Comments Add Comment

कान्टे खेल्दा मैदानमा फ्रान्सका १२ खेलाडी !

'रसिया विश्वकपकै उत्कृष्ट खेलाडी'

३१ असार, काठमाडौं । इंग्ल्याण्डका पूर्वखेलाडी साथै अहिलेका फुटबल पण्डित गेरी लिनेकेरले रसिया विश्वकपमा सबैभन्दा उत्कृष्ट खेलाडी फ्रान्सका एन्जेलो कान्टे रहेको र फाइनलमा उनको प्रभाव देखिने बताएका छन् ।

पोउल पोग्वासँगै फ्रान्सको मिडफिल्डमा राम्रो खेल देखाइरहेका कान्टेले डिफेन्स र अट्याक दुवैमा उस्तै सहयोग पुर्‍याउन सक्छन् । क्रोएसियासँग आइतबार राति पौने ९ बजे हुने फाइनलमा पनि मिडफिल्डमा उनको भूमिका महत्वपूर्ण रहेको लिनेकेरले बताएका छन् ।

बार्सिलोनाका पूर्वस्ट्राइकर समेत रहेका लिनेकेरले क्रोएसियाको मिडफिल्ड बलियो रहेकाले फ्रान्समा पनि कान्टेको भूमिका बढेको बताएका हुन् ।

‘मेरा लागि विश्वकपमै अहिलेसम्मकै उत्कृष्ट खेलाडी कान्टे नै हुन्’ फ्रान्सको पत्रिका एलइक्विपसँग उनले भनेका छन्, ‘कान्टे हुँदा फ्रान्स टिममा १२ खेलाडी मैदानमा रहे जस्तै हुन्छ । दुई खेलाडी बराबर त उनी एक्लै छन् । उनी सबैतिर उस्तै राम्रो गर्छन् ।’

सन् २०१५ मा इंग्लिस क्लब लिसेस्टर सिटीमा उत्कृष्ट खेल देखाएको उनी गएको सिजन चेल्सीमा थिए । हरेक समय लयमा देखिएका उनलाई अहिले स्पेनिस क्लब बार्सिलोनाले लैजान खोजेको भन्ने खबर पनि आइरहेका छन् ।

‘उनी खेल असाध्यै राम्ररी बुझेर खेल्छन् । मिडफिल्डमा उनले जसरी राम्रो खेल्ने खेलाडी अरु मैले देखेको छैन । उनी बल खोस्न र पास दिन दुवैमा राम्रो छन्’ लिनेकेरले भने, ‘कान्टेले फर्ममा रहेर खेले भने फ्रान्सलाई अरुले हराउन सक्दैन ।’

सन् २०१६ को युरोकप फाइनलमा  फ्रान्स पोर्चुगलसँग हार्दा कान्टे खेलमा थिएनन् । प्रशिक्षक डिडिएर डेसच्याम्प्सले युरो फाइनलमा कान्टेलाई किन खेलाएनन् भनेर आफूले अझै सोचिरहेको लिनेकेरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment