Comments Add Comment

देवीदेउता जुवा खेल्न कैलाशतिर, राक्षस भगाउन झ्यालढोकामा झिझिरकाँडा

३२ असार, दार्चुला । प्रदेश ७ का दार्चुला, बैतडीलगायत जिल्लामा साउन महिनासुरु भएसँगै घरका झ्याल, ढोकामा काँडेदार रुखका हाँगा राख्ने तयारी गरिएको छ । साउन महिना सुरु हुनै लाग्दा यहाँ झ्याल ढोकाहरुमा काँडेदार रुखहरुको हाँगा राख्ने प्रचलन छ ।

काँडेदार बिरुवालाई ‘झिझिरकाँडा’भनिन्छ । दार्चुला जिल्लाका विभिन्न स्थानमा असार मसान्तका दिन बेलुकी झ्याल ढोकाहरुमा भिझिरकाँडा राख्ने गरिन्छ भने कतिपय क्षेत्रमा साउन १ गते अर्थात साउने संक्रान्तीका दिन राख्ने चलन छ ।

किन राखिन्छ झिझिरकाँडा ?

साउने संक्रान्तीसँगै देवीदेवता शिव भगवान्को बासस्थान मानिने कैलाश जाने भएकाले सुरक्षाका लागि यहाँ स्थानीयहरुले झ्याल ढोकामा झिझिरकाँडा राख्ने चलन छ ।

नर अथवा मानिसहरुको रक्षा गर्ने देवीदेवता साउन महिना सुरु भएसँगै कैलाश जाने विश्वास गरिन्छ । जसकारण साउन महिनाभरी राक्षसहरुको बिगबिगी बढ्ने भएकाले राक्षसबाट बच्न झ्याल ढोकामा झिझिरकाँडा राख्ने चलन रहेको मार्मा गाउँपालिका-६ शेरीका स्थानीय पार्वती कोट्टारीको भनाइ छ ।

‘साउन महिनाभरी देवी देवता कैलाशतिर हुन्छन्, मानव बस्तीतिर राक्षसहरुको मनपरि चल्छ,’ उनले भने, ‘घरभित्र नआउन भनेर झ्याल ढोकामा झिझिरकाँडा राख्ने परम्परा पहिले देखिकै हो ।’

साउन महिना मानिसहरु देवी-देवताको साहारा बिना बस्नु परेकाले पनि विभिन्न घट्नाहरु हुने भन्दै असार मसान्तका दिन सस्र्याैं, कालोमास, गहत, जौं, तील जस्ता पञ्च नाजले परिवारका सबै सदस्यहरुको टाउकोमाथि घुमाएर बाहिर फाल्ने चलनसमेत छ ।

यसरी पाँच प्रकारका अन्नले टाउकोमाथि घुमाएर फालेपछि रोग ब्याधी, शरीरमा चोटपटक नलाग्ने जनविश्वास छ ।

मानव बस्ती देबीदेवता बिहीन हुने भएकोले साउन महिनालाई कालो महिनाको रुपमा लिइने मार्माका जगत डडालले बताए । यसरी मनाइने पर्वलाई ‘मैझारो’ पर्व पनि भनिन्छ ।

बर्खेबाली रोपी सकेकाले फुर्सदमा हुने भएकाले मैझारो पर्वका रुपमा सुदूदरपश्चिमका विभिन्न जिल्लामा यो पर्व मनाउने परम्परा छ ।

देवता र राक्षसबीच कैलाशमा जुवा

कैलाशमा देवीदेवता र राक्षसहरुले पासा अर्थात् जुवा खेल्ने गरेको जन विश्वास छ । साउन महिनामा कैलाशमा गएर देवीदेवता एकातिर र अर्काेतिर राक्षसको समूहबीच पासा खेलमा प्रतिष्पर्धा हुने गरेको बुढापाकाहरुले बताउने गरेको छन् ।

देवी देवताको विजय भएका मानव बस्तीहरुमा बाढी पहिरो, आतंक, महामारी जस्ता प्रकोपहरु कम हुने र राक्षसको विजय भएमा मानव बस्ती तथा प्रकृतिमा विभिन्न खालका समस्याहरु, बाढी पहिरोका घट्नाहरु धेरै हुन्छ भन्न जनविश्वास छ ।

साउन १ गते कैलाश गएका देवी-देवताहरु भाद्र १ गते फर्किन्छन् भन्ने चलन सुदूरपश्मिेली समाजमा छ ।

भाद्र १ गतेका दिन देवीदेवता र राक्षसबीचको प्रतिस्पर्धाको नतिजा सुनाइन्छ । भाद्र १ गते धामी झाँक्रीहरुले कैलाशको यात्रा, राक्षससँगको प्रतिष्पर्धा के कस्तो भयो लगायतका १ महिने कैलाश बसाइका बारेमा भलाकुसारी गर्ने गरेको जनविश्वास छ ।

पछिल्लो युवा पिढीँले पनि यो पर्वालाई मौलिक परम्पराका रुपमा आत्मसाथ गर्दै आएका छन् । जनविश्वास र समुदायको पहिचान भएकोले यो परम्परालाई निरन्तरता लिएको युवाहरुले बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment