Comments Add Comment

रुपा गाउँपालिकामा इन्जिनियरिङको पढाइ

३१ असार, पोखरा । रुपा गाउँपालिका अधिकांश विद्यार्थी उच्च शिक्षाका लागि पोखरा झर्छन् । अध्ययनका लागि मात्रै होइन अन्य सुविधाका लागि पनि गाउँ छोड्ने क्रम बढ्दो छ ।

गाउँमै सुविधा पुर्‍याएर पूर्णधार निर्माण गर्दै र दक्ष जनशक्ति उत्पादन गरी गाउँमै लगाउने नीति गाउँपालिकाले लिएको छ ।

प्राविधिक जनशक्ति उत्पादन गरी गाउँमै लगाउने लक्ष्यसहित रुपा गाउँपालिकाका विद्यालयमा सभिल इन्जिनिरिङसहित बाली र पशुविज्ञान सम्बन्धी पढाइ हुने भएको छ ।

विश्व शान्ति माविमा साभिल इन्जिनियरिङ ३ वर्षीय डिप्लोमा, गाउँ फर्क माविमा पशुविज्ञान र रामकोट माविमा बालीविज्ञानको पढाइ हुन लागेको हो । पशु र बाली विज्ञान १८ महिने कोर्ष हुने छ ।

प्राविधिक शिक्षा पढाउन इच्छुक विद्यालयलाई आह्वान गरी गाउँपालिकाले सिटिइभिटिईमा पेश गरेको थियो । ३ विद्यालय प्राविधि शिक्षा पढाउन इच्छुक देखिएर गाउँपालिकाले सिटिइभिटिईमा माग पेश गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

‘हामीले ३ विद्यालयमा प्राविधिक शिक्षा पढाउनका लागि सम्बन्धन दिन सिटिइभिटिईसँग माग गर्‍यौं,’ गाउँपालिका अध्यक्ष नवराजले भने, ‘सिटिइभिटिईमार्फत सम्बन्धित विद्यालयको अनुगमन परिसकेर पनि सूचना प्रकाशित भइसकेको छ ।’

प्राविधिक शिक्षा पढाउन छनोटको अन्तिम चरणमा रहेको अध्यक्ष ओझाले जानकारी दिए ।

गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्यसहित बजेटमार्फत २४ लाख रुपैयाँसमेत छुट्याइसकेको र ५/५ लाख रुपैयाँ पहिलो किस्ता विद्यालयले लैजान लागेको उनले बताए ।

पशु तथा बालीविज्ञानका लागि पक्की भवनमा ४ कोठा, सिभिल इन्जिनियरिङका लागि १० कोठे पक्की भवन र १५ रोपनी जग्गा चाहिने मापदण्ड पूरा भइसकेको छ ।

‘सिभिल इन्जिनियरिङको पढाइ थाल्न भवन तयार छ । अहिले ल्याब लगायत अन्य तयारी गरिरहेका छौं,’ विश्वशान्ति माविका प्रध्यानाध्यापक वसन्त पहारीले भने, ‘इन्जिनियरिङ पढाउन हामी उत्साही छौं । सिटिइभिटिइले अन्तिम छनोट गरेसँगै पढाइ सुरु गर्ने तयारी गरेका छौं ।’

सिभिल इन्जिनियरिङ बाली तथा पशु विज्ञान पढाइ शुल्क सिटिइभिटीईले नै तोकअनुसार हुने उनको भनाइ छ ।

गाउँपालिकामा लगानी भित्राउन र गाउँसम्म विकास निर्माणलाई पु¥याउन चाहिने प्राविधिक जनशक्ति यहीँबाट उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष ओझाको भनाइ छ ।

‘हामीले व्यावसायिक कृषि तथा पशु पालनको योजना अगाडि बढाइरहेका छौं । पूर्वाधार विकास निर्माणलाई प्राथमिकतामा राखेका छौं,’ अध्यक्ष ओझाले भने, ‘त्यसका लागि पनि हामीलाई दक्ष जनशक्ति चाहिन्छ ।’

गाउँमै प्राविधिक शिक्षा पढाइ हुँदा धेरै कुरामा अर्थपूर्ण हुने उनको भनाइ छ । ‘एक त गाउँपालिकाका विद्यार्थीले गाउँमै प्राविधिक शिक्षा लिन पाए, अर्को गाउँमै सेवा गरे पनि नगरे पनि उनीहरु दक्ष भएर अन्य ठाउँमा पनि रोजगारी पाउने भए,’ अध्यक्ष ओझा भन्छन् ।

गाउँपालिकाभित्रका मात्रै नभएर आसपासका गाउँपालिका र अन्य ठाउँबाटसमेत प्राविधिक शिक्षा पढाउने गरी विकास गरिने उनले बताए ।

गाउँपालिकाभन्दा बाहिरबाट पढ्न आउने विद्यार्थीका लागि होस्टेलको व्यवस्था गर्ने योजनासहित अगाडि बढेको उनले सुनाए ।

तनहुँ, लमजुङ, मादी, पोखरालगायतका ठाउँबाट समेत प्राविधिक शिक्षा पढाउन रुपा पु¥याउने र रुपाका विद्यार्थीलाई बाहिर जान नपर्ने गरी प्राविधिक शिक्षालय स्थापना गर्ने गाउँपालिकाको योजना छ । रुपामा १० वटा मावि छन् ।

अन्य विद्यालयमा प्राविधियुक्त पढाइमा जोड दिइएको अध्यक्ष ओझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment