Comments Add Comment

गोविन्द केसीबारे किन बोल्दैनन् स्वास्थ्यमन्त्री उपेन्द्र यादव ?

फोरम नेतृ भन्छिन्- डा. केसीका माग जायज छन्

३२ असार, काठमाडौं । गुणस्तरीय चिकित्सा शिक्षाको माग गर्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीबारे प्रधानमन्त्री र अन्य मन्त्रीहरुले आलोचनात्मक प्रतिक्रिया दिइरहँदा स्वास्थ्यमन्त्री उपेन्द्र यादव मौन छन् ।

उपप्रधानमन्त्री यादवको मौनता सोमबार शिक्षण अस्पताल महाराजगञ्ज पनि राम्रैसित देखियो । स्वास्थ्यमन्त्री यादव सोमबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेका थिए । त्यहाँ उनले नवनिर्मित कलेजो प्रत्यारोपण आईसीयू कक्षको उद्घाटन गरे ।

उनले केहीबेर भाषणसमेत गरे । तर, डा. केसीले काम गर्ने अस्पतालमै पुगेर भाषण गरेका मन्त्री यादवले न केसीबारे केही बोले न प्रस्तावित चिकित्सा शिक्षा विधेयकबारे नै ।

करिब १० मिनेट भाषण गरेका मन्त्री यादवले नेताहरुले देशसँगै अस्पतालहरु पनि चलाएको र यो भिन्न अभ्यास भएको बताउनुबाहेक चिकित्सा शिक्षाबारे उनले केही पनि बोलेनन् ।

किन मौन छन् उपेन्द्र यादव ?

स्वास्थ्य मन्त्रालयको तालाचाबी अहिले फोरम अध्यक्ष यादवका हातमा छ । तर, मधेसको अधिकारको वकालत गर्दै आएका मन्त्री यादवले चिकित्सा शिक्षाबारे भइरहेको सघन बहसमा सहभागिता जनाएका छैनन् ।

डा. केसीको समर्थनमा डाक्टरहरूले सेवा नै बन्द गर्ने बताएपछि स्वास्थ्य मन्त्रालयले आन्दोलन गरे कारबाही गर्ने चेतावनी दिएको छ । तर, मन्त्री यादवले भने डा. केसीको आलोचनामा एकै शब्द खर्च गरेका छैनन् । यादवको भूमिका ‘मौनं स्वीकृति लक्षणम्’ जस्तै देखिएको छ ।

आखिर तराई मधेससँगै सिंगो देशको चासो रहेको चिकित्सा शिक्षा विधेयकबारे पार्टी अध्यक्षसमेत रहेका स्वास्थ्यमन्त्री यादव किन मौन भएका होलान् ? अनलाइनखबरको प्रश्नमा फोरमकी सांसद सरिता गिरीले भनिन्, ‘म डा. केसीको समर्थनमा छु, उहाँको कुरा उहाँलार्इ नै सोध्नुस् ।’

काठमाडौं भर्सेस मधेसको मुद्दा

स्वास्थ्यमन्त्री यादवको पार्टी संघीय समाजवादी फोरमको मुख्य राजनीतिक थलो मधेस हो । मधेस, त्यसमा पनि प्रदेश नं २ स्वास्थ्य सूचकांकहरु सबैभन्दा कमजोर छ ।

फोरमले प्रदेश २ मा पनि सरकार चलाइरहेको छ । तर, स्वास्थ्यमन्त्री यादव यो मुद्दामा पूर्णतः मौन छन् ।

जब कि अहिले बहसमा रहेको चिकित्सा शिक्षा विधेयकका हरेक विषयहरु प्रदेश २ मा मन्त्री यादवले राजनीति गर्ने मधेससँग पनि जोडिएका छन् ।

‘जस्तो कि- काठमाडौंमा मात्रै मेडिकल कलेज खोल्दा कर्णाली मात्र होइन, प्रदेश २ मा मेडिकल कलेज खुल्ने सम्भावना टर्छ’ एक सांसद भन्छन्, ‘२ वर्ष र ३ वर्षको कबुलियत नामामा उपेन्द्र यादवको विचारसँग सहमति होला वा नहोला । तर, उहाँलाई के त लाग्नु पर्ने हो भने यसबारे अहिले ध्यान दिइएन भने जति चिकित्सक उत्पादन गरे पनि मधेसमा त विशेषज्ञ नजाने भए । तर, उहाँ यो बहसमै हुनुहुन्न ।’

प्रदेश २ मा दुईवटा मेडिकल कलेज त छन् । तर, दुबैले विद्यार्थी पाउन छाडिसके । वीरगञ्जको नेशनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजले यसपालि नै विद्यार्थी पाएका छैनन् । यसको कारण गुणस्तर नै हो ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार विशेषज्ञ चिकित्सकहरु जान नमान्ने पनि मधेस नै हो । बरु सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जान्छन् तर, तराई मधेसमा झर्न मान्दैनन् । किनकि दुर्गममा जाँदा पढ्न नम्बर पाउँछन् तर, तराई मधेस सुगममा पर्ने भएकाले त्यहाँ आकर्षण छैन ।

उल्लेखित तीनवटै विषय चिकित्सा शिक्षा विधेयकसँग जोडिएका छन्, जसमाथि संसद र सडकमा सघन बहस भइरहेको छ ।

तर, काठमाडौंको अधिकार मधेससम्म विस्तारित गर्नुपर्छ भन्ने मधेसकै नेता यादव रहस्यमय रूपमा मौन बसेका छन् ।

सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकले काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नदिने प्रावधान हटाउन लागेको छ । यस्तो परिस्थितिमा मन्त्री यादवले काठमाडौंमा मेडिकल कलेज खोल्नु दिनुपर्छ भनेर डा. गोविन्द केसीविरुद्ध बोल्न नसक्नु स्वाभाविकै भएको सोही पार्टीका नेताहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्

सरकारमा भए पनि डा. केसीको मागसँग सहमत छु : सरिता गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment