Comments Add Comment

विश्वकप उपाधि : फ्रान्सले जित्ला कि क्रोएसियाले इतिहास रच्ला ?

३१ असार, काठमाडौं । एक महिनाअघि सुरु भएको विश्वकप फुटबल आज सकिदैछ ।

विश्वकपको सबैभन्दा महत्वपूर्ण क्षण अर्थात उपाधि जित्ने टिमको छिनोफानो आइतबार राति पौने ९ बजे क्रोएसिया र फ्रान्सबीचको खेलले लगाउनेछ ।

मस्कोको लुजिन्की रंगशालामा दुवै टिम आफ्नो पुरानो लय कायम राख्न चाहन्छन् ।

फाइनल खेल फ्रान्सले जितेमा उसले विश्वकप उपाधि संख्या दुई पर्‍याउनेछ भने क्रोएसियाले जितेमा विश्वकप जित्ने नयाँ टिम हुनेछ ।

फ्रान्सका मिडफिल्डर ब्लेस माटुडी चोटमुक्त भएका छन् । फ्रान्सले क्रोएसियाविरुद्ध आफ्नो पहिलो रोजाइकै सुरुवाती ११ लाई खेलाउँदै छ । प्रशिक्षक डिडिएर डेसच्याम्प्सले अगाडिका खेलमा जस्तै रणनीति क्रोएसियाविरुद्ध अपनाउने बताएका छन् ।

क्रोएसियाका प्रशिक्षक जाल्ट्को डेलिक खेलाडीहरु सामान्य चोटबाट गुज्रिरहेकाले समस्यामा छन् । महत्वपूर्ण खेलाडी इभान पेरेसिक पनि चोटका कारण शुक्रबारको अभ्यासमा थिएनन् । उनी खेल्न सक्छन् भन्ने विश्वास भने गरिएको छ ।

अघिल्लो रातभर ज्वरोले सताएको भोलिपल्ट पनि इभान र्‍याकिटिक इंग्ल्याण्डविरुद्ध १ सय २० मिनेट खेलेका थिए । फ्रान्सविरुद्ध पनि उनको उपस्थिति महत्वपूर्ण रहेको प्रशिक्षकले बताएका छन् ।

अस्वस्थ भइरहेका बेला ‘खुट्टै नभए पनि म विश्वकप फाइनलमा खेल्ने छु’ भन्ने र्‍याकिटिकको भनाइले पनि उनको आत्मविश्वास देखिन्छ ।

यसभन्दा अघि

क्रोएसियासँगको पाँच खेलमा फ्रान्स अपराजित रहेको छ । तीन खेल जितेको छ भने दुई खेल बराबरी भएको छ । जसमा फ्रान्सले ९ गोल गरेको छ भने ३ गोल खाएको छ ।

क्रोएसिया पहिलो पटक विश्वकप खेल्दा सन् १९९८ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यो बेला फ्रान्ससँग नै २-१ ले हारेको थियो ।

क्रोएसिया र फ्रान्सबीच २००४ को युरो कपमा समूह चरणमा भेट हुँदा २-२ को बराबरी भएको थियो । २०११ मा भएको मैत्रीपूर्ण खेलमा भने गोलरहित बराबरी भएको थियो ।

रसिया विश्वकपमा दुई टिम

फ्रान्सले समूह चरणमा अस्ट्रेलियालाई २-१, पेरुलाई १-० ले हराएको थियो भने डेनमार्कसँग गोलरहित बराबरी खेेलेको थियो ।

अन्तिम १६ मा अर्जेन्टिनालाई ४-३ ले हराएको  फ्रान्सले क्वार्टरफाइनलमा उरुग्वेलाई २-० ले हराएको थियो ।

सेमिफाइनलमा लयमा देखिएको बेल्जियमलाई १-० ले हराएको थियो ।

क्रोएसियाले समूह चरणमा नाइजेरियलाई २-०, अर्जेन्टिनालाई ३-० र आइसल्याण्डलाई २-१ ले हराएको थियो । अन्तिम १६ मा डेनमार्कसँग १-१ को बराबरीपछि टाइब्रेकरमा ३-२ ले विजयी भएको क्रोएसिया क्वार्टरफाइनलमा पनि टाइब्रेकरमै विजयी भएको हो ।

क्वार्टरफाइनलमा रसियासँग २-२ को बराबरीपछि टाइब्रेकरमा क्रोएसिया ४-३ ले विजयी भएको थियो । सेमिफाइनलमा बलियो मानिएको इंग्ल्याण्डलाई २-१ ले हराएको थियो ।

यसभन्दा अघि एक खेल गोलरहित बराबरी खेलेको फ्रान्सले समग्रमा १० गोल गरेको छ भने ४ गोल खाएको छ । सबै खेल जितेको क्रोएसियाले १२ गोल गरेको छ भने ५ गोल खाएको छ ।

फ्रान्सले ६ खेलमा ३७ प्रहार गरेको थियो भने क्रोएसियाले ३८ प्रहार गरेको थियो । जसमा पोस्टको दिशामा फ्रान्सले २३ प्रहार गरेको थियो भने क्रोएसियाले २५ प्रहार गरेको थियो ।

पासमा हेर्दा क्रोएसिया अघि देखिएको छ । क्रोएसियाले ३ हजार २ सय ९३ पास सही खेलेको थियो भने फ्रान्सले २ हजार ७ सय ६८ पास खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment