोड बनाइने भएको छ । प्याकेज १ को सम्झौता गत १५ असार र प्याकेज २ को सम्झौता २६ असारमा भएको हो । दुवै प्याकेजको काम ०७७ असार मसान्तसम्म सक्ने सम्झौतामा उल्लेख छ ।

लेन मिच्नु भो ? घरमै फोन आउँछ !

तपाईं सडकमा सवारी गुडाउँदा कसरी गुडाउनुहुन्छ ? लेनको पालना गर्नुहुन्छ वाव हुन्न ? तर अब सवारी चलाउँदा लेन मिचियो अथवा लेन अनुशासन पालना गर्नुभएन भने होस् गर्नुस्, तपाईंको घरमै फोन बज्नेछ ।

ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना कम गर्न र सवारी चालकलाई अनुशाषित बनाउन भन्दै उपत्यकामा लेन अनुशासनको पालनामा कडाइ गरेको राजधानी दैनिकमा खबर छ । यसका लागि महाशाखाले उपत्यकाका विभिन्न स्थानमा सर्भिलेन्स भेइकल राखेको छ ।

मन्त्रालयमै डाकेर चिकित्सकलाई ‘केरकार’

वीर अस्पतालको ट्रमा सेन्टरमा कर्यारत डा. भोजराज अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले मंगलबार मन्त्रालयमा झिकाएर भनेअनुसार काम गर्न अनुचित दबाव दिएको कान्तिपुरमा खबर छ ।

गृहमन्त्रीको आदेश भन्दै अधिकारीलाई लिन गाडी पठाइएको थियो । सरकारी चिकित्सक संघले अपहरणको शैलीमा गृह मन्त्रालय लगिएको भन्दै आपत्ति जनाएको छ ।

ट्रमा सेन्टरका चिकित्सकहरुले स्वास्थ्य जाँचपछि दिने रिपोर्टका आधारमा द्वन्द्वकालका घाइतेहरुको वर्गीकरण हुँदै आएको छ । घाइतेहरुको अपांगताका आधारमा सरकारले भत्ता र सरकारी सेवामा आरक्षणलगायतका सुविधा दिने गर्छ । प्रत्येक पाँच वर्षमा घाइतेहरुको स्वास्थ्य परीक्षणपछि उनीहरुको वर्गीकरण तलमाथि गर्ने गरिन्छ । जसका आधारमा उनीहरुले पाउने भत्तासमेत घटीबढी हुनेगर्छ । यस्तो रिपोर्ट बनाउँदा आफूले भनेअनुसार गर्नका निम्ति गृहमन्त्रीका सल्लाहकार पथिकले अधिकारीलाई अनुचित दबाव दिएको कान्तिपुरको समाचारमा उल्लेख छ ।

र, याे पनि– ऐँसेलु बेचेरै करोड आम्दानी

ऐंसेलु जंगलमा फल्छ । बटुवा वा गोठालोले टिपेर खाएमात्र यसको खपत हुन्छ नत्र झरेर जान्छ । अहिलेसम्म नेपालमा यसको व्यावसायिक खेती भएको सुनिएको छैन ।

कारोबार दैनिक लेख्छ– तर ऐँसेलु बेचेर यो सिजनको २ महिनामा भने एकै गाउँका कृषकले १ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

संखुवासभा टुटेको मकालु वाइन इन्डष्ट्रिजलाई ऐँसेलु बिक्री गरेर उनीहरुले करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन् । वाइनलाई थप स्वादिलो बनाउन कच्चा पदार्थको रुपमा ऐँसेलु प्रयोग हुन्छ ।

लालीगुराँस नगरपालिका सुङनामका पुन्य तिम्सिनाले २ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको बताए । त्यसका क्षेत्रका सोल्मा, सुङनाम, सन्सारे, वसन्तपुर, फुलेक, दागपा, काटेलगायतका बासिन्दाले ऐँसेलु बिक्री गरेर ५० लाखभन्दा बढी भित्र्याएको बताउँछन् ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment