Comments Add Comment

नेपाली दम्पत्तिले गरे ११ महिने छोराको मिर्गौला दान

सांकेतिक तस्वीर

२९ असार, चण्डिगढ । एक नेपाली दम्पत्तिले आफ्नो ११ महिने छोराको अंग दान गरेका छन् ।

उनी भारतको चण्डिगढस्थित पोस्ट ग्राजुयट इन्सटिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च (पिगिमर)को अंग प्रत्यारोपण इतिहासमा सबैभन्दा कम उमेरका दाता बन्न पुगेका छन् ।

नेपालबाट आएका लक्ष्मण र गीता दम्पत्ति चण्डिगढमा बस्छन् । गत जुलाई ७ मा उनीहरुका ११ महिनाको छोरा प्रितम झोलुंगोमा खेल्दाखेल्दै अचानक तल खसेका थिए । टाउकोमा गम्भीर चोट लागेर उनी बेहोस भए ।

परिवारले उनलाई तुरुन्तै सरकारी अस्पतालमा पुर्‍याए । तर, त्यहाँका डाक्टरले पिगिमरमा रिफर गरिदिए । जुलाई ७ मै उनलाई पिगिमरमा भर्ना गरएको थियो ।

डाक्टरहरुले प्रितमलाई जगाउने अथक प्रयास गरेपनि सफल भएनन् र उनलाई भेन्टिलेटरमा राखियो । ‘जब डाक्टरहरुले म र मेरी पत्नी गीतालाई बोलाए, हामी दुवैलाई तत्काल थाहा भयो कि खबर सुखद थिएन,’ बालकका बाबु लक्ष्मणले भनेका छन्, ‘आफ्नो कर्मलाई बाहेक हामी कसैलाई दोष दिन चाहँदैनौं ।’

डाक्टरहरुले प्रितम नबाँच्ने बताइसकेपछि उनीहरुले छोराको मृत्युलाई यसै खेर जान दिएनन् । ‘हामीले छोराको अंग दान गर्ने सोच बनायौं, ताकि हामीजस्तै विपत्तिमा रहेका कुनै बाबुआमाको आँखामा खुशी भर्न सकियोस्,’ लक्ष्मणले भने ।

बाबुआमाको सहमतिपछि प्रितमको मिर्गौला झिकेर एक वयश्क व्यक्तिमा प्रत्यारोपण गरिएकाे डेली पायोनियरले लेखेको छ । । सुरुमा उनको एउटा मिर्गौला अर्को बच्चालाई हाल्ने योजना बनाइएको थियो, तर म्याच भएन । त्यसैले दुवै मिर्गौला एकै व्यक्तिमा प्रत्यारोपण गरियो । दाता परिवारप्रति आभार व्यक्त गर्दै पिगिमरका निर्देशक जगत राम भन्छन्, ‘यो मानवता र आत्म बलिदानको उच्चतम उदाहरण हो ।’

अस्पतालका अनुसार एक वर्षभन्दा कम उमेरको बच्चाको अंग दान गर्दा उसको २४ घन्टाको अन्तरालमा उसको ‘ब्रेन डेथ’ भएको दुईपटक निश्चित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment