Comments Add Comment

प्रम ओलीले लेखे कविता : मरे पनि केही छैन, सपना देख्न पाऊँ !

'बाँचुञ्जेल हो जिन्दगी, मर्नु त छँदैछ'

३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पुगेर कविता लेखेका छन् ।

१० हरफको कवितामा प्रधानमन्त्री ओलीले ‘मरेपछि पनि सपना देख्न पाउँ’ भन्ने कामना गरेका छन् ।

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको तीनदिने हिमवत कला साहित्य सम्मिलनको अन्तिम दिन कवि कलाकारहरुसँगै केवलकार चढेर चन्द्रागिरि उक्लिएका प्रधानमन्त्री ओलीले कविता रचेका हुन् ।

शीर्षकविनााको कवितामा प्रधानमन्त्री ओलीले सपनामा भए पनि लहलह खेतबारी, झपक्क कान्ला र आली देख्न पाउँ भनेका छन् । उनले कवितामा भनेका छन्- चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ ।

प्रधानमन्त्री केपी ओली सपना देखाउने नेताका रुपमा चिनिन्छिन् । पानीजहाज, रेल इत्यादिको सपना देखाएवापत उनलाई व्यंग्य गर्ने क्रम पनि बढिरहेकै छ । तर, यहीबेलामा प्रधानमन्त्री ओलीले कवितामा समेत सपनाकै कुरा गरेका छन् । र, मरेपछि पनि सपना देखिरहन पाउँ भन्दै उनले आफूले देख्दै आएका सपनाहरुको प्रतिरक्षा गरेका छन् ।

हेर्नुस् भिडियो

आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय वृहत हिमवत् खण्ड कला साहित्य सम्मिलनको अन्तिम दिन स्रष्टाहरु चन्दागिरि सिर्जना यात्रामा भेला भएका थिए

साहित्यिक सिर्जनामय चन्द्रागिरि

आइतबार चन्द्रागिरिको डाँडामा प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै भालेश्वरको काखमा रहेको सभाहलमा काव्यिक गुञ्जन सिञ्चन भइसकेको थियो । प्रधानमन्त्री ओली र स्वदेश विदेशका वरिष्ठ साहित्यकारहरुले सातै प्रदेशका प्रतिनिधि कविका समृद्धिका स्वर ध्यानपूर्वक सुने ।

कविता वाचन हुनुपूर्व पर्यटकीयस्थल चन्दागिरिको भालेश्वर मन्दिर अवलोकन र नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर स्रष्टाहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हरेक नेपालीले कर्मी मौरीले झैँ समृद्धिका लागि काम गर्न आग्रह गरे । त्यसैअनुरुप कविहरुले पनि कविता सिर्जना गरे ।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय वृहत हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ को अन्तिम दिन स्रष्टाहरु चन्दागिरि सिर्जना यात्रामा भेला भएका थिए । सम्मिलन आयोजनाका परिकल्पनाकार प्रधानमन्त्री ओली पहिलो र अन्तिम दिन स्रष्टाहरुका साथैमा रहे ।

प्रधानमन्त्रीसँगै चन्द्रागिरि हिल्सका अध्यक्ष चन्ऽ ढकालले पनि मञ्चमा बसेर कविता श्रवण गरे । छिनछिनमा परिवर्तन हुने चन्द्रागिरिको वातावरणलाई नियाँल्दै नयाँ समृद्धिको सपना देख्ने कविहरुले घाम, पानी, कुहिरोको दृष्यलाई पृष्ठभागमा राखेर हिमाली संस्कृति र सभ्यताको झलक प्रस्तुत गरे ।

काठमाडौँका कवि डा. रामप्रसाद ज्ञवालीले भाका हालेर यसरी कविता सुनाए-

उड्दैछन् पुतली स्वयम् सुर लिई आकाशमा फर्फर
नेपाली यदि स्वाभिमान छ भने आफैँ उठाऊ शीर

त्यसैगरी गण्डकी प्रदेशको गोरखाका कवि नारायण पोखरेलले शादूुलविक्रीडित छन्दमै थपे-

ऊर्जा छैन विदेशमा कहरले नेपालको तागत
के समृद्ध बनाउने रहर यो डाकेर अभ्यागत ?

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीका कवि बुँद रानाले गजलबाट समृद्धिको तीर्खा यसरी मेटे-

अरु छैन धोको यति गर्न पाउँ
वतनको सिपाही भई मर्न पाउँ
चुनौतीहरुको छ जंघार चर्काे
नमानेर झर्काे सधैं छर्न पाउँ

कविहरु डीएम कन्दङ्वा, आभाष सेतु सिंह, प्रकाश चापागाईं, लक्ष्मी माली, लक्ष्मी थापा, हीरा शर्मा, वासुदेव पाण्डे, रघुराम कडरिया, तुल्सी शर्माले समृद्धिका स्वरमा आफ्ना सिर्जना मिसाए ।

सम्मिलनमा सहभागी विदेशी स्रष्टाहरुले पनि आफ्ना रचना प्रस्तुत गरे । भुटानका छत्रपति फुयाँल, भारत सिलगडीका ज्ञानेन्द्र खतिवडा र कालुसिंह रणपहेँली, दार्जीलिङका कर्ण विरह, खर्साङकी उषाकिरण सत्यदर्शी, आसामका विष्णु शास्त्रीलगायत बंगलादेश, थाइल्याण्डबाट सहभागी कविले समेत चन्द्रागिरिमा कविता प्रस्तुत गरेका थिए । (राससको सहयोगमा)

यो पनि पढ्नुहोस्

केपी ओलीको ‘मविवि शाह’ रुप !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment