Comments Add Comment

बुटवलमा बन्दैछ ‘मिनी फेवा ताल’


१ साउन, बुटवल । बुटवल उपमहानगरपालिका क्षेत्रभित्र ‘मिनी फेवाताल’ बन्दै छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । बुटवलभित्र प्राकृतिक सिमसार क्षेत्र पनि छ भन्ने कतिपय बुटवलबासीलाई नै थाहा छैन ।

बुटवल उपमहानगरपालिकाले बुटवल वडा नंं. १६ बैठउलियास्थित कपरकट्टी ताल र आसपासको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘मिनी फेवा ताल’का रुपमा विकास गर्ने लक्ष्यसहित काम अघि बढाएको छ ।

साविकको सेमलार गाविस वडा नंं. ५ र ६ मा रहेको प्राचीन कपरकट्टी ताललाई उपमहानगरपालिकाले नजिकै रहेको नरैनापूर धामसँग जोडेर पर्यटकीय विकास गर्ने योजना अगाडि सारेको हो ।

प्राकृतिकरुपमा बनेको कपरकट्टीताल करिब १५ बिघा सिमसार क्षेत्रफलमध्ये एक किलोमिटर लामो र करिब ३ सय मिटर चौडाईमा फैलिएको छ । तालको गहिराई करिब ५ मिटर छ ।

नील दहका नामले चिनिने झण्डै सय वर्ष पुरानो भए पनि राज्यका सम्बन्धित निकायको उचित ध्यान नपुगेको यो ताललाई उपमहानगरपालिकाले अमूल्य सम्पदा मानेर प्राथमिकता साथ संरक्षण गर्न र पर्यटकीय विकासका लागि गुरुयोजना बनाउन शुरु गरेको वडा नंं १६ का अध्यक्ष एवं उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले अनलाइनखबरलाई बताए ।

उपमहानगरले यो ताललाई आर्थिक वर्ष २०७५/७६ को बजेटमा पारेको छ । ताल संरक्षणका लागि ४० लाख रुपैयाँ छुट्याएको छ ।

तालसँगै धाम परिसरमा पर्यटकीय पूर्वाधार बनाउन ४० लाख रुपैयाँ बजेट छुट्याइएको वडाध्यक्ष रेग्मीले बताए । ताल संरक्षणका लागि अहिले प्राविधिक अध्ययन लगायतका कामहरु अघि बढाइएको र गुरुयोजना बनाउने कामको तयारी भइरहेको उनले जानकारी दिए ।

एकीकत सहरी विकास योजनामा यहाँको पर्यटकीय क्षेत्र, सांस्कृतिक सम्पदाका क्षेत्र एवं कृषियोग्य जमिन र आवासका लागि अलग–अलग जमिनको वर्गीकरण गर्ने उपमहानगरको तयारी छ ।

पर्यटकीय क्षेत्रका रुपमा जितगढी, मणिमुकुन्द सेन दरबार भग्नावशेष क्षेत्र, हिलपार्क, पिसपार्क, मिलनपार्क, नरैनापुरसँगै अब यो प्राकृतिक ताललाई पनि जोडेर एकीकृत पर्यटन विकासका रुपमा अगाडि बढाइने भएको छ ।

आउँदो आर्थिक वर्षमा ताल परिसरमा चक्रपथसहितको पर्खाल बनाउने, तालभित्र रहेको झाडी सफा गर्ने रेग्मी बताउँछन् । यो तालमा डुंगा सयर, चरा संरक्षण लगायतका कामहरु गरिने वडाध्यक्ष रेग्मीले बताए ।

भविश्यमा करिब १० बिघा क्षेत्रफलमा सुविधासम्पन्न रिसोर्ट, होम स्टे, पिकनिक स्पट, स्वीमिङ पूल, चिल्ड्रेन पार्क,बाल उद्यान जस्ता करोडौं लगानीका पर्यटकीय पूर्वाधार बनाउने लक्ष्य रहेको उनले बताए ।

तालको पर्यटकीय विकासका लागि प्रदेश सरकारसँग बजेट माग गरिए पनि बेवास्ता गरिएको उपमहानगरका प्रवक्तासमेत रहेका रेग्मीले गुनासो गरे ।

‘स्थानीय तहको चुनाव अघिसम्म यो ताल उपेक्षित थियो,यसको महत्व र उपयोगिताबारे कसैको ध्यान गएको थिएन’–उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने– ‘अब यो ताललाई भविष्यमा ‘मिनी फेवाताल’ को रुपमा विकास गर्दै नरैनापूर धामसँग जोडेर एकीकृत पर्यटकीय विकास गर्ने लक्ष्य छ ।’

यो ताललाई भविष्यमा आन्तरिक र वाह्य पर्यटकको आकर्षणको थलो बनाउँदै बुटवलको जितगढी किल्ला, नुवाकोट, सिद्धबाबा र हिलपार्कसँग जोडेर पर्यटकको बसाई लम्बाउन सकिने उपमहानगरकी उपप्रमुख गोमादेवी आचार्य बताउँछिन् ।

ताल परिसरमा वन हाँस, वन कुखुरा, सिम कुखुरा र जलेवाजस्ता चराचुरुङगी समेत पाइन्छन् ।

नरैनापूर धाममा रहेको शिवलिंगलाई काठमाडौंको पशुपतिनाथको शिवलिंगसंग तुलना गर्ने गरिन्छ । दुबै शिवलिंग एकै समयका मानिन्छन् । धाम परिसरमा १ सय ८ मिटर अग्लो भ्यू टावरसहितको शिवलिंग, १०८ पिपल, जलधारा लगायत पूर्वाधार निर्माण गरिने उपमहानगरको योजना छ ।

नरैनापूरलाई बुद्धकालीन ऐतिहासिक थलोसमेत मानिन्छ । यहाँ प्राचीनकालदेखि परम्परागत शिवरात्री मेला लाग्दै आएको छ । नरैनापुर धाम हिन्दु अनुयायीहरुको एउटा पवित्र तीर्थस्थल हो । यहाँ देश विदेशका हिन्दु धर्मावलम्बीहरुको हरेक वर्ष शिवरात्री र साउनमा घुइँचो लाग्ने गर्दछ ।

नरैनापुर धामको मेलामा भारतको पटना, बिहार, गोरखपुर, लुधियाना र नेपालको तराईका अधिकांश जिल्लाबाट शिवरात्रीमा भक्तजन आउने परम्परा छ । यहाँ लाग्ने शिवरात्री मेलामा ब्यापार गर्न सात सय वटासम्म व्यापारिक स्टल आउने गर्छन् ।

अहिले तीब्र विकास भइरहेको बजार क्षेत्र रहेको बुटवल व्यस्त शहरका रुपमा विकास भइरहेको छ । यहाँ भिडभाड, धुलो धुवाँ दिनहुँ बढ्दो क्रममा रहेका बेला उपमहानगरको यो क्षेत्रलाई एउटा शान्त र रमणीय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रचूर सम्भावना रहेको पर्यटनविज्ञ डा. गितु गिरीको भनाइ छ ।

गिरीका अनुसार बुद्धबल्लीअन्तर्गत रहेका बुटवलसहित सैनामैना, देवदह, नौकट्टीलाईसमेत जोडेर एकीकृत पर्यटन विकास गर्न सकिने प्रचुर सम्भावना छ ।

पर्यटकीय पूर्वाधार विकासलाई उप–महानगरले प्राथमिकतामा राखेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बीसीले अनलाइनखबरलाई बताए । यस्ता सिमसार क्षेत्रहरुलाई संरक्षण र सम्बद्र्धन गर्दै यसका माध्यमबाट पर्यटन विकास गरी नगर र नगरवासीको आयआर्जन बृद्धि गरिने बीसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment