Comments Add Comment

लुम्विनी अञ्चल अस्पतालाई साढे २५ लाखको उपकरण सहयोग

३२ असार, बुटवल । नवजात शिशु तथा प्रसुति उपचारमा प्रयोग हुने साढे २५ लाख रुपैयाँ बराबरको उपकरणहरु लायन्स क्लब अफ बुटवलले लुम्बिनी अञ्चल अस्पताल बुटवललाई प्रदान गरेको छ ।

इटालीस्थित गैरसरकारी संस्थाहरु एएनटी, एमटीटीएस र डे वान हेल्थले अमेरिकी डलर २१ हजार ५ -२५ लाख ५० हजार रुपैयाँ) बराबरका विभिन्न थरिका उपकरणहरु क्लबलाई उपलब्ध गराएको हो ।

नवजात शिशु र सुत्केरी आमाको उपचारमा प्रयोग हुने फायर फ्लाइट फोटोथेरापी, आई प्याच, अल्कोहल मिटर, स्कीन सेन्सर, कोलिब्री फोटोथेरापी, इन्फ्यान्ट वार्मर, बेबी बानेट, लाइट मिटर, ड्यूओ नोजल क्यानुल्स लगायतका उपकरणहरु लायन्स क्लब अफ बुटवलका अध्यक्ष सुनिलकृष्ण श्रेष्ठले अस्पताल विकास समितिका अध्यक्ष रमेश खनाललाई सोमबार हस्तान्तरण गरेका हुन् ।

क्लबका पूर्व अध्यक्ष अर्जुनमान सैंजूको संयोजन र लायन्स इन्टनेसनल डिस्टि्रक्ट ३२५ बी २ को सहकार्यमा क्लबले यी उपकरण नेपाल भित्राउन सफल भएको हो । यी उपकरणको प्रयोगले नवजात शिशुको उपचारमा सहजता आउने र जण्डिस लगायत रोगको संक्रमणबाट बचाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले बताए । ‘यस्ता उपकरण पहिलोपटक अस्पतालले पाएको छ,यसबाट प्रसुति हुन आउने आमा र बच्चा दुबैको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्नेछ’-खनालले भने ।

उपकरण प्रयोग गर्न सिकाउन इलाटीबाटै प्राविधिक टोली छिट्टै अस्पताल आउने लायन्स क्लब बुटवलका अध्यक्ष श्रेष्ठले बताए । सो अवसरमा लायन्स इन्टनेसनल डिस्टि्रक्ट ३२५ बी २ का गभर्नर सुनिल वझा,पूर्व गभर्नर महेन्द्र नारायण श्रेष्ठ, क्लबका सचिव आनन्द ओझाले लायन्स क्लबले अञ्चल अस्पतालको सहकार्यमा आँखा र मधुमेहको उपचारका लागि छुट्टै युनिट स्थापना गरी बिरामीलाई गुणस्तरीय सेवा दिन इच्छुक रहेको बताए ।

लुम्बिनी अञ्चल अस्पतालमा अहिले वार्षिक करिब १० हजार शिशुको जन्म हुने गरेको छ । ती मध्ये २६ प्रतिशत शल्यक्रियामार्फत जन्मिने अस्पतालका प्रवक्ता लक्ष्मीराज रेग्मी बताउँछन् ।

प्रसुति हुन आउने मध्ये एक प्रतिशत भन्दा बढी गर्भवतीलाई अन्यत्र रिफर गरिने रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment