Comments Add Comment

निबन्धः म किन प्रेममा परिनँ ?

जिन्दगीमा मैले आफूले आफैंलाई सबैभन्दा धेरै सोधेको एउटा प्रश्न- म किन प्रेममा परिनँ ?

अरुले पनि मैले जस्तै आफूलाई यस्तो प्रश्न सोध्लान् ? आखिर ममा के छैन त्यस्तो, जसका कारण तरुण केटीहरुले मलाई हेर्दैनन् ? मेरो कमजोरी के हो ? म किन माया पाउदिनँ ? प्रेममा पर्नु आफंैमा खुसी प्राप्त गर्नु हो । प्रेममा पर्नु आफैंमा सुखानुभूति हुनु हो । प्रेममा पर्नु आफूभित्रको दियालो बल्नु हो, जसले कसैलाई अपनत्वको सिरानी दिन्छ ।

तपाईंलाई पनि अचम्म लाग्यो होला है, यो एउटा अनौठो प्रश्न ।

म किन प्रेमबाट बञ्चित भएँ ? म कसैको मायाको योग्य किन भइनँ ? मायाको लागि योग्यता के हो ? आखिर के भयो भने माया हुन्छ ? किन मैले कुनै नारीको माया पाइनँ ? मेरो कुन शारीरिक अवयवले काम गरेको छैन ? मेरो कुन इन्द्रे णीले काम गरेको छैन ? जस्को रंगमा एउटा कलेवर कम छ ! मसँग सम्पुष्ट शरीर छ । मसँग बल छ, बाहु छ, बीर्य छ, । मसँग भोक छ, उल्लास छ, बैशाख छ, माधुर्य छ, मधुमास छ ।

तर ! मेरो सानिध्य सन्सारमा आउँदिनन् कुनै नारी किन ? किन म एक्लो कैलाश भएर बाँचिरहेछु अनादिदेखि । प्रकृतिलाई फगत यही रहृयो मेरो प्रश्न कि – म किन प्रेममा परिनँ ?

यो संसारमा केही त्यस्ता भाग्यमानी मानिसहरू मात्रै प्रेममा पर्छन् जसको भाग्यमा सजिलै प्रेम लेखिएर आएको थियो ।

तपाईं प्रेममा हुनुहुन्छ भने संसारका बहुत कम भाग्यमानी मान्छेमध्ये तपाईं एक हुनुहुन्छ । तपाईंलाई ईश्वरको त्यो दिव्य सत्ता मिलेको छ । तपाईं आनन्दमा हुनुहुन्छ । तपाईं सुरक्षित हुनुहुन्छ । प्रेममा हुन्हुन्छ भने तपाईंसँग सबथोक छ ।

प्रेममा हुनुहुन्छ भने तपाईंलाई संकटबाट बचाउने अधार र हतियार त्यही हो । तपाईलाई संकटको त्यो आँधीबाट बचाउने पनि त्यही हो ।
प्रेममा हुनुहुन्छ भने जीवनको त्यो दिव्य आनन्द आलोकलाई कहिले बरबाद नगर्नुस है बिन्ती ! प्रेम त त्यो अनुकम्पा हो, जसको काखमा हिमालयको सारा उज्यालो बलेको हुन्छ । प्रेम त गोपीहरुको त्यो घर हो, जहाँ गए पनि केवल त्यो मुरली मनोहर कृष्णमात्रै देखिन्छन् ।

भलै म प्रेममा नपरेर के भो त ! कमसेकम तपाईं त प्रेममा हुनुहुन्छ नि है ! तपाईंको त्यो प्रेम दीर्घजीवी बनोस् । तपाईंको प्रेमको डोरी कहिले नचुडियोस् । प्रेम मुटुको तीर्खा हो । प्रेम तृप्ति हो । प्रेम सर्वेश्वर हो । बिन्ती, प्रेम नभत्काउनुस है ! म अहिलेसम्म प्रेममा परिनँ । कुनै दुखेसो छैन कसैप्रति । किनकि प्रेम जो कोहीलाई मिल्दैन । जसलाई प्रेम मिल्छ, उ पूजनीय हुन्छ यो धरोधाममा ।

भनिन्छ, प्रेममा जे पनि जायज हुन्छ । समाजले प्रेमलाई कहिल्यै चाहेन र पनि प्रेमको बिरुवा ढुंगाको काप छिचोल्दै उमि्ररहृयो ।

जिन्दगीमा सबै प्रश्नहरुको उत्तर हुँदैनन् । प्रेम प्रश्न होइन । प्रेम त उत्तर हो । प्रेम कहिले प्रश्न हुँदैन । यदि प्रेम प्रश्न भएर आउने हो भने कोहि पनि प्रेममा पर्दैनथे । प्रेम आफैं हुन्छ । प्रेम गरिँदैन । प्रेम गरेर हुने भए म पनि गर्थे नि । प्रेम नदी हो । हिमनदी । नसुक्ने धारा । प्रेम धराको त्यो बाटो हो जहाँ केही भाग्यमानी मनुष्यहरु हिँड्न् पाउँछन् । तिमी हिँड । तिमीलाई त्यो बर बाटो प्राप्त भएको छ । कैलाशमा परेको त्यो छायाँ आहा कति शीतल छ त्यो परमता त्यो परमानुभूती त्यो कमनीयता बारम्बार मिलिरहोस् ।

खुसी छौ तिमी आफ्नो प्रेममा । तिम्रो पुरुषले तिमीलाई उसको बलिष्ठ हातले कस्दा तिमी कति धेरै मदोन्मादित हुन्छ्यौ । पुरुषहरूको खस्रो हातले तिम्रो हातलाई समाउँदा तिमी कति धेरै पुलकित हुन्छ्यौ शायद त्यसको अनुमान लगाउन अरुले के सक्ला ? प्रेम आनन्द हो, आन्दोलन होइन । प्रेम बाटो हो । प्रेम मझधार होइन किनारा हो । प्रेम समर्पण हो, समर्थन होइन ।

म असुरोको फूलजस्तै कहिले कतै कुनै भगवानलाई चढ्न सकिनँ । खोइ के छ ममा कमजोरी ? म हेर्न सक्तिनँ सीधा परेलीले कुनै स्त्री नजरमा । म आँखामा आँखा जुधाउन सक्तिनँ । म स्वरमा स्वर मिलाउन सक्तिनँ । बोलाउने हिम्मत हुँदैन । मभित्र जवानीको ज्वरो छ । तातो छु म । यो बैशाखको उभार उर्वर ऊर्जा म रोप्नु चाहन्छु र उम्रोस् टुसा मायालु धरामा ।

जवानीको ज्वरोले धेरै पोल्दोरहेछ । एउटा बैँस जो मभित्र फुलेको छ गुल्जार छ बन हरियो छ पात पत्र फुलारु । प्रेमको यो बाटो कहिले अन्त नहोस् ।

जीवन अन्त हुन्छ । जिन्दगी अन्त हुन्छ । भौतिक प्रपन्च सारा अन्त हुन्छ । तर, अन्त हुँदैन प्रेम । प्रेम त त्यो चौतारी हो, जो हिजो कसैले चिनेको थियो, आजकाले छायाँ लिँदैछन् ।

म निर्जर एकान्तको बर भएर उभिएको धेरै भो । उभिरहने सामार्थ्य थाहा छैन कहिलेसम्म रहला । मसँगै पिपलु भएर उभिने सामर्थ्य कसले राख्छ ? खोजिरहेको छु त्यो पवित पावन झन्कार झुमझुम स्पर्श सम्बोधिता मप्रति । आउ सपना भएर आउ । आउ गीत भएर आउ । आउ जित भएर आउ । मेरो तातोमा मिसिन आउ । पग्लिन आउ । मातमा मात्तिएर आउ । उभार थमाउन आउ । तिम्रो कलकल कलेवर कल्लोल कुमुदिता म थाम्छु आउ एक फेर आउ । आँखामा कैलाश र मुटुमा गोसाइँकुण्ड लिएर आउ । आउ एक बिहान भएर आउ । आउ जुनेली रात भएर आउ । हराभरा सल्ला सतिसाल र धुपी भएर आउ ।

प्रेम त्यो दौलत हो, जसको प्राप्तिका लागि यहाँ अनन्त दौलत खर्चिनेहरु धेरै हुन्छन् । तर, प्रेमबिना दौलत मुटुको आगनीमा र आखाको ढकनीमा आइदिन्छ । यसै आइदिन्छ । लेकमा बिहानै शीत परेजस्तै । प्रेम त त्यो सिद्धि हो जहाँ सबै कुरा प्राप्ति हुन्छ ।

प्रेम देवस्थल देवालय हो । जहाँको एक झोक्का हावा पनि पवित्र हुन्छ । प्रेम आरती हो । प्रेम मुटुको चिराग हो । प्रेम प्रार्थना हो ।

प्रेम त पूजा हो । कैलाशबाट उठेको बादल जो निर्मल आकाश छुन जाँदै ममा शीत परेन । ममा जुनकिरी उज्यालो लागेन । म प्रेममा परिनँ । प्रेम के हो प्रेम कस्तो हो मैले महसुस गरिनँ । मलाई लुक्लाको फागदिनमा बहने चिसो बतासले छोयो, मलाई पाँचथरको वनभित्ताहरुमा हाँसेको गुराँसले छोयो । मलाई दरौदीको कञ्चन पानीले भिजायो ।

मलाई भोजपुरको हेलौछामा परेको इन्द्रधनुले बोलायो । मलाई डोल्पाको जुफालले हँसायो । तर, मलाई सोलुखुम्बुकी सोताङ्गे नानीले फर्केर हेरिनन् ।

मैले दुःख मानेको छैन किनकि मेरो भाग्यमा प्रेम लेखिएको छैन । पथ्थरले यहाँ देउता बनेर मन्दिरमा बन्न पाउँदा म मान्छे एउटा खुला कटेरामा चिसोले जमेर बसेको छु । मेरो गरिबी मेरो प्रेमको बाधक । मानिसहरू मानिसलाई होइन, पैसालाई प्रेम गर्छन् । मानिसहरू निर्मल हृदयलाई होइन तातो जवानीलाई प्रेम गर्छन् । मानिसहरू इज्जतले उभिएको फूलको बोटलाई होइन, फूललाई मात्रै हेर्छन् ।

फूलको बोटले सहेको सूर्यको जलन र हिउँदे शीतलहरलाई मानिसहरू बुझ्दैनन् । उनीहरूको दृष्टि केवल फूलको सौन्दर्यमा केन्द्रित हुन्छ । तर, म त्यस्तो फूल हुँ जसमा सौन्दर्य छ । तर, सुगन्ध छैन । मानिसहरू सुगन्ध खोज्छन् । आजको मानिस वासना खोज्छ । म बासना होइन । म सुवासना हुँ । मलाई चाहिन्न भो कोही मान्छे । मलाई सन्खुवासभाको मादी र आखीभुइँ भए पुग्छ । मलाई दुहबीको सोनापुर र रामेछापको हिमगङ्गा भए पुग्छ

मलाई अब प्रकृतिको त्यो रसना भए पुग्छ । मलाई केटीको परेली होइन गोरखा आजिरकोटको हंशपुर र बिरिनचोक भए पुग्छ । मलाई अब कोही सुन्दरी चाहिन्न सधैं कलकल बगिरहने बुढीगण्डकी र दरौंदी भए पुग्छ । मलाई प्रकृति फूल जो सधैं हिमाल वरिपरि फुल्छ त्यही भए पुग्छ ।

प्रेममा जव जित छ भने हार पनि छ । म पनि प्रेममा छु प्रकृति प्रेममा । यो उल्लास उत्फुल्लता मैले हिमालय बाट बगी आएको हिउँ शीतमा मात्रै पाए । मैले आनन्द बिहानी किरणमा मात्रै पाए । मैले आनन्द लम्पसार सुतिरहेकी पहाडको छातीमा पाए । मैले आनन्द झर्नाको झरझरमा पाए । मैले आनन्द कुनै देवीको मन्दिरमा सबेरै बज्ने घण्टीको प्रध्वनीमा पाए । मैले आनन्द सबेरै पहाडको झ्याल बाट फाल हाल्ने कल्लोल किरणमा पाए ।

म अलिकति पागल छु । शायद रारा तालमा कराउँदै हिड्ने हिउँ चरी पनि म जस्तै पागल छे । शायद जुनेली आकाश पागल छ होला ।

सबै पागलहरु एक्लै एक्लै हुन्छन् । म पागल र पो त म पनि कसैको प्रेममा परिन । म उफ्रिँदै हिँड्छु पहाडी तरेलीमा । उदासी रुख भएर बाच्दिनँ म कहिले पनि । म स्थिर छैन । बादलले छोप्ने जूनजस्तै एक जून हुँ म आफ्नै आकाशको ।

म उदास जुन पनि होइन । म हरेक प्रहरमा देउरालीबाट बहने चिसो हावा जो संखुवासभाको चैनपुर हुँदै खादबारीतिर धावा बोल्छु । म सोलुको खुम्जुङ्गमा मारुनी नाची हिड्ने मनुष्य हुँ । म मुन्धुममा रमाउने कुनै यलम्बर हुँ । सुम्निमाहरु रमाइरहुन् हिमाल हेरेर यो सुम्निमाको देश हो, यो पारुहाङ्गको पहाड हो । भैगो पारु भलै मलाई माया नगरे नगर तर अवश्य तिमीसँगै बिहान ब्यँुझिने यी पहाडहरुलाई सधैं सधैं माया गर है !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment