Comments Add Comment

कांग्रेस नेताले पढाए कम्युनिष्टलाई मार्क्सवाद

३१ असार, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आइतबार प्रकाशित बिभिन्न पत्रिकाहरुले बिभिन्न समाचारलाई प्राथमिकता दिएका छन् । धेरैजसो पत्रिकाहरुमा डा. गोविन्द केसीको अनसन र स्वास्थ्य सेवासँग सम्बन्धित समाचारहरु प्रमुख हेडलाइन बनेका छन् ।

त्यसबाहेक आज हुन लागेको विश्वकप फुटबलको फाइनल खेल र त्यसको सम्भावित विजेताको आकलन गरेर पनि समाचार लेखिएको छ ।

कांग्रेस नेताले पढाए कम्युनिष्टलाई मार्क्सवाद

नयाँ पत्रिका दैनिकले नेपाली कांग्रेसका नेताले कम्युनिष्ट कार्यकर्तालाई प्रशिक्षण दिएको कुरालाई प्राथमिकताका साथ समाचार छापेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता-कार्यकर्तालाई नेपाली कांग्रेसका नेता प्रदीप गिरीले मार्क्सवादबारे प्रशिक्षण दिएको समाचारमा उल्लेख छ ।

गिरीले गत वैशाख १५ गते नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा कम्युनिष्ट कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको समाचार छ ।

कम्युनिष्ट कार्यकर्ताहरुलाई मार्क्सवाद पढाउने अभियान १५ वैशाखबाट झापाबाट सुरु भएको र अभियानको क्रममा कांग्रेस नेता गिरीले धुलिखेलमा पनि प्रशिक्षण दिएका थिए । मार्क्सवाद पढाउने अन्य गुरुहरुमा नेकपा मसालका महासचिव मोहनविक्रम सिंह, नेकपाका नेता राम कार्की, चैतन्य मिश्र, पीताम्बर शर्मा लगायत छन् ।

कम्युनिष्टको प्रशिक्षणमा कांग्रेस नेताको प्रवेशले सुरुमा कार्यकर्ताहरु आश्चर्यमा परे पनि प्रशिक्षण सुन्दै गएपछि कम्युनिष्ट कार्यकर्ताहरु प्रभावित हुने गरेको नेकपा मसालका नेता समीर सिंहले बताएका छन् ।

अस्पतालको शौचालयमा जन्मियो शिशु

मोरङको सुनवर्षी नगरपालिका-९ डाइनियाको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीय २६ वर्षीया दौलतीकुमारी साहले शौचालयमा शिशुलाई जन्म दिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

साहलाई प्रसव व्यथाले च्यापेपछि उनको मामाको छोरा दाजु रञ्जित कुमार साहले प्रसूति गराउन स्वास्थ्य चौकी लगेका थिए । तर स्वास्थ्यकर्मी भेटिएनन् । रञ्जित कुमारले भने, ‘ स्वास्थ्य संस्थामा कार्यालय सहयोगी मात्र थिए । म त के गर्नु/नगर्नु भएँ । बहिनीलाई पीडा झन् कठिन भएको थियो, शौचालय पसेकी थिइन्, त्यहीँ बच्चा जन्माइन् ।’

प्रसूति विभाग प्रमुख कञ्चन सिंहले यसबारे आफूलाई ढिलो मात्र जानकारी प्राप्त भएको सुनाइन् ।

स्थानीय स्वास्थ्य चौकीमा चार जनाको दरबन्दी छ भने नगरपालिकाले सात जना थप व्यवस्था गरेको छ । तर उनीहरु स्वास्थ्य संस्थामा नबस्दा गर्भवतीले शौचालयमा बच्चा जन्माउन बाध्य हुनुपरेको समाचारमा उल्लेख छ ।

सभामुख-उपसभामुख अझै एकै दलको

कान्तिपुर दैनिकले नेकपाका पूर्वनेताहरु नै हालसम्म सभामुख र उपसभामुख रहेको समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छ । ‘सभामुख-उपसभामुख अझै एकै दलको’ शीर्षकको समाचारमा लेखिएको छ, ‘एक महिना बढी भइसक्यो, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा प्रदेश नम्बर २ बाहेक बाँकी ६ वटा प्रदेशसभाका सभामुख र उपसभामुख एउटै दलका छन् ।’

संविधानको धारा ९१ (२) प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनुपर्ने प्रावधानलाई कान्तिपुरले स्मरण गराएको छ । साथै प्रदेशसभाको हकमा पनि संविधानको धारा १८२ (२) ले प्रदेशसभाको सभामुख वा उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनुपर्ने भनेको कुरालाई समाचारमा समेटिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यस विषयमा विगतमा कुरा उठाउँदै आएको थियो । तर, नेकपाका नेताहरुले भने सभामुख उपसभामुख बनेकाहरुले दल त्याग गरिसकेकाले कुनै दल विशेषको नभएको तर्क दिँदै आएका छन् ।

‘ट्रिपरको संरचना नै दुर्घटना निम्ताउने खालको’

ट्रिपरको ठक्करबाट दैनिकजसो मानिसहरुको ज्यान गइरहेको बेला यसको संरचनामै प्रश्न उठाइएको छ । ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुले टि्रपरको संरचना नै दुर्घटना निम्ताउने खालको भएको बताएका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकसँग हाछेथुले भनेका छन्- मैले धेरै ट्रिपर चालकसँग सोधिसकें । र आफै पनि चालक सिटमा बसेर हेरेको छु । चालक सिटबाट अगाडि बायाँतर्फको सवारी देखिँदैन । अगाडिको बम्पर पाँच फिट लामो हुन्छ । चालकले दायाँतर्फको लुकिङ ग्लासबाट सात फिट उचाइसम्मको सवारी साधन मात्र देख्छ ।

अर्को कारण ट्रिपरको संरचना फलामै फलामबाट बनेको एउटा ढिक्का जस्तै हुन्छ । अर्को सवारीले ठक्कर दिए पनि ट्रिपर चालक जोगिने हुँदा उनीहरुमा अहंता बढी देखिन्छ । योसँगै अधिकांश ट्रिपरका चालक बढीजसो युवा छन् ।

दलितलाई पानी खुवाउँदा गाउँ निकाला

राजधानी दैनिकले दलितलाई पानी खुवाउँदा ६ वर्षदेखि गाउँबाहिर बस्नु परेको बाजुराको घटनालाई पहिलो समाचारको रुपमा छापेको छ ।

बाजुराको हिमाली गाउँपालिका-२ नातिखोलाको एक परिवार गाउँनिकालाको उत्पीडन सहन बाध्य छ । साविकको रुगिन गाविसको कवाडी गाउँमा बस्दै आएका जयलाल बुढाको घरमा २०६९ सालमा एक जना दलित पसेर पानी खाएको गाउँलेले देखेका थिए । अछूतलाई पानी खुवाएको भनेर बुढा परिवारलाई अछूत भन्दै गाउँलेले व्यवहार गर्न थालेपछि उनले गाउँ छाडेको समाचारमा उल्लेख छ ।

६० वर्षीय जयलालले भनेका छन्, ‘गाउँमा बस्न नपाए केही छैन, छोराहरुसँग पनि बस्न नपाउँदा मन पोल्छ । मान्छेलाई पानी खु्वाउनु पनि पाप हो ? त्यसो भए पुण्य के हो ?’

श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद

नेपाल समाचारपत्र दैनिकले अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने समाचार छापेको छ ।

मुलुकी देवानी संहिता ऐन, २०७४ मा श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने व्यवस्था राखिएको समाचारमा उल्लेख छ । यो संहिता आगामी भदौ १ गतेबाट लागु हुने छ । विद्यमान कानुनमा श्रीमतीले चाहे मात्रै सम्बन्ध विच्छेद हुने व्यवस्था छ । अब भने नयाँ कानुन श्रीमानको हकमा लचक देखिएको समाचारमा उल्लेख छ ।

हेर्नुहोस् आजका पत्रिका

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment