Comments Add Comment

कोशी र नारायणीमा ‘पानीजहाज’ चलाउनेबारे भारतीय टोलीसँग छलफल

सा‌ंकेतिक तस्वीर

३१ असार, काठमाडौं । नेपाल-भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु भएको छ ।

नेपाल-भारतबीच नेपालमा जल यातायात संचालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारदेखि सहसचिव स्तरीय छलफल सुरु भएको हो ।

नेपालको कोशी, गण्डक वा नारायणी मध्ये एक नदीमा तत्काल जल यातायात संचालन हुने गरी द्विपक्षीय छलफल सुरु गरिएको जल तथा उर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्बासेले जानकारी दिए । उनले बैठकमा भारतीय पक्षले नेपालमा जल यातायात सञ्चालनका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको पनि बताए ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा दुई पक्षीय छलफल गरी नेपालमा जल यातायात सञ्चालनको कामलाई अघि बढाउने सहमति गरिएको थियो । सोही सहमतिलाई कार्यान्वयनमा लैजाने गरी जल यातायात क्षेत्रको समग्र पक्षको अध्ययन गर्न द्विपक्षीय छलफल सुरु गरिएको हो ।

सहसचिव स्तरीय छलफलमा नेपालमा जल यातायात संचालनका लागि भारतको पटनास्थित कालुघाटमा नेपाली पक्षले तत्काल स्थलगत अवलोकन गर्ने सहमति पनि गरिएको छ । जल यातायात सञ्चालनका लागि दुवै देशको सम्भावित नदीहरुमा स्थलगत अवलोकन छिट्टै गर्ने सहमति पनि गरिएको सहसचिव बेल्बासेले बताए ।

२ दिनसम्म चल्ने बैठकमा दुवै देशका प्राविधिकहरु पनि सहभागी भएका छन । बैठकमा भारतीय पक्षले नेपालको तराई क्षेत्रमा देखिएको डुबान समस्या समाधान गर्न पनि भारत सरकार प्रतिवद्ध रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment