Comments Add Comment

मोटरेवल पुलले जोड्यो गोरखा र तनहुँ

आवातजावतसँगै सामान ढुवानीमा सहज

३२ असार, गोरखा । गोरखाको पालुङटार नगरपालिका र तनहुँको बन्दिरपुर गाउँपालिका जोड्न मर्स्याङदी नदीमाथि मोटरेवल पुल निर्माण भएको छ ।

पुल निर्माण भएसँगै सोमबारबाट ठूला तथा साना सवारीसाधन संचालनमा आएका छन् । पुल निर्माणका लागि ०६९ साल असार २८ गते हेटौडा मकवानपुरको सपना निर्माण सेवा प्रालिले सडक डिभिजन कार्यालय दमौलीसँग ठेक्का सम्झौता गरेको थियो ।

कुल १४ करोड ५६ लाखको लागतमा १०० मिटर लम्वाइ र सात मिटर चौडाइको मोटरेवल पुल निर्माण भएको हो । पुल निर्माण भएसँगै गोरखाको च्याङली, धुवाकोट, पालुङटार, पौवाटार लगायतका स्थानीयहरुलाइ आवतजावतसँगै दैनिक उपभोग्य सामान ढुवानीमासमेत सहज भएको छ ।

कृषि उत्पादनलाई बजारसम्म ढुवानी गर्नपनि सहज हुने भन्दै स्थानीयहरु खुशी भएका छन् । ‘वारी बसेर पारीको हाइवे हेरेेको करिव ४० वर्ष भयो, पारी जस्तै हाम्रो गाउँमा पनि ठूला-ठूला मोटर कहिले आउला जस्तो लाग्थ्यो,’ च्याङलीका स्थानीय राजीव पन्तले भने, ‘अहिले पुल बन्यो, गाडी आउन थाले, खुशी लागेको छ ।’

पुल निर्माण भएसँगै कृषि प्रतिको आकर्षण बढ्ने उनले बताए । ‘यहाँ लिचि, केरा, तरुल, सखरखण्डा, उखुँ, पिडाँलु र मास एकदमै राम्रो हुन्छ, यसअघि उत्पादन भएको सामान बजार पुर्‍याउन समस्या थियो अब त पुल बन्यो मोटरमै लान सकिन्छ ।’ उनले भने ।

ढुवानी सहज भएसँगै कृषि पेशामा स्थानीयको आकर्षण बढ्ने उनले दावी गरे । दैनिक उपभोग्य सामान ढुवानीका लागी पनि स्थानीयहरुलाई पुलले सहज बनाइदिएको छ । सो क्षेत्रका स्थानीयहरु आवश्यक सामान खदिरका लागि तनहूको डुम्रे बजार जाने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment