Comments Add Comment

इजरायलले थाल्यो हमासविरुद्ध आक्रमण

३१ असार, काठमाडौं । इजरायलले गाजामा रहेका हमास लडाकुविरुद्ध चार वर्षयताकै ठूलो आक्रमण सुरु गरेको छ । इजरायलका अनुसार ९० भन्दा धेरै रकेट हमलाको जवाफमा हमासका दर्जनौं स्थानमा आक्रमण गरिएको छ ।

सन् २०१४ मा हमासविरुद्ध भएको लडाइँपछि यो सबैभन्दा ठूलो आक्रमण रहेको बीबीसीले जनाएको छ ।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुका अनुसार गाजा शहरमा भएको हवाइ हमलामा दुई जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।

इजरायलको रक्षाबल आईडीएफका अनुसार गाजाका हमास प्रभावित क्षेत्र, उनीहरुले प्रयोग गर्ने स्थान, बेट लाहियाको बटालियनको एक मुख्यालय, उत्तरी गाजाको एक ठूलो भवनमा रहेको तालिम केन्द्र, हतियार भण्डारण र रकेट लन्चरलाई निशाना बनाइएको छ ।

आईडीएफले ट्वीटरमा लेखेको छ, ‘पछिल्लो एक घण्टामा आईडीएफका लडाकु विमानहरुले गाजापटि्टमा हमासका चार सैन्य इलाकाका दर्जनौं स्थानमा आक्रमण गरेका छन् । यी हवाई हमलाको केन्द्र बेट लाहियाको हमास बटालियनको मुख्यालय थियो ।’

साथै अर्को एक ट्वीटमा लेखिएको छ, ‘केहीबेर अगाडि आईडीएफका लडाकु विमानले उत्तरी गाजाको अल-शटी शरणार्थी क्याम्पको एक बहुतले भवनमा पनि हमला गरेको छ । यो भवनको तल सुरुङ बनाइएको थियो जसलाई तालिम दिन प्रयोग गरिन्थ्यो । यो सुरुङ हमासको आतंकी सुरुङ नेटवर्कको हिस्सा थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कारवाही अझै जारी रहने बताएका छन् । उनले भनेका छन्, यदि आवश्यक परेमा हमासको आतंकी हमलाको प्रतिक्रियाको दायरा बढाउन सकिन्छ । यदि हमासलाई आज हाम्रो सन्देश प्राप्त भएन भने भोलि प्राप्त हुने छ ।’

प्रत्यक्षदर्शीहरुले सामाचार एजेन्सी रोयटर्ससँग भनेका छन्, गाजाको एक खालि भवन इजरायलको हवाई हमलाको निशाना बन्यो र त्यसको छेउँमा हिँडिरहेकाहरु आक्रमणको चपेटामा परे ।

हमासले शुक्रबार सीमा क्षेत्रमा गरिएको प्रदर्शनको क्रममा एक इजरायली सैनिकको गोली लागेर एक प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।

गाजा क्षेत्रको स्वामित्वलाई लिएर इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखि विवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment