Comments Add Comment

पत्रपत्रिकामा आजः नेपालसम्मकै जलमार्ग भारतले बनाइदिने, सीडीओ पत्नी स्वकीय सचिव !

३१ असार, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट सोमबार प्रकाशित बिभिन्न पत्रिकाहरुले रुसमा भएको २१ औं विश्वकप प्रतियोगितामा फ्रान्स विजेता बनेको विषयलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

त्यसका साथै १६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भिर बन्दै गएका वेला बाहिरी भेटघाट गर्न प्रतिबन्ध लगाइएको खबरदेखि पानी जहाज चलाउन नेपाल र भारतबीच प्राविधिक बैठक सुरु भएको खबर समेटिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा सुधारको विषय संसदबाटै टुंगो लगाउनु पर्ने उल्लेख गर्दै संसदभन्दा बाहिरबाट सम्बोधन गर्न नसकिने बटमलाइन राखेको, विदेशमा पढेका ८८ प्रतिशत डाक्टर फेल हुने गरेको, वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारसँग करिब ३ अर्ब रुपैयाँ ठगीको आरोप खेपेको मलेसिया भीएलएन कम्पनीको दर्तामै बदनियत भेटिएको, उपत्यकाको फोहोर केही दिनदेखि नउठ्दा राजधानीमा हैजा फैलिन सक्ने चिकित्सकको चेतानवी लगायतका समाचार आज पत्रिकाहरुको पहिलो पृष्ठमा छन् ।

त्यसका अलावा ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मास्टरमाइन्ड चुडामणि उप्रेती गोरेले प्रहरीको सुरक्षामाथि शंका गर्दै सेनाको सुरक्षा मागेकोदेखि उप्रेतीका भाइ रमेश दूबईमा पक्राउ परेका समाचार पनि आज समेटिएका छन् ।

पानीजहाज चलाउन प्राविधिक बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाज सञ्चालन गर्ने घोषणालाई डुंगासँग तुलना गरेर मजाक उडाउने काम भइरहेका वेला सरकारले पानीजहाज सञ्चालनका लागि आवश्यक काम अगाडि बढाएको छ ।

सरकारले पानीजहाज सञ्चालन गर्ने प्रधानमन्त्री ओलीको घोषणा कार्यान्वयका लागि प्राविधिक पक्षमाथि छलफल सुरु गरेको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छन् ।

समाचारमा भनिएको छ, ‘जल तथा उर्जा आयोगले भारतको पानीजहाज प्राधिकरणका पदाधिकारीलाई काठमाडौं झिकाएर पानीजहाज सञ्चालनको विषयमा छलफल गरेको आयोगले जनाएको छ । आइतबारदेखि सुरु भएको छलफलमा नेपाल र भारत दुवै पक्षले आआफ्नो प्रस्तुति राखेका छन् ।’

यही विषयलाई नयाँ पत्रिका दैनिकमा कृष्ण रिजालले ‘नेपालसम्मकै जलमार्ग भारतले बनाइदिने’ शीर्षकमा भारतले आफ्नै लगानीमा स्थलगत जलमार्ग नेपालसम्म जोडिने भएको लेखेका छन् ।

समाचारमा भनिएको छ, ‘नेपाल–भारत स्थलगत जलमार्ग निर्माणको विाष्यमा छलफल गर्न आएको भारतीय टोलीले नेपालसम्म नै जलमार्ग निर्माण गर्ने योजनाबारे नेपाली पक्षलाई जानकारी गराएको हो ।’

भारतको स्थलगत जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डेको नेतृत्वमा आएको भारतीय टोलीले बिहारको पटनासम्म निर्माण सम्पन्न भइसकेको जलमार्गलाई नेपालसम्म जोड्ने आफूहरुको योजना रहेको जल तथा उर्जा आयोगका सहसचिव तथा इनल्यान्ड नाटर वे अध्ययन समितिका संयोजक माधव बेल्वासेले बताए ।

‘भारतीय टोलीले पटनादेखि नेपालको गण्डक ब्यारेज क्षेत्रसम्म नै जलमार्गको विकास गर्ने योजना रहेको जनाएको छ’, उनको भनाइलाई उदृत गर्दै भनिएको छ, ‘पटनासम्म जलमार्ग विकास सकिएको छ जुन छिटै सञ्चालनमा आउनेछन्, त्यहाँबाट नेपालसम्मै विकास गर्ने योजना रहेको उनीहरुले सुनाए ।’

विदेशमा पढेका ८८ प्रतिशत डाक्टर फेल

नयाँ पत्रिका दैनिकका अनुसार गत वर्ष १६ मंसिरमा नेपाल मेडिकल काउन्सिलले लिएको परीषमा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भएका छन् ।

त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना जना असफल भए । यसरी एमबिबिएसतर्फ ८८ प्रतिशत र बिडिएसतर्फ ९० प्रतिशत डाक्टर काउन्सिलको परीक्षामा असफल भएको उल्लेख गरिएको छ ।

साथै, विदेशमा पढेका अधिकांश डाक्टर फेल हुनुको कारणबारे पनि समाचारमा उल्लेख गरिएको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटालाई उदृत गर्दै कतिपय डाक्टरले लाइसेन्स लिन ३६ पटकसम्म परीक्षा दिएको समेत उल्लेख गरिएको छ ।

चिकित्सा शिक्षा विधेयकः पेलेरै पारित गर्ने सरकारको तयारी

नागरिक दैनिकमा दीपक दाहालले सरकारले चिकित्सा शिक्षा विधेयक पेलेरै पारित गर्ने तयारी रहेको लेखेका छन् ।

चिकित्सा शिक्षा अध्यादेशकै स्वरुपमा ऐन ल्याउनुपर्ने माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्ता समेत नगरी सरकार बलपूर्वक चिकित्सा शिक्षा विधेयक आगडि बढाउन लागि परेको जनाइएको छ ।

अनशरत डा. केसीको स्वास्थ्य अवस्था दिनानुदिन गम्भीरु हुँदा पनि सरकार वार्ताद्वारा निकास निकाल्न नलागेको भन्दै आम चिकित्सकसमेत आन्दोलनमा रहेकै वेला सरकार बलपूर्वक विधेयक अगाडि बढाउन लागि परेको समाचारमा जनाइएको छ ।

समाचारमा भनिएको छ, ‘नागरिक समाज र बुद्धिजीवीले समेत वार्ताबाट सहमति खोज्न निरन्तर दबाब दिइरहे पनि सरकार टसमस भएको छैन ।’

त्यस्तै, शनिबार सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्काल वार्ता समिति बनाउने र विधेयक रोक्ने वचन डा. केसी पक्षधारलाई दिएको तर, केसीपक्षधरका चिकित्सक डा. अभिषेकराज सिंहले शनिबार श्रेष्ठले त्यसो भने पनि आइतबार शिक्षामन्त्रीले विधेयक नरोकिने अभिव्यक्ति दिएको र सरकार त्यही दिशामा अघि बढेको दाबी गरेको समाचारमा जनाइएको छ ।

यही विषयलाई कान्तिपुर दैनिकले डा. केसीको आमरण अनशन र उनका माग सम्बोधन गर्ने विषयमा भइरहेको उच्चस्तरको राजनीतिक छलफलमा ओलीले स्रसद्मा विधेयक पेस भइसकेकाले चिकित्सा शिक्षा सुधारका लागि विषय त्यहीँबाट टुंगिनुपर्ने धारणा राखेको उल्लेख गर्दै ‘चिकित्सा शिक्षा विधेक, सरकारको अडान’ शीर्षकमा खबर छापेको छ ।

राजधानी दैनिकले अनशनका कारण डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गउपछि संक्रमणको खतरा औंल्याउँदै चिकित्सकले बाहिरी भेटघाटन प्रतिबन्ध गरेको उल्लेख गरेको छ ।

डा. केसीको स्वास्थ्य अवस्था बुझ्न दैनिक डेढ सय बढी शुभचिन्तक आउने गरेका छन् । चिकित्सक नारयाण कँडेललाई उदृत गर्दै समाचारमा बाहिरबाट केसीलार्य भेट्न आउनेलाई रोक लगाइएको उल्लेख गरिएको छ ।

नेकपाको केन्द्रीय सदस्यलाई दुई गाउँपालिकाको जिम्मा

अन्नपूर्ण पोष्ट दैनिकका अनुसार पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वातै बढेपछि नेकपाले उनीहरुलाई दुई गाउँपािलकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ ।

९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्याएको विधानमा केन्द्रीय सदस्यहरुलार्य गाउँपालिका/नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको नरेन्द्र साउदले लेखेका छन् ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर सहमति जनाउनासाथ विधान छाप्न पठाइने सचिवालयका एक सदस्यलाई उदृत गर्दै अन्नपूर्णले जनाएको छ । विगतमा एमालेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइन्थ्यो ।

पार्टी एकतापछि केन्द्रीय सदस्यलाई स्थानीय तहको इन्चार्ज बनाउने व्यवस्था विधानमा गरिएको उच्च स्रोतलाई उदृत गर्दै लेखिएको छ ।

त्यस्तै, अन्नपूर्णमै नेकपाले पाटीृका कम्तीमा साढे २ लाखभन्दा बढी संगठित सदस्यलाई प्रत्यक्ष पार्टी जिम्मेवारी दिने भएको समेत लेखेको छ ।

पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिदेखि वडा कमिटीसम्म २ लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष पार्टी किमिटीको जिम्मेवारी पाउन लागेको समाचारमा जनाइएको छ ।

प्रहरीको सुरक्षामाथि गोरेलाई शंका, सेनाको माग

आजको नयाँ पत्रिका दैनिकका अनुसार साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड चुडामणि उप्रेती गोरेले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् ।

प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतलाई उदृत गर्दै टकेराज थामीले लेखेका छन् ।

‘सुरक्षामा खटिएको प्रहरी टोलीलाई टोलाएर हेर्छ । कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ । केही दिनअघि आफूलाई सेनाको सुरक्षा हुनु पर्ने माग ग¥यो । उसले किन यस्तो भनिरहेको छ थाहा भएन’, कारागार व्यवस्थापन कार्यालयका एक अधिकृतले भने ।

काठमाडौंस्थित केन्द्री कारागारको गोलघरमा कैद सजाय भोगिरहेका चुडामणि उप्रेती गोरे केही समयदेखि डिप्रेसनमा गएका छन् । कारागार व्यवस्थापन कार्यालयका अनुसार गोरे सकैसँग नबोल्ने, बोलिहाले पनि बेसुरको कुरा गर्ने, डराएजस्तो गर्ने, एक्लै बस्ने, अनायसै टोलउने र आँखाबाट आँसु झार्ने जस्ता व्यवहार देखाउने गरेका समाचारमा जनाइएको छ ।

जिल्ला अदालत, मोरङको आदेशपछि पुर्पक्षका लागि उनी कारागारमा छन् । त्यस्तै, उप्रेतीका भाइ रमेश दूबईमा पक्राउ परेको समेत उल्लेख गरिएको छ ।

र, यो पनि : सीडीओका पत्नी स्वकीय सचिव !

धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालप्रसा पराजुलीले जनकपुरमा कार्यभार सम्हालेको झन्डै तीन महिना भयो । उनका स्वकीय सचिवका रुपमा निजामतीबाट शिवचरणले काम गर्दै आएका छन् ।

तर, सीडीओ पराजुलीले स्वकीय सचिवको रुपमा पत्नी सुषमालाई पनि नियुक्त गरेको पाइएको अन्नपूर्ण पोष्टको प्रदेश २ पृष्ठमा अली असगर देवानले लेखेका छन् ।

रौतहटका सीडियो गोविन्दप्रसाद रिजालसँग पनि एक सरकारी कर्मचारी स्वकीय सचिवका रुपमा कार्यरत् छन् । तर, सीडीयो रिजालले करारतर्फ स्वकीय सचिवका रुपमा भाइ वासुदेव रिजाललाई नियुक्ति दिलाएका छन् ।

सप्तरीका सीडीओ सुरेन्द्र पाडैलले स्वकीय सचिव पदमा उचित मान्छे राखिएको बताए पनि नाम नखुलाएको समाचारमा उल्लेख गरिएको छ ।

समाचारमा भनिएको छ, ‘सिरहा, सर्लाही, बारा, पर्सासहित अन्य जिललाका सीडीओको पनि अवस्था उस्तै रहेको छ । करारमा राखिने स्वकीय सचिवमा सीडीओले नातेदारलाई जागिर खुवाउने गरेका छन् । सकारले सीडीओका लागि एक सवीकय सचिव करारमा राख्न पाउने व्यवस्था गरेको छ ।’

हेर्नुस् अाजका पत्रपत्रिकाको फ्रन्टपेज 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment