Comments Add Comment

बालकको हत्यारा पत्ता लगाउन भन्दै प्रशासनमा ज्ञापनपत्र

३२ असार, वीरगञ्ज । एकै परिवारका दुईजना बालकको हत्या भएपछि पर्साको बहुदरमाई नगरपालिकाका बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

बहुदरमाई नगरपालिका वडा नं २ बैरियाविर्ता टोलमा बस्ने सञ्जय साहको परिवारमा ८ महिनामा दुई बालकको हत्या भएको दावी उनीहरुले गरेका छन् ।

गत मंसिर १७ गते स्थानीय सञ्जय साहको ११ वर्षीय छोरा सुमित साहको हत्या गरी गाउँ नजिकैको पोखरीमा शव फालिएको अवस्थामा भेटिएको थियो । उनको हत्यारा प्रहरीले अझैसम्म पत्ता लगाउन सकेको छैन ।

सञ्जयकै कान्छो भाइ शिवजी साहको ६ वर्षीय छोरा आयुब साह असार ३१ गते पोखरीमा मृत भेटिएका थिए । आयुबको पनि हत्या भएको दावी स्थानीय बासिन्दाले गरेका छन् ।

ठूलो संख्यामा आएका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय पर्सामा प्रहरी प्रशासनको विरुद्धमा नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा एउटै परिवारलाई लक्षित गरेर बारम्बार बालकहरुको हत्या जस्तो जघन्य अपराध भइरहँदा समेत जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालय पर्सा मुक दर्शक बनेको आरोप लगाइएको छ ।

‘शान्ति सुरक्षा कायम गराउने जिम्मा राज्यको हो, तर राज्य संयन्त्रको विफलता र मौनताका कारण एउटै परिवारलाई लक्षित गरि घटना दोहोरिरहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘अपराधीलाई न्यायिक दायरामा ल्याउन नसकेकोमा घोर आपत्ति छ । प्रहरीले आफ्नो काम कर्तव्य जिम्मेवारिपूर्वक नगरिरहेको प्रति घार भत्र्सना गर्दछौं ।’

प्रदेश सभासद राजेश्वर साह तेलीले प्रहरी प्रशसानको लापरबाहीले गर्दा घटना घटेको आरोप लगाए ।

उनले प्रहरीले पहिलो घटनामा गम्भीर अनुसन्धान नगरेका कारण अपराधीको मनोबल बढाएको बताउँदै तत्काल न्याय नदिए आन्दोलन गर्ने चेतावनी दिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले घटनालाई गहिरो ढंगले अध्ययन अनुसन्धान गरेर सत्यतथ्य जनमानसमा ल्याउने प्रतिबद्धता जनाएका छन् । ‘सय वटा अपराधी उम्कियोस तर एउटा निदोर्ष नफसुन भन्ने सिद्धान्तको आधारमा कुनै सर्वसधारण आतंकित नहुने गरि अनुसन्धान हुने छ । अपराध अनुसन्धानका लागि अपनाउनुपर्ने जुनसुकै उपाय अपनाएर अपराधीलाई कानुनी दायरामा ल्याउँछौं,’ उनले भने, ‘सबैको सहयोग आवश्यक पर्छ, त्यसमा कञ्जुस्याई नगर्नुहोला ।’

प्रहरीले छानविन गरेर अपराधी पक्राउ नगरेको खण्डमा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । आइतबार बिहान ८ बजेतिर खाना खाएर घरबाट निस्किएका आयुब दिउँसो गाउँको पूर्वपट्टी रहेको पोखरीमा मृत भेटिएका थिए ।

आयुबको हत्या भएको दावी गर्दै स्थानीय बासिन्दाले पोखरीबाट शव निकाल्न नदिएपछि हेटौंडाबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरेपछि मात्रै शव निकाल्न दिइएको थियो ।

अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले आयुबको शरीरमा बाहिरी चोटपटक नदेखिएको जानकारी दिए ।

उनले घटना शंकास्पद देखिएपनि पोष्टमार्टम रिपोर्ट पछि नै बाँकी तथ्य खुल्ने बताए । ‘हेटौंडाबाट तालिम प्राप्त कुकुर आएपछि आवश्यक अनुसन्धान गरेर पोखरीबाट शव निकाल्यौं । उनी आयुब नै भएको पुष्टी भएको छ । तर उनको शरीरको बाहिरी भागमा कुनै चोटपटक देखिएको छैन,’ उनले भने , ‘शव पोष्ट मार्टमका लागि नारायणी उपक्षेत्रिय अस्पतालमा राखेका छौं । थप कुरा पोष्टमार्टम रिपोर्टपछि नै खुल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment