Comments Add Comment

इंग्ल्याण्ड भर्सेस बेल्जियम: अन्त्य यस्तो चाहेको होइन !

काठमाडौं । विश्वकप फुटबलमा तेस्रो स्थानका लागि शनिबार राति पौने ८ बजे इंग्ल्याण्ड र बेल्जियमबीच सेन्ट पिटर्सवर्ग रंगशालामा खेल हुँदैछ ।

सेमिफाइनल खेलमा इंग्ल्याण्ड क्रोएसियासँग २-१ ले र बेल्जियम फ्रान्ससँग १-० ले हारेको थियो ।

समूह ‘जी’ बाट माथि चढेका दुवै टिम समूह चरणको अन्तिम खेलमा पनि भेटिएका थिए । विश्वकपमा अघिल्लो चरणका लागि सजिलो बाटो रोजेर दुवै टिमले समूह चरणको अन्तिम खेलमा मुख्य सबै खेलाडीलाई आराम दिएका थिए ।

समूह चरणको अन्तिम खेल अघि नै अघिल्लो चरणमा जाने टिमको टुंगो लागिसकेको भएर एकअर्थमा भन्दा उनीहरुको खेल उत्साहविहीन भएको थियो ।

समूह विजेताका लागि भएको खेलमा ५१ औँ मिनेटमा बेल्जियमका एडनान जानुजाजले गरेको गोल नै निणर्ायक बन्यो । दुवैको बराबरी अंक र गोल अन्तर पनि बराबर रहेको अवस्थामा उनीहरु कमजोर सोचमा मैदान उत्रँदा खेल निरश बन्यो ।

बेल्जियमसँग खेल हार्दा पनि इंग्ल्याण्ड टोली खुसी बनेको थियो । जसले उनीहरुको भेट अन्तिम १६ मा कोलम्बियासँग, क्वाटरफाइनलमा स्वीडेन र सेमिफाइनलमा क्रोएसियासँग भयो । फाइनलसम्म सहज यात्रा देखेको इंग्ल्याण्ड सेमिफाइनलमै क्रोएसियासँग निराश बन्यो ।

समूह विजेता बनेको बेल्जियमले अन्तिम १६ मा जापानलाई र क्वाटर फाइनलमा ब्राजिललाई हरायो । सेमिफाइनलमा भने बेल्जियमले फ्रान्सलाई हराउन सकेन ।

समूह चरणको अन्तिम खेलअघि नै ५ गोल गरेका इंग्ल्याण्डका हृयारी केन र ४ गोल गरेका बेल्जियमका रोमेलु लुकाकुले गोल्डेन बुटका लागि महत्वपूर्ण भए पनि समूह चरणको अन्तिम खेल खेलेनन् ।

अन्तिम १६ को खेलमा कोलम्बियाविरुद्ध गोल गरेर केनले ६ गोल पुर्‍याएका छन् । तेस्रो स्थानका लागि हुने खेल उनीहरुको गोल्डेन बुटका लागि महत्वपूर्ण छ ।

अन्तिम खेलपछि पनि हृयारी केनले गोल्डेन बुट उचालेको हेर्न पाउने आशमा इंग्ल्याण्ड समर्थकलाई केही सान्त्वना भने मिलेको छ ।

इंग्ल्याण्ड अहिले तेस्रो पटक विश्वकप सेमिफाइनलमा पुगेको थियो । सन् १९६६ मा घरेलु मैदानमा आयोजना हुँदा विश्वकप जितेको इंग्ल्याण्ड १९९० मा इटालीमा हुँदा वेस्ट जर्मनीसँग सेमिफाइनलमा पराजित भएको थियो । त्यसबेला तेस्रो स्थानका लागि भएको खेलमा इटालीसँग हारेको इंग्ल्याण्ड यसपटक अवस्था सुधार्न चाहन्छ ।

सन् १९८६ को विश्वकप सेमिफाइनलमा पुगेको बेल्जियम पनि सेमिफाइनलमा अर्जेन्टिनासँग हारेको थियो । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा प|mान्ससँग हारेको बेल्जियमको विगत पनि सुखद छैन ।

विश्वकप इतिहासमै समूह चरणमा खेलिसकेका टोली तेस्रो स्थानका लागि भएको खेलमा भेटिएको यो पहिलो पटक हो ।

रसिया विश्वकपका ६ खेलमा बेल्जियमले १४ गोल गरेको थियो भने इंग्ल्याण्डले १२ गोल गरेको थियो । दुवै टिमले ६/६ गोल खाएका थिए ।

बेल्जियमले ६ खेलमा ३ हजार १ सय २५ पास खेलेको थियो भने इंग्ल्याण्डले ३ हजार १ सय ६६ पास खेलेको थियो । क्रस पासमा बेल्जियमले ९४ क्रस बल फालेको थियो भने इंग्ल्याण्डले एक सय क्रस पास खेलेको थियो ।

सबै गरेर यसअघि बेल्जियम र इंग्ल्याण्डबीच भएका २२ खेलमा इंग्ल्याण्ड १५ खेलमा र बेल्जियम २ खेलमा विजयी भएको थियो । पाँच खेल बराबरी भएका थिए । जसमा इंग्ल्याण्डले ७० गोल गरेको छ भने २६ गोल खाएको छ ।

इंग्ल्याण्डका प्रशिक्षक ग्यारथ साउथगेटले तेस्रो स्थानका लागि हुने खेल कुनै टिमको लागि पनि सुखद खेल नहुने भए पनि आफूहरुले खेलमा ध्यान दिने बताएका छन् । हारको पीडा बिर्साउन पनि अन्तिम खेलमा जित आवश्यक भएको उनको भनाइ छ ।

शुक्रबार ४५ औँ जन्मदिन मनाएका बेल्जियम प्रशिक्षक रोबर्टो मार्टिनेज पनि अन्तिम खेल प्रतिष्ठासँग जोडिएको बताउँछन् । ‘हामी असाध्यै निराश छौँ । सबैको अनुहार दुःख देखिएको हुन्छ । यो अवस्था ठीक गर्न सहज छैन । यस्तोमा अन्तिम खेल यो सबै भुलाउने बाटो हुन सक्नेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment