Comments Add Comment

भोक, शोक र रोगले परलोक हुनेका जिन्दगीको ब्यथा ‘सैपालको आँगन’

कविता समाजकै प्रतिबिम्ब र प्रतिछाया हो । समाज, संस्कृति, रीतीथीती र कतिपय प्रथा परम्पराहरु गद्य वा पद्य सिर्जनाका स्थायी स्रोत हुन् । यस्तै स्रोतलाई आफ्नो काव्यिक सिर्जनाको जननी बनाई सुदूरपश्चिमको व्यावहारिक जीवनमा प्रयोग हुने अनेक विम्ब प्रयोग गरेर सम्रग देश र विश्वले भोगेको गरिव र धनीको खाडल नापेका छन्, कवि हेमन्त विवशले आफ्नो कविता सङ्ग्रह ‘सैपालको आँगन’मा । कविले ‘हली’ भन्ने कवितामा भू–दासको झैं जीवन जीउन बाध्य हुने वर्ग साथै सामाजिक विभेद र छुवाछुत जस्ता कलंकका विषय पनि समेटेका छन् । गरिब घरका बूढाबूढी जाडो मौसममा अगेना वरिपरि खुम्चेर गुन्यु ओड्दै सुत्नेबेलाको संवाद समेटेका छन् ।

बूढी, हामीले त गुन्यू ओढ्यौं
गरिब के ओढ्लान्

गरिवको पीडा गरिबले मात्रै बुझ्छ । गुन्यूको ताल ओडेर हिउँदका रातको गुजारा गर्नेले अर्को गरिवको पीडा आफ्नै मालामा गाँसेका छन् । यी हरफलाई खोतलेर अनगिन्ती भाव र अर्थ खोज्न सकिन्छ ।

यस्तै हली–२ मा कविले हलीले मालिकलाई गर्ने सामान्य संस्कार जो पुस्ताको नासो जस्तै भइसकेको हुन्छ र मालिका छोरा छोरी प्रविधिसंग जुध्ने भए तर हलीको हालत कहिलै नफेरिएको जहाँ निरन्तर पाखुरा र पिडुँलाको मासु खियाइरहनु पर्ने व्यथा पोखेका छन् । यस्तै ’बहिर्गमन’ मा बितेको समयसँग साक्षात्कार होइन, पश्चाताप गरेको पाइन्छ । ‘दुई घडी रात’ मा असीमित दुःखका वर्षा देखिन्छ ।

खप्टिएका थिए, दुःखका चोयाहरु,
हृदयको छेउछाउमा उनी थप्छन्
गरिबको जिन्दगी

कतै मसंगै बसाइँ सारे कि जुन तार पनि ? यहाँ गरिवीले सताएको जीन्दगीमा नपर्ने निन्द्रा र आउने जिन्दगीको यादको गहिरो भाव पोखेका छन् कविले ।

यसरी भूमरी भित्रको मन कवितामा कविले असाध्यै गहिरा शोक, भोक र रोगले चिरा चिरा परेको जिन्दगीको अनगिन्ती अभाव आफैंले आफैलाई हिनता बनाएको जिन्दगीको चित्र कोरेका छन् र लेख्दछनः

‘दाताले दिएको एन्टिरेट्रोको गोली
पटुका भित्र लुकाउदै…
सेती किनारमा गिट्टी कुटिरहेकी
दुइ जीउको विधुवाको एकोहोरो हेराइले !

यो कवितामा स्खलित मानव सभ्यताको विषयमा प्रश्न उठाइएको छ । विधुवा कसरी दुई जीउकी हुन सक्छिन् ? कि त पराइको पेट बोकेर कुनै कथित तल्लो जात भनी समाजले पगरी थमाइ दिएको वर्गकी महिला हुनु पर्छ । कि त लोग्नेको कुनै अमुख कारणले परलोक भइसकेको हनुपर्छ ! हेमन्तका कवितामा गरिबीले सताउने अभाव र प्रभाव जिन्दगीमा उर्लेर आउने सेतीको भल जस्तै वग्छ पीडादायी भल र ’गरिबका दिनहरु’ भन्ने कवितामा जीवनभरी गल्छ गरीबको जीन्दगी कि पसिनाले कि असिनाले र दिनहरु कहिलै पूर्णिमा हुँदैनन् सधैं औंसी सरह हुन्छन् भन्ने गहिरो सन्देह पाइन्छ ।

‘प्रेमदिवस र उपहार’ मा धनको घमण्ड गर्नेहरुले गुलावको हत्या गर्ने दिन भनी तिखो व्यङ्ग्य हानेका छन् शहरीया धनाढ्यहरुलाई । “जब आउँछन् निष्ठुर यादहरूमा आफैं मर्काको जिन्दगी बनेर बगेका छन् कवि । यस्तै ‘छाउपडीका पाइलाहरु’ सामाजिक संस्कारका नाउमा समाजमा रहेका कुप्रथाले सबैभन्दा बढी भार भोको पेटलाई हुने भनी कविले गम्भीर चासो र चिन्ता पोखेका छन् र लेख्छनः

छाउपढीले आहालका आहाल
रगतका भुल्काहरु बगाइ सक्दा पनि
बगेनन् अझै समाजको पाठेघरबाट
अन्ध विश्वासका दह ।

‘उनी आमा’ कवितामा संसार पूर्ण र अर्पूण आमाको आभासले मात्र छुट्याउन सकिने भनी कवि सधैं अधुरो नै हुने कुराको समेत निवेदन गरेका छन् साथै भविष्यका आमाहरुमा आशाका किरण साथै सन्तानको मोह माया, ममता जननीलाई लाखै गुणा हुने कुराको बोध गराएका छन कविले । यसरी नै ‘विचरा सहरका मान्छैहरु’मा के गाँउले गन्ध शहरमा पाइन्छ त भन्ने प्रश्नहरू छाडेका छन् र घर रुङ्दै गरेको मान्छे भन्ने कवितामा मानव सभ्यता र पूर्खाको थातथलो घरखेत बेचेर सहरीया हुने वर्तमान समाजको रहरको ऐना देखिन्छ ।

‘नयाँ वर्ष आवाजहरु’ र ‘सेतीका छालहरु’मा क्रमशः अभावको जिन्दगी जिउनेले वर्ष फेरिएपछि तमसुकको भाका नाग्छ कि भन्ने पिरले नयाँ वर्ष आएकोमा थप पिर मानेको हुन्छन् ।

आदम र इनको प्रेम कहानीलाई समेत चुनौती दिने काल्पनिक प्रेम कहानी रचना गरेका छन, कविले । ‘प्रेमदिवस, मेरो कवि र तिम्रो तस्वीर’मा मलामी कमाउने आसमा वा मृत्युपर्यन्त पनि शुभेक्षाको खाँचो हुँदो रहेछ भन्ने भावाकृति देखिन्छ । त्यस्तै ‘तिम्रो सहर’ सहरवासीको अहङ्कार र दम्भ कति हुन्छ भन्ने प्रतिनिधि आवाज बोकेको कविता हो ।

‘जीवनका किनाराहरु’मा अभाबले चहयानई रहेको मनले पनि यादको छटपटाहटले कसरी आतङ्क मचाउन्छ भन्दै देउडा गीत र पश्चिम भूगोल (तेल्याको लेक) समेत सन्दर्भको रुपमा जोडेका छन् ।

‘भविष्यद्रष्टा’मा कूरीतिको उजागर गर्ने प्रयास गरेका छन् । यस्तै ‘तिम्रो झझल्को’ मा मनभरी विरहका मुडा पेलेर आगो दन्काउँदै छु’ जस्ता दम्दार हरफ कोरेर कविले आफ्नै मौनतासंग सम्वाद गरेका छन् ।

कविले ‘कामना’ भन्ने कवितामाः

कतै औषधी नपाएर

मरिहाले भने पनि
भरखर अरबको खाडी पुगेको छोरो
आउन–जान मै लाख रुपियाँ खर्चेर
नफर्कियोस केवल किरिया गर्नकै लागि

भनी असाध्यै गहिरो कारुणिक कथाहरु कोरिएका छन्, जहाँ हजारौ शब्दहरूको पनि बयान अपूरो हुन्छ । यसै कवितामा दुःखीले मर्नु भनेकै दुःखका भारी बिसाउनु र उम्कारा पाउनु हो भन्ने भावसँग नजिक छन् कवि ।

‘मन’ कवितामा कविहरुले बोल्न हिच्किचाउने आफ्नै धरातलीय कुरा गरेका छन्, जहाँ काव्यिक सिर्जनाका धनी मानिने कविहरुकै जीवनशैली पनि गरिविको चपेटामा परेका हुन्छ । जहाँ कविहरुले आफ्नो इज्जत जोगाउन अनेक आरोह अवरोह खेप्दै इज्जत्तिलो बन्न खोजेको कुरा देखिन्छ ।

‘कौसी र बाबा’, ‘देउकी’ र ‘कमलरी’ कविताहरुमा सुदूरपश्चिममा रहेका अनेकौं प्रकृति र कुरीति अनि अभावका पराकाकाष्टा हुने जिन्दगीको नालीवेली लेखेका छन्, कविले । यस्तै ‘प्रतीक्षा’ कवितामा कविले ‘आखिर जिन्दगी भन्नु सपनै त रहेछ’ भनी हरेक पल राम्रो सपनाको व्यापार गर्न नै जिन्दगी जिउनुको मज्जा र स्वाद पाइने कुरा उल्लेख गरेका छन् ।

संकट पर्दा मान्छे अनेक वैकल्पिक कुरामा विश्वास गर्छ, संकट टर्ने आशामा । भगवानको खोजी गर्छ र शरणमा पर्छ । जुन कुरा कविले ‘भगवानको खोजी’ भन्ने कवितामा बर्खाको पहिरोझै सर्दै गए जिन्दगीका दिनहरु भनी सधैं उधारै रहने र सरिरहने जिन्दगीको व्यथाले पिरोल्नेको आवाज बुलन्द गरेका छन् । साथै ‘आँखाको लय र डाँडामाथिको घाम’ कवितामा पनि उदासीन जीवनको क्षितिज जस्तै डाँडा पारीको घाम भनेका छन्, जीवनलाई । अन्तमा बझाङ्ग, बाजुरा र डोटीका प्रसिद्ध स्थानको नामसमेत जोडेर पारिवारिक वियोगमा परेको एक्लोपनको कविता कोरेको हुनुपर्छ, कविले ।

यसरी हेर्दा कवितामा सुदुर पश्चिमको स्थानीयता, कला–संस्कृतिका अलवा त्यहाँको कुरीति, कुसंस्कार इत्यादिलाई उजागर गरी यस्तै सान्दर्भिक विषयसँग साहित्यमा साइनो लगाई प्रयोगवादी साहित्यको थालनी समेत गरेको पाइन्छ । तराईको कमलरी, हिमालको छाउपडी कुरीतिलाई चिर्ने प्रयास गरेका छन् कवि विवशले । कवितामा केही न केही सीमा त सधँै नै हुने रहेछन्, जहाँ विवशले समान प्रकृतिका पात्र दोहोर्या एका छन् । विषयवस्तु शुरुदेखि अन्त्यसम्म उस्तै छ अनि परिवेश पनि उही नै । त्यसैगरी सम्पादन गर्न पनि कन्जुस्याई गरेको वाहेक विवशताको जिन्दगी जिउनेका अलिखित इतिहास समेत समेटी विवशले व्यापकता गर्न खोजेको हुँदा कवितासंग्रह सुदूरपश्चिमको भूगोल, कला, संस्कृति, गरिबी, भोकमरी, अभाव, प्रभाव, दवाव अनि रोदनको चित्रात्मक शैली आदि कारणले पनि ‘सैपालको आँगन’ साच्चीकै पठनीय र संग्रहणीय कृति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment