Comments Add Comment

वीरगञ्जमा भेटियो दुनियाँमै दूर्लभ मानिने खाना नलीको टिबी

२९ असार, वीरगञ्ज । दुनियाँमा विरलै मात्र देखिने स्वास्थ्य समस्याको रुपमा रहेको खाना नलीमा हुने टिवी रोगी वीरगञ्जमा फेला परेका छन् ।

एक विरामीको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा कार्यरत पेट रोग विशेषज्ञ डा. राकेशकुमार झाले उनको खानो नलीमा टिवीको संक्रमण भएको पत्ता लगाएका हुन् ।

आफूकहाँ उपचारका लागि आएका एक व्यक्तिमा विश्वमै एकदमै कमै मात्र देखिने स्वास्थ्य समस्याको रुपमा रहेको खानाको नलीमा हुने टिवी फेला परेको डा. झाले बताए ।

बाराको जितपुर सिमरा नगरापलिकाको मनहर्वा घर भएका ४७ वर्षीय ती पुरुष विरामीमा पल्मोनरी र एक्स्ट्रा पल्मोनरी दुवैखाले टिबी देखिएको उपचारमा संलग्न चिकित्सक डा झाको भनाइ छ ।

‘छातिमा टिबी भएपछि समयमै उपचार नभएको खण्डमा आन्द्रामा संक्रमण फैलनुलाई सामान्य मानिन्छ, तर खानाको नलीमा फैलने एकदमै कम अपवादमा मात्रै हुन्छ । विश्वमा समग्र टिवी रोगीहरु मध्ये ०.३ प्रतिशत मात्रै खानाको नलीमा टिवी भएको पाइन्छ,’ उनले भने, ‘बिरामीको इन्डोस्कोपी गर्दा खानाको नलीमा घाउ देखियो, त्यसपछि शंका लागेर एक्सरे, भिडियो एक्सरे र छालाको जाँच गर्दा खानाको नलीमासमेत टिवीका किटाणु भेटियो ।’

खानाको नलीमा टिबीको संक्रमण देखिएका विरामीहरुमा पेट दुख्ने, खाना खाँदा निल्न गाह्रो हुने, ज्वरो आउने, वाकवाकी हुने, तौल कम हुने जस्ता लक्षण देखिने गरेको छ ।

टीबी रोग लागेका विरामीहरुले खकार निल्ने गर्दा विभिन्न स्वास्थ्य समस्याहरु देखिने गरेको चिकित्सकले बताएका छन् ।

यसरी खानाको नलीमा भएको टिभीको संक्रमण नेपालमै पहिलोपटक पत्ता लागेको हुन सक्ने दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment