Comments Add Comment

अमेरिका-चीन व्यापार युद्धको असर फेसबुक र गुगलमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छेडेको व्यापार युद्ध सिलिकन भ्याली छिरेको छ ।

ट्रम्प प्रशासनले चीनबाट आयात हुने नेटवर्किङ उपकरणहरुमा कर लगाउने घोषणा गरेको छ ।

यसले ग्लोबल क्लाउड कम्प्युटिङ सेवाका लागि चिनिया उपकरण खरीद गरिरहेका कम्पनीहरुलाई समस्यामा पार्नेछ । गुगल, फेसबुक तथा अमेजनजस्ता कम्पनीहरु यसको मारमा पर्ने विश्लेषकहरु बताउँछन् ।

कम्प्युटर चिप निर्माता इन्टेलले पनि चिप निर्यातमा करवृद्धिको सामना गर्नुपर्नेछ । अमेरिकी कम्पनीहरुले समेत प्रायः कम्प्युटर चिप्सको एसेम्बलिङ, टेस्टिङ तथा प्याकेजिङका लागि चीनमा पठाउने गरेका छन् । अब चीनमा तयार भएका त्यस्ता चिप्स पुनः अमेरिका भित्राउँदा अमेरिकी कम्पनीहरुले ‘जरिवाना’ तिर्नुपर्नेछ ।

अमेरिकी ठूला प्रविधि कम्पनीहरु व्यापार युद्धको विपक्षमा उभिँदै आएका छन् । अब प्राविधिक उपकरण तथा सेवाको समेत कर लाग्ने देखिएपछि सिलिकन भ्यालीका नेताहरुको आवाज झनै प्रखर बन्ने देखिएको छ ।

अमेरिकामा २ खर्ब डलर मूल्यका मोडेम तथा राउटर्स जस्ता उपकरणहरु वर्षेनी चीनबाट भित्रिने गरेका छन् । आगामी अगष्ट ३० बाट यस्ता उपकरणमा १० प्रतिशत अतिरिक्त कर लाग्नेछ । यसले विश्वव्यापी रुपमा वस्तु तथा सेवा प्रदान गर्न वृहत सूचना प्रविधि सञ्जालको प्रयोग गरिरहेका प्रविधि उद्योगहरु समेत प्रभावित हुनेछन् ।

पछिल्लो १२ महिनामा अमेरिकामा आयात भएका २३ अर्ब डलर बराबरका आइटी नेटवर्क गिएरमध्ये आधाजसो चीनबाटै भित्रिएका छन् ।

यस्तो अवस्थामा कि त अमेरिकी प्रविधि कम्पनीहरुले चीन बाहेकका अन्य देशका उत्पादकहरुको विकल्प खोज्नुपर्नेछ वा मूल्यवृद्धिलाई आत्मसात गर्नुपर्नेछ । कतिपय उपकरण उत्पादक कम्पनीहरु त चीनबाट भियतनाम र मलेसिया जस्ता देशमा सर्न पनि सक्दछन् ।

यद्यपि फेसबुक, अमेजन तथा गुगल जस्ता कम्पनीहरुले अस्थायी तथा न्यूनदरको मूल्यवृद्धिलाई धान्न सक्दछन् । तर सबैभन्दा ठूलो चासो भनेको करवृद्धिबाट आपूर्ति श्रृंखलामा अवरोध हुने र वस्तु तथा सेवाको वितरणमा ढिलाई हुनेछ ।

अमेरिकाका ठूला सूचना प्रविधि उद्योगको साझा संस्था सूचना प्रविधि उद्योग आयोगले मोडेम तथा राउटर्सको आयातमा समेत करवृद्धि हुने ट्रम्प प्रशासनको पछिल्लो घोषणा सँगै चासो व्यक्त गरेको छ ।

प्रष्ट उद्धेश्य तथा दृष्टिकोण विना उल्लेखित उपकरणहरुमा थप कर लगाउने राष्ट्रपतिको निर्णयले अमेरिकी रोजगार तथा लगानीलाई खतरामा पार्नेछ, आयोगले भनेको छ ।

त्यस्तै सेमिकन्डक्टरमा २५ प्रतिशत भन्सार लगाउने सरकारी निर्णयपछि अमेरिकी चिप मेकर कम्पनीहरु पनि विरोधमा उत्रिएका छन् । चीनबाट आयात हुने कम्प्युटर चिप्स अमेरिकी कम्पनीकै उत्पादन भएको र फगत चिनिया आपूर्ति श्रृंखलामात्रैको उपयोग गरिएको उनीहरुको दाबी छ ।

सिएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment