Comments Add Comment

फ्रान्सले जित्न सक्छ विश्वकप, यस्ता छन् ४ कारण

३१ असार, काठमाडौं । विश्वकप फुटबलको फाइनलमा पुग्नुअघि नै टिमले हरेक अवस्थाको सामना गरिसकेको हुन्छ । समूह चरणदेखि बलियो देखिँदै आएको फ्रान्स पनि फाइनलसम्म पुग्दा नयाँ लयमा देखिएको छ ।

सबै खेल हेर्दा फ्रान्सले विश्वकप उपाधि दोस्रो पटक उचाल्ने बलियो आधारहरु देखिन्छन् । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले टिममा उस्तै खाले खेलाडी राखेको र फरकपना नदेखिएको भनेर आलोचना खेपेको धेरै भएको छैन । धेरैले त फ्रान्समा फुटबलका हजारौं प्रतिभा छन् तर परख भएको छैन भनिरहेका हुन्थे ।

त्यो आलोचना यसपटक रसिया विश्वकपमा तोडिएको छ । अर्जेन्टिनासँगको खेल हेरौं या उरुग्वेसँगको प|mान्स टिम उत्कृष्ट थियो । के त्यसो भए यसपटक खेलाडी फरक भएर हो त ? होइन, सबै उस्तै नै हुन् । तर, खेल्ने तरिका भने फ्रान्स टिमले फरक बनाएको छ ।

फ्रान्सले समूह चरणमा अस्टे्रलियालाई २-१, पेरुलाई १-० ले हराएको थियो भने डेनमार्कसँग गोलरहित बराबरी खेेलेको थियो ।

अन्तिम १६ मा अर्जेन्टिनालाई ४-३ ले हराएको फ्रान्सले क्वार्टरफाइनलमा उरुग्वेलाई २-० ले हराएको थियो । सेमिफाइनलमा लयमा देखिएको बेल्जियमलाई १-० ले हराएको थियो ।

दृढता

डिफेन्स र फरवार्ड लाइन दुवैमा फ्रान्स टिमले निकै राम्रो काम देखाइरहेको छ । तथ्यांकलाई मात्रै हेर्ने हो भने पनि त्यो कुरा बुझ्न सकिन्छ । विश्वकपमा सबै खेलमा फ्रान्स पछाडि परेको भनेको ९ मिनेट मात्रै हो ।

विश्वकपमै सबैभन्दा बढी डिफेन्स लाइनमा बल पोसेसन मिलाउने फ्रान्सकै एन्जेलो कान्टे हुन् । उनले ४८ पटक बल पोसेसन मिलाएका छन् । गोलकिपर हृयुगो लोरिसले पनि पोस्टको दिशामा आएका पछिल्ला सात प्रहार बचाएका छन् ।

विश्वकपमा कम्तीमा १० खेल खेलाएका प्रशिक्षकलाई हेर्ने हो भने पनि फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सको जितको प्रतिशत अरुको भन्दा बढी छ । पछिल्लो ११ खेलमा उनीहरुले ८ खेल जितेका छन् ।

सामूहिक साझेदारी

‘विश्वकपले प्रतिभालाई देख्दैन, टिमलाई मात्रै देख्छ’ बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले फ्रान्ससँग सेमिफाइनल खेल हारेपछि उनीहरुको सामूहिक साझेदारीको तारिफ गर्दै भनेका थिए ।

पहिलो त, महत्वपूर्ण खेलमा कुनै एक खेलाडी मात्रै पनि चम्केर गोल गर्दै टिमलाई जित दिलाउन सक्छन् । तर, त्यसमा एक्लो बलले भने केही हुँदैन । सबैसँगको तालमेल निकै आवश्यक हुन्छ ।

फ्रान्स टिममा हेर्दा हरेक एक्लो खेलाडी उत्कृष्ट लाग्छन् । त्यससँगै उनीहरुले गजबको तालमेल पनि मिलाएका हुन्छन् । त्यतिमात्रै होइन तेस्रो रोजाईका गोलकिपरदेखि सेक्युरिटीसम्म, सुरुवाती ११ का खेलाडीदेखि सहायक प्रशिक्षकसम्म सबैले जितका लागि उस्तै मेहनत गरेका छन् ।

बहुमुखी क्षमता

विपक्षी टिम बुझेर कोविरुद्ध कसरी खेल्ने भन्ने फ्रान्स टिमले राम्ररी बुझेको छ । त्यही नै उत्कृष्ट विशेषता हो । विपक्षी अनुसार खेल खेलेर चाहेको जस्तो काम दिन सक्ने खुबी फ्रान्सको टिममा देखिएको छ । फ्रान्सले एउटा खेल ४-३-३ को शैलीमा र अर्को खेल ४-२-३-१ को शैलीमा पनि उस्तै राम्ररी खेल्न सक्छ ।

यो विश्वकपका खेल हेर्दा हामीले बुझ्नुपर्ने कुरा के हो भने, विश्वकपमा कुनै पनि टिम कमजोर थिएनन् र छैनन् पनि । बल धेरैबेर पास खेलेर वा छल्लाएर पनि जित मिल्दैन । अनुभवि र चलेका खेलाडी भएर पनि जित मिल्दैन । कसरी मिल्छ त ? त्यसका लागि हरेक कुरा चाहिन्छ । खेलअनुसार ती कुरा प्रयोग गर्नुपर्छ । जुन फ्रान्सले गरिरहेको छ ।

इतिहास

फ्रान्सले विश्वकप जितेको २० वर्ष भइसकेको छ । एकपटक मात्रै विश्वकप जिते पनि हरेक पटक उत्कृष्ट दाबेदारी पेश गर्ने फ्रान्स टिम बलियो मनस्थितिमा हुन्छ । क्रोएसियालाई हराउन सके प्रशिक्षक डेसच्याम्प्स खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्ने तेस्रा खेलाडी हुने छन् ।

यसअघि ब्राजिलका मारियो जागालो र जर्मनीका फ्रान्ज बेकेनबेउरले खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जितेका थिए । अहिलेसम्म १४ पटक विश्वकप खेलेको फ्रान्स सन् १९९४ यताका सबै विश्वकपमा सहभागी हुँदै आएको छ । गएको विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो । फ्रान्स दुई पटक फाइनलसम्म र पाँच पटक सेमिफाइनलसम्म पुगेको छ ।

यो पनि पढ्नुहोस्

क्रोएसियाले जित्न सक्छ विश्वकप, यस्ता छन् ४ कारण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment