Comments Add Comment

शौचालयमा महिला विभेदः चिसो कमोटमा कसरी बस्ने ?

एक हातले शौच, अर्को हातले मोबाइल !

स्वास्थ्य मानवका लागि जति पौष्टिक एवं सन्तुलित आहारको आवश्यकता पर्दछ, त्यसैगरी शौचका लागि निश्चित अनि सुरक्षित स्थानको त्यति नै जरुरी छ । यी दुबै एक अर्काका पर्यायवाची हुन् भन्दा फरक नपर्ला । हामी हाम्रो घरमा होस् वा बजारमा होस् वा धार्मिकस्थलहरुमा होस् वा विद्यालयहरुमा होस् वा जहाँ भए पनि वा जहाँ गए पनि त्यहाँ शौचालय छ कि छैन भनेर आँखा चारैतिर घुमाउँछौ र देखिएन भने तुरुन्त सोध्छौं अनि ढुक्क हुन्छाैं । शौचालयको अवस्था कस्तो छ ? पानीको व्यवस्था छ कि छैन ? सबै सोध्ने गर्दछौं ।

दिसा पिसाब रोक्ने र पछि गरौंला भन्न सकिँदैन र लागेपछि गई हाल्नुपर्ने हुन्छ, भनिरहनु परेन । यदि रोकेर राख्ने अवस्था आएमा यसले शरीरमा अनेक प्रकारका अप्ठेरो आउन सक्छ अथवा यसले गर्दा शरीरमा अनेक प्रकारका रोगहरु लाग्न सक्छन् । यो पनि सबैलाई थाहा नै छ । त्यसमा पनि शौचमा विशेष गरी पिसाब फेर्दा महिला र पुरुषको शारीरिक बनोटको कारणले गर्दा तरिका फरक हुन्छ । जस्तो-महिलाले बसेर नै फेर्नुपर्ने हुन्छ भने पुरुषले बसेर वा उठेर दुबै गर्न सक्दछ । तर, अधिकांश पुरुषहरु पिसाब फेर्दा प्रायः उभिएर नै गर्दछन् । हामी जहाँ जे- जसरी, जस्तो अवस्थामा हुन्छौं त्यहाँ आवश्यकता पर्दा त्यहीँ नै शौच गर्नुपर्ने हुन्छ । घरमा, कार्यालयमा, सार्वजनिक स्थानमा, लामो यात्राको समय बाटोमा, जहाजमा अथवा जहाँ हाम्रो उपस्थिति रहन्छ, त्यहँ हामीलाई शौचालय आवश्यक पर्छ ।

अब प्रश्न उठ्छ- यसको प्राथमिकता र अभ्यास यी तत् स्थानहरुमा कस्तो छ त ? घरमा महिला पुरुष दुबैका लागि प्रायः एउटै हुन्छ वा भनौं साझा हुन्छ । घरका सदस्यहरुले यसलाई व्यवस्थित गरेका हुन्छन् । डेरामा बस्नेका लागि भने एउट कोठा, एक फ्ल्याट वा पूरा बंगला लिनेको फरक-फरक हुन्छ । जस्तो- एउटा कोठा मात्र लिएको छ भने चर्पी साझा हुन सक्छ, अरुको छुट्टाछुट्टै ।

सबै सरकारी कार्यालयहरु, अस्पताल, विद्यालय, पार्टी कार्यालयहरु, कल कारकाखाना, विश्वविद्यालया वा सार्वजनिक स्थानहरुमा अनिवार्य महिला र पुरुषका लागि छुट्टाछुट्टै चर्पीको व्यवस्था गर्नुपर्ने नेपाल सरकारले नियम लागू गरिसकेको छ । त्यसैले लागू भएको हुनुपर्ने हुन्छ । तर, पनि फरक क्षमता भएका व्यक्तिहरु, तस्रो लिंगीहरुका लागि भने शौचालय छुट्टै छैन ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, दूतावासहरु र संयूक्त राष्ट्र संघहरुमा त सबै मैत्री शौचालयको व्यवस्था छ । अहिले देशैभरी स्थानीय निकायहरु, गाउँ गाउँ र टोल टोलमा खुला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लहर नै आएको छ । सरकारसित मिलेर गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु पनि यसमा लागिपरेका छन् । खुला दिशा पिशाबबाट लाग्न सक्ने रोगहरुबाट जोगिन र जोगाउन व्यापक काम भै रहेको छ । प्रदेश सरकारले पनि यसमा प्राथमिकता दिएको पाइन्छ । जे होस देशैभरि तराई, पहाड र हिमाल सबै क्षेत्रहरुमा कार्यक्रम सञ्चालन भैरहेका छन् । यसले व्यापकता पाएको छ । प्रभावकारिता कत्तिको छ, त्यो अर्को कुरा हो ।

शौचालय जति आवश्यक छ, त्यो भन्दा बढी यसलाई सफासुग्घर पारी चुस्तदुरुस्त राख्नु त्यति नै जरुरी हुन्छ । नत्र यो नै रोगको मूल कारणहरु हुन सक्छ । हामी पिसाब फेर्न जाँदा, फेरि सकेपछि पानी हाल्नु अनिवार्य पर्छ भन्ने धेरैमा पटक्कै बानी छैन वा चेत छैन । आफू सफा नगर्ने, अनि चर्पी जाँदा फोहोर पाएमा को हो यस्तो कति फोहोर पारेको भन्दै निस्कने । कस्तो दोमुखे बानी, अचम्म लाग्छ मानिसहरुको बानी देख्दा । पानी चर्पिमै हुन्छ तर एक लोटा पानीले आफूले फेरेको पिशाब वा दिशा राम्ररी पखाल्ने दायित्व सम्झँदैन ।

यति मात्र हैन, पुरुषहरुले पिशाब फेरिसकेपछि हात धुनेहरु त झन् नगन्य नै छन् । जुन हातले पिशाब फेर्नमा प्रयोग गरेको हुन्छ, त्यही हातले दाँत नाक कोट्याउँछन् । उसलाई थाहा नै हुँदैन कि के गरें, भन्ने कुरा । यो त अर्को देख्ने व्यक्तिले मात्र थाहा पाउन सक्दछ ।

लामो यात्रामा जाँदा बाटोमा खाना ठिकठाकै हुन्छ, तर शौचालय गई सक्नु हुँदैन । बाहिरबाट नै दुर्गन्ध आउँदछ । भित्र छिर्दा सास फेर्न गाह्रो हुन्छ । चर्पी अनिवार्य सफा राख्नु पर्नेमा न यात्रु, न व्यवसायी, न सरकार कोही पनि गम्भीर देखिँदैनन् । सम्बन्धित निकायले काँही कतैबाट अनुगमन र कारबाहीहरु गरेको अहिलेसम्म मैले थाहा पाएको छैन । यो क्षेत्र कसैको पनि प्राथमिकतामा परेको देखिँदैन ।

बसमा यात्रा गर्दाको पीडा झन् भनिसक्नु छैन । बसले पाँच मिनटका लागि बाटो छेउमा रोक्दा खुला स्थानमा शौच गर्नुपर्छ भने चारैतिर पुरुषहरु छरिएर शौच गर्न थाल्दछन् । महिलालाई कतै जाने ठाउँ नै हुँदैन । अथवा आपत परेपछि आँखा चिम्लेर अघि बढ्नुपर्छ । जो बिरामी छन्, गर्भवती वा दुधे बच्चा काखमा छ वा असक्त विरामी छन् भने उनीहरुको सम्वेदनशीलता र आवश्यकता माथि नै खिल्ली उडाएझैं लाग्छ । न बसका कर्मचारीले बिचार गरेका हुन्छन् न यात्रु ले नै । मानौं कोही पनि यो अवस्थाबाट गुजि्रनु नै परेको छ ।

बाटो हिँड्दा पनि पुरुषहरु जुनसुकै अवस्था -पैदल, साइकल, मोटरसाइकल, चारपांग्रे, आठपांग्रे वा बाह्र पांग्रे) का भए पनि पिँठ्यू  फर्काएर सुरु गरे भैहाल्यो जोसुकै आवोस्, जसले देखोस्, त्यसमा मतलब छैन । अझ त्यसमाथि एक हातले मोबाइलमा गफ पनि भैराखेको हुन्छ भने अर्कोले शौचको काम । पानी पनि चाँहिदैन, कस्तो बिडम्बना !

रह्यो गैरसरकारी, निजी संघ सस्थाहरु, व्यवसायिक कार्यालयहरु, कलकारखानाहरु, सार्वजनिक स्थानहरु, स्थानीय, जिल्लादेखि राजधानीसम्मका निकायहरुको हालतमा खास फरक पाइँदैन । यदि साझा शौचालय छ भने जहिले पनि महिलाले नै समस्या झेल्नुपर्दछ । कहिले यो महिलाका लागि पनि हो भन्ने सोचअनुसार व्यवहार गरिँदैन । त्यसमा महिला जाँदा प्यान बस्न लायक हुँदैन र भुइँमा नै गर्न बाध्य पारिन्छ ।

अझ भन्ने गरिन्छ तिमीहरु एक दुईजना छौ, के को छुट्टै शौचालय । जसले भनेको छ उ पनि त एकजना नै हो भन्ने हेक्का किन नभएको ? के सबै एकैपटक त जाने हैन नि, पालै पालो त हो । शौचालयमा पस्दा नाक थुन्नुपर्दछ भने आफुले पनि आफुनो फोहोर आफै सफा गरे अर्को व्यक्तिलाई समस्या हुने थिएन । अझ त्यसमा बसेर गर्ने छ भने त ठिकै छ, तर कमोट छ तर चारैतिर चिसो पारेको छ भने त्यसमा महिला कसरी जाने ? शौच पनि स्वतन्त्र अनि सफा स्थानमा निर्धक्क गर्न पाइँदैन भने अरु त के को सुबिधा होला र खै ? सबै कागजी घोडाहरुमात्र त होलान् ।

अब त सार्वजनिक स्थानहरुमा वा बसवालाहरु र अन्यलाई संघीय र प्रादेशिक साथै स्थानीय सरकारका प्रतिनिधिहरुले अनिवार्य यस सम्बन्धी कडा कानून, निर्देशन र निगरानीको व्यवस्था गर्नुपर्दछ । कमसेकम बिरामी, अपाङ्ग, बृद्धबृद्धाहरु, र महिलाहरुलाई कति गाह्रो हुन्छ त्यो सबैले महसुस गर्न सकुन् । नियमहरु पालना नगर्नेलाई, अटेर गर्नेलाई कडा दण्ड जरिवाना गरिहाल्ने व्यवस्था होस् । पटकपटक नियम उल्लंघन गरे नीजलाई कारवाही गर्ने व्यवस्था भए केही सुधार हुन्थ्यो कि ? नत्र महिलालाई अवसर दिएको, अधिकार दिएको छ भन्ने केबल कागजमा मात्र छ भन्दा फरक पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment