Comments Add Comment

एककिलो सुन तस्करीका मुख्य नाइके पक्राउ

३० असार, वीरगञ्ज । राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले १ किलो सुन तस्करीका मुख्य नाइकेलाई पक्राउ गरी थुनामा राखेको छ ।

पक्राउ पर्नेमा वीरगंज लिंक रोडस्थित दीपक ज्वेलर्सका सञ्चालक रामबाबू सिंह रहेका छन् । उनलाई राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले नियन्त्रणमा लिएर शुक्रबारदेखि नै प्रहरी चौकी जीतपुरमा राखेको छ ।

प्रहरी चौकी जितपरका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहले राजश्व अनुसन्धान कार्यालय पथलैयाको पत्रको आधारमा रामबाबु सिंह हिरासतमा रहेको जानकारी दिए ।’राजश्वले इलाका प्रहरी कार्यालय सिमरालाई सुरक्षित साथ राखिदिन भनेर पत्र काटेको रहेछ, त्यहाँ प्रयाप्त ठाउँ नभएपछि सिमराले शुक्रबार हामीकहाँ पठाएको छ,’ उनले भने, ‘उनलाई किन पक्राउ गरिएको भन्ने बारे हामीलाई जानकारी छैन ।’

गत असार १५ गते पर्सा प्रहरीले १ किलो सुनसहित सर्लाही हरिपुर नपा-९ निवासी सन्तोषकुमार कलवारलाई पक्राउ गरेको थियो ।

पक्राउ परेको सुन र कलवारलाई आवश्यक अनुसन्धानका लागि पथलैयाको जिम्मा लगाएपछि कलवारको बयानको आधारमा सिंहलाई बयानको लागि राजस्व कार्यालयले बोलाएको थियो ।

कलवार चढेको ना४८प ३७७४ नम्बरको मोटरसाइकलको सिटमुनी रहेको एयर फिल्टरमा लुकाइएको अवस्थामा सुन फेला परेको थियो ।

६ टुक्रा सुनलाई कालो टेपले बेरेर त्यसपछि कागजमा राखेर फेरि सेतो टेपले बेरेर राखिएको अवस्थामा फेला परेको थियो ।

कलवारले सुन तस्करीका मुख्य नाइके सिंहको नाम खोलेपछि सिंहलाई सोधपुछका लागि बोलाएर नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

राजश्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत दिव्यराज पोखरेलले असार १५ गते पर्साबाट प्रहरीले बरामद गरेको १ किलो सुन तस्करीमा रामबाबु सिंहको संलग्नता देखिएकोले नियन्त्रणमा राखिएको जानकारी दिए । ‘पर्साबाट प्रहरीले बरामद गरेर हामीलाई बुझाएको १ किलो सुन तस्करी प्रकरणमा रामबाबु सिंहको संलग्नता देखिएको छ । त्यसैले सोधपुछका लागि नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘रामबाबुको श्रीमतिको नाममा श्रीराम ज्वेलर्स सञ्चालनमा छ भन्ने जानकारी हामीले पाएका छौं ।’

सुन तस्करी प्रकरणका बारेमा थप अनुसन्धान भईरहेको उनले बताए । तस्करीको सुन समातिएपछि भरियालाई मात्रै कारबाही गर्दै आएको राजश्व अनुसन्धानले यसपटक मुख्य नाईकेलाई समेत पक्राउ गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment