Comments Add Comment

क्रोएसियाले जित्न सक्छ विश्वकप, यस्ता छन् ४ कारण

३१ असार, काठमाडौं । पहिलोपटक सन् १९९८ मा विश्वकपमा सहभागी हुँदा नै सेमिफाइनलसम्म पुगेको क्रोएसियाले यसपटक फाइनलमा पुग्दै इतिहास बनाएको छ ।

आइतबार राति पौने ९ बजे हुने खेलमा  फ्रान्सलाई हराउन सके विश्वकप विजेतामा नयाँ राष्ट्रको नाम चढ्नेछ ।

उत्कृष्ट मिडफिल्डसँगै राम्रो फिनिसिङ देखिएको क्रोएसियन टिमले विश्व फुटबलकै आयाममा विशेष प्रभाव पारेको छ ।

जर्मनी, अर्जेन्टिना, स्पेन, ब्राजिल जस्ता आश गरिएका टिमहरु निराश भएका बेला क्रोएसिया एकपछि अर्को जितको खुसी मनाउँदै छ ।

क्रोएसियाले समूह चरणमा नाइजेरियालाई २-०, अर्जेन्टिनालाई ३-० र आइसल्याण्डलाई २-१ ले हराएको थियो । अन्तिम १६ मा डेनमार्कसँग १-१ को बराबरीपछि टाइब्रेकरमा ३-२ ले विजयी भएको क्रोएसिया क्वार्टरफाइनलमा पनि टाइब्रेकरमै विजयी भएको हो ।

क्वार्टरफाइनलमा रसियासँग २-२ को बराबरीपछि टाइब्रेकरमा क्रोएसिया ४-३ ले विजयी भएको थियो । सेमिफाइनलमा बलियो मानिएको इंग्ल्याण्डलाई २-१ ले हराएको थियो ।

फाइनलमा क्रोएसियाले फ्रान्सलाई हराउन सक्ने आधार के छन् त ?

चमत्कारी टिम र प्रेरणा

क्रोएसियाका प्रशिक्षक जाल्ट्को डेलिकले उत्कृष्ट काम गरेका छन् । टिमको वातावरण अहिलेजस्तो राम्रो पहिले थिएन ।

यही कुरा खेलाडीहरुले पनि बारम्बार भन्ने गरेका थिए । रसिया विश्वकपमा अहिले उनीहरुले परिवारको वातावरण पाएका छन् । उनीहरु ५० दिनभन्दा अघिदेखि साथैमा छन् । खेलाडी मैदानमा एकअर्काका लागि ज्यान दिएर खेल्छन् । लगातार तीन खेलमा अतिरिक्त समयसम्म खेल्दा पनि उनीहरुले सामूहिक रुपमा जित निकाल्न प्रयासरत थिए ।

मनोविज्ञान र आचरण

डेनमार्क, रसिया र इंग्ल्याण्ड यी तीन देश हुन्, जसले सुरुमा अग्रता लिएर पनि हार बेहोरे । यी तीनै देशसँग सुरुमा पछि परेर पनि जित निकाल्ने टिम क्रोएसिया नै हो । डेनमार्क र रसियासँगको खेल क्रोएसियाले टाइब्रेकरमा जित्यो ।

इंग्ल्याण्डसँगको खेलमा भने अतिरिक्त समयको गोलले जित निकाल्न सफल भयो । क्रोएसिया ‘कमव्याक किङ’ को रुपमा उदाएको छ । यसमा खेलाडीले देखाएको मनोवैज्ञानिक तथा शारीरिक सबलताको भूमिका महत्वपूर्ण छ ।

कप्तान लुका मोडरिकले बारम्बार भन्ने गरेका छन्, ‘हामीले हाम्रो आचरण प्रस्तुत गरेका छौं ।’ क्रोएसियाको यही असल आचरण फ्रान्ससँगको फाइनलमा काम लाग्ने छ ।

अनुभव र आत्मविश्वास

मोडरिक क्रोएसियाको उत्कृष्ट पुस्ताको नेतृत्वमा छन् । रियल मडि्रडका मोडरिकसँगै बार्सिलोना, इन्टर मिलान, युभेन्टस र लिभरपुलका खेलाडीहरु पनि क्रोएसियन टिमको साथमा छन् ।

इभान र्‍याकिटिक, मारियो मान्जुकीज, इभान पेरिसिक, माटेओ कोभासिक र डिजेन लोभरेनले उत्कृष्ट खेल देखाइरहेका छन् । टिममा रहेका खेलाडीको औसत उमेर २७ वर्ष १० महिना छ । जसमा अनुभव सँगै आत्मविश्वास बलियो छ ।

बलियो मिडफिल्ड

क्रोएसियन टिमको प्रमुख जितको आधार मिडफिल्डबाट नै बनेको देख्न सकिन्छ । अहिले विश्व फुटबलमै उत्कृष्ट रहेका इभान र्‍याकिटिक र लुका मोडरिकले मिडफिल्डबाट क्रोएसियन टिमको अग्रता बनाइरहेका छन् ।

मिडफिल्डसँगै अट्याकिङ लाइन पनि रचनात्मक, संगठित र संरचित लाग्छ । उनीहरुको खेलमा अरु खेलाडीले पनि तालमेल मिलाइसकेका छन् । उनीहरुसँगै मिडफिल्डमै इन्टर मिलानका मार्सेलो ब्रोजोभिकले पनि गजवको काम गरिरहेका छन् ।

रियल मड्रडकै माटेओ कोवासिक, फिरोन्टेनियाका मिलान बडेल्ज सबै नै क्रोएसियन फुटबल इतिहासकै उत्कृष्ट पुस्ता हुन् ।

यो पनि पढ्नुहोस्

फ्रान्सले जित्न सक्छ विश्वकप, यस्ता छन् ४ कारण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment