Comments Add Comment

छापामा आजः पाठ्यक्रममा नारायणमान, बोको चढाउने सर्तमा सडक निर्माण !

३० असार, काठमाडौं । केन्द्रीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरु अनशन र चिकित्सकहरुको आन्दोलनका विषयमा केन्द्रित छन् । शनिबार भएकाले केहीले आज गहन एवं खोजमूलक सामग्री पस्केका छन् ।

वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले अनशन तोडेकोलाई आजका सबै दैनिक पत्रिकाहरुले पहिलो पृष्ठमा ‘कभरेज’ गरेका छन् । गंगामाया द्वन्द्वकालमा हत्या गरिएका आफ्ना छोराको हत्यारालाई कारबाही गर्नुपर्ने माग राखेर ४८ दिनदेखि वीर अस्पतालमा अनशन बसेकी थिइन् । सरकारले माग पूरा गर्ने वचनबद्धता जनाएलगत्तै उनले अनशन तोडेकी हुन् ।

१५ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीले अनशन तोड्न नमानेको र उनको समर्थनमा त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेकोलाई पनि आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् ।

यसका अलावा कर्णालीका ४ जिल्लाका ३०७ गाउँ असुरक्षित रहेको, सरकारको राहत वितरणमा मनपरी गरिएको लगायत खबरहरुले पनि पहिलो पृष्ठमा स्थान पाएका छन् ।

पाठ्यक्रममा नारायणमान बिजुक्छे

भक्तपुर नगरपालिकाभित्रका विद्यालय पुग्नुभयो भने तपाईंका लागि ६ कक्षामा भइरहेको पढाइले ध्यान तान्ने छ । भक्तपुरमै जन्मिएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको व्यक्तित्वबारे कक्षा ६ का विद्यार्थी सिकिरहेका हुनेछन् ।

तत्काल पुग्नुभयो भने शिक्षकसँग पाठ्यपुस्तक हुनेछैन । भक्तपुर नगरपालिकाले फ्रेममा राखेर दिएको बिजुक्छेको तस्वीर देखाएर विद्यार्थीहरु चिन्दै हुनेछन् ।

राजधानी दैनिक लेख्छ– अलि पछि चाहिँ पाठ्यपुस्तकमै उनको जीवनी पढ्न पाइनेछ । जीवनी लेखनकै चरणमा रहेकाले अहिले बिजुक्छेसहित भक्तपुरका विभिन्न विधाका १५ व्यक्तित्व स्थानीय पाठ्यक्रमका सिकाइका विषय बनेका छन् । सबैका तस्वीर भने भक्तपुरका ९२ वटै विद्यालयमा पुगिसकेका छन् ।

भक्तपुरका विद्यालयमा बिजुक्छेसहित राष्ट्रिय छवि बनाएका नेतादेखि स्थानीय तहमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिलाई भक्तपुर नगरपालिकाले पाठ्यक्रममा समेटेको छ ।

बोको र भाले चढाउने सर्तमा सडक र ढल निर्माण

सुन्दा पत्याउन कठिन हुन्छ तर यहाँ बोको र भाले चढाउने सर्तमा सडक र ढल निर्माण हुँदैछ ।

गोरखापत्र दैनिकका अनुसार सिमकोट गाउँपालिका–६ को लादेबाडादेखि कालीचोकसम्मको ढल तथा चार मिटर चौडा सडक निर्माणको मुखैमा देउताको पूजा गर्ने (थान) परेपछि कर्मचारीदेखि कामदारहरुले काम गर्नै मानेका थिएनन् । सहमतिपछि अहिले निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ ।

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी र इन्जिनियर सरोज भण्डारीदेखि दक्ष मिस्त्रीहरुले पनि त्यस स्थानमा निर्माण अगाडि बढाउन मानेनन् । देउताको पूजा गर्ने ठाउँमा क्षति पुर्याए त्यस कामसँग सम्बन्धित मान्छेको राम्रो नहुने सुनाएपछि उनीहरु डराएको समाचारमा उल्लेख छ ।

देउवताको डरले काम रोकिने चिन्तामा रहेका ठेकेदार पनि बोको र भाले चढाउन तयार भएका छन् । अब साउनमा ठेकेदारले देउतालाई बोको र भाले चढाउनुपर्ने भएको छ ।

माथिल्लो कर्णालीका चार जिल्लाका ३ सय ७ वटा बस्ती असुरक्षित देखिएका छन् । कर्णाली विकास आयोगले गरेको अध्ययनमा हुम्लामा ७०, मुगुमा ४०, जुम्लामा ८९ र कालिकोटमा १०८ वटा वस्ती असुरक्षित भेटिएको नयाँ पत्रिकामा खबर छ ।

चार जिल्लामा १ हजार ४ गाउँ छन् ।

बाढी, पहिरो, हिमनदी, भिरालो जमिन बस्ती असुरक्षाका प्रमुख कारण हुन् । कतिपय बस्ती भने उत्पादनको कमीका कारणले पनि सानुपर्ने अवस्था छ ।

सिमकोट तल्लो गाउँ हवाईजहाजको आवतजावत तथा पहिरोका कारणले असुरक्षित छ ।

सुरक्षा मामिला विश्वविद्यालयको तयारी

सरकारले रक्षा र सुरक्षा मामिला अध्ययनका लागि छुट्टै विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढाएको छ । विकसित मुलुकहरुमा यस्तो अध्ययन हुने भए पनि नेपालमा नभएको भन्दै स्थापनामा जोड दिइएको रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै कान्तिपुर दैनिकले खबर लेखेको छ ।

आरम्भमा नेपाली सेनाले नेसनल डिफेन्स कलेज (एनडीसी) स्थापना गर्न सरकारसमक्ष प्रस्ताव राखेको थियो । तर सरकारले सुरक्षा कूटनीतिलगायत राष्ट्रिय सुरक्षासम्बन्धी थिंक ट्यांकका रुपमा अघि बढाउने प्रक्रिया रक्षाले छलफलमा ल्याएको छ ।

सिंहदरबारभित्र बन्दै मुख्यसचिवको क्वार्टर

सरकारले सिंहदरबारभित्रै मुख्य सचिवको आवास (क्वार्टर) बनाउने योजना अघि सारेको छ ।

मुख्य सचिवको अध्यक्षतामा संघीय संसद् सचिवालयका महासचिव, प्रधानसेनापति, शहरी विकास मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिवलगायतको किमिटी गठन गरिएको छ ।

नेपाल समाचारपत्रले स्रोतलाई उद्धृत गर्दै लेखेको छ– सिंहदरबारभित्रै ३ वटा ठाउँलाई सम्भावित क्षेत्र सिफारिस गरिएको छ ।

हेर्नुस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment